प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार राजनीतिक संकटमा पर्दा समस्याबाट उम्कन खोजेको आरोप लगाएको छ।
बुधबार सानेपामा पत्रकार सम्मलेनमा बोल्दै कांग्रेसका प्रवक्ता देवराज चालिसेले सरकार जनविश्वसको संकटले घेरिएपछि त्यसको समाधान नगरेर त्यसलाई विषयान्तर गर्न अर्को घटना घटाउने गरेको आरोप लगाए।
उनले भने,‘सरकार संकटले घेरिएको बेला समस्याको समाधान खोज्दैन। त्यसलाई विषयान्तर गर्न अर्को घटना घटाउँछ। यो चलाखी गरिरहेको छ। जनताको ध्यान मोड्ने प्रयासमा सरकार लिप्त देखिन्छ।’
कांग्रेस सरकारको अस्थिरता नचाहने बताउँदै उनले सुशासन, पारदर्शिता र उत्तरदायित्वका आधारमा सरकार बलियो र स्थिर रहोस् भन्ने चाहना रहेको बताए। उनले सरकारका गलत गतिविधिहरुमा आफूहरु मौन बस्न नसक्ने बताए।
यस्तै, उनले सुनसरी घटनामा सरकारले आफ्ना कमजोरी लुकाउन देखावटी समिति बनाएको आरोप लगाए। कप्तानगञ्ज घटनामा सरकारले संयमता गुमाएको र त्यसको जवाफदेहितामा सरकार नदेखिएको आरोप लगाउँदै उनले सरकारी सुरक्षा प्रणालीको कमजोरी र सुरक्षा अनभिज्ञता, नीतिगत अनभिज्ञताले नागरिक सुरक्षालाई झन् असुरक्षित बनाएको बताए।
प्रकाशित: २० श्रावण २०८३ १४:२९ बुधबार



