तनहुँका प्रकाश थापा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा सहभागी हुन उत्साहित हुँदै चितवन आएका थिए। तीन दिनका लागि भनिएको महाधिवेशन लम्बिएपछि शुक्रबार बिहान उनमा त्यो उत्साह थिएन। महाधिवेशन व्यवस्थापन कमजोर हुँदा उनी निराश भएका हुन्। थापा मात्र होइन, अन्य प्रतिनिधि पनि महाधिवेशनको कमजोर व्यवस्थापन देखेर शिथिल भएका छन्।
‘हामीले पुराना दलबाट केही हुँदैन भनेर गाउँगाउँमा अभियान चलाउँदै हिड्यौं, अहिले पुरानाकै शैलीमा हाम्रो पार्टी छ’, निराश हुँदै थापाले भने, ‘यही अवस्था हो भने अब गाउँमा हामीलाई उल्टै प्रश्न गर्न थाल्छन्।’
दैलेखका दिलीप वाग्ले महाधिवेशनमा सहभागी हुन चितवन आएको शुक्रबार सात दिन पुग्यो। असार ६ गते भरतपुर आएका वाग्ले पनि चिन्तित देखिए। दैलेखबाट ३० प्रतिनिधि आएकोमा कति त भोट नहाली फर्केको उनले बताए। ‘म त पूर्वशिक्षक हो। छोराहरू विदेशमा छन्। मलाई खर्चको दुःख छैन’, उनले भने, ‘धैरै साथी महाधिवेशन नसकिँदै फर्के।’
महाधिवेशनव्यवस्थापन पक्ष कमजोर हुँदा निराश भएका थापा र वाग्ले त प्रतिनिधिमूलक पात्र मात्र हुन्। महाधिवेशनका कार्यक्रम उद्घाट सत्रदेखि नै समयमा हुन सकेनन्। असार ७ गते दिउँसो २ बजेदेखि सुरु हुने भनिएको महाधिवेशन उद्घाटनसत्र साढे ३ बजे मात्र सुरु भयो। कार्यतालिका अनुसार बन्दसत्र चितवन उद्योग संघको सभामाहलमा ८ गते बिहान साढे ८ बजेदेखि सुरु हुने भनिएको थियो। प्रतिनिधि नामावली विवादका कारण बन्दसत्र ९ गते बिहान ७ बजेसम्मका लागि स्थगित गरियो।
९ गते पनि ढिला गरी २ बजेपछि मात्र बन्दसत्र सुरु भयो। महाधिवेशन सकिँदासम्म पनि प्रतिनिधिको नामावली सार्वजनिक गरिएको छैन।
बन्दसत्रमा प्रस्तुत विभिन्न प्रतिवेदन पर्याप्त छलफल नगरीकन पारित गरिए। सभापति रवि लामिछाने, उपसभापति स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटीलगायतले विभिन्न प्रतिवेदन प्रस्तुत गरेका थिए। ती प्रतिवेदन हलमा छलफल नगराईकन पारित गराइएको दार्जुलाबाट आएका प्रतिनिधि जनकराज जोशीले बताए।
बन्दसत्र सकिएको घोषणा गर्दै सभापति लामिछानेले महाधिवेशन प्रतिनिधिलाई १० गते बिहान ८ बजेदेखि केन्द्रीय समिति चयनका लागि मतदान गर्न पाउनुहुन्छ भनेका थिए। बन्दसत्र सकिएपछि ९ गते साँझ साढे ७ बजे पार्टीद्वारा गठित निर्वाचन आयोगले सभापति पदका लागि मनोनयन आह्वान गर्यो। सभापतिमा लामिछानेको मात्रै उम्मेदवारी प¥यो। आयोगले राति १० बजेसम्म केन्द्रीय सदस्यका लागि मनोनयन दर्ता समय तोक्यो।
आकांक्षी धेरै भएपछि रातभर मनोनयन दर्ता जारी रह्यो। उम्मेदवारको सूची असार १० गते दिउँसो साढे ३ बजे मात्र सार्वजनिक गरिए पनि प्रतिनिधि छनोट र भोटिङ मेसिन जडानको कारण देखाउँदै मतदान राति अबेरसम्म हुन सकेन। गर्मीले आत्तिएका महाधिवेशन प्रतिनिधि कार्यक्रम ढिला हुँदा रुष्ट बनिसकेका थिए। आयोगले राति साढे १२ बजेदेखि मतदान सुरु गर्यो। ११ गते बिहान १२ बजेसम्म मतदान जारी रह्यो। समयमा निर्वाचन नहुँदा एक हजार बढी प्रतिनिधि मत नहाली घर फर्किएका थिए।
मतदान सकिएको दुई घण्टामा नतिजा सार्वजनिक गर्ने भनिए पनि राति ९ बजे मात्र मत परिणाम सुनाइयो। निर्वाचित केन्द्रीय सदस्यको आधिकारिक घोषणा भने १२ गते बिहान साढे ४ बजे मात्र गरियो।
केन्द्रीय समितिको निर्वाचन भएपछि आयोगले ११ गते बेलुका नै पदाधिकारीको निर्वाचन तयारी थाल्यो। पदाधिकारीमा सर्वसहमति जुटाउन सभापति लामिछानेले रातभर चितवन उद्योग संघको बैठक कक्षमा आकांक्षीलाई राखेर कुराकानी गरे। सर्वसम्मत हुन नसकेपछि पदाधिकारीका लागि १२ गते बिहान १० बजेदेखि दिउँसो साढे ४ बजेसम्म मतदान गरियो।
तालिकाअनुसार नभएको महाधिवेशन कार्यकर्ताको मर्मअनुसार हुन नसकेको निष्कर्ष बाँकेका प्रतिनिधि तथा संस्थापक केन्द्रीय विभाग सदस्य भरतप्रसाद पनेरुले सुनाए। ‘निर्वाचन सम्पन्न हुँदासम्म पनि महाधिवेशन प्रतिनिधि कोको हुन् भन्नेमै अन्योल रह्यो। विधि र विधान मिचियो। बन्दसत्रपछि मात्र कार्ड छापिएको हुँदा प्रतिनिधि बन्दसत्रमा सहभागी हुनबाट वञ्चित भए। नो भोट पार्टीमा लागु गरिएन।
जान्नेलाई छान्नेभन्दा पनि नचिनेकालाई छान्न र आफ्नैविरुद्ध मत हाल्नुपर्ने अवस्था सिर्जना गराइयो’, उनले भने। उम्मेदवारको नामसमेत निर्वाचन आयोगले हटाएर गल्ती गरेको उनले बताए।
विभिन्न प्रतिवेदन पारितसँगै केन्द्रीय समिति र पदाधिकारी चयनसहित महाधिवेशन शुक्रबार सकिएको छ। महाधिवेशनबाट ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्। रास्वपाले खुला, समावेशी तथा प्रदेशगत रुपमा केन्द्रीय सदस्यको निर्वाचन गराएको हो। विद्युतीय भोटिङमार्फत र प्रवासबाट मोबाइल एप भोटिङमार्फत निर्वाचन गराइएको थियो। १५८ सदस्यीय केन्द्रीय समितिमा प्रदेश सभापतिहरू पदेन सदस्य हुने व्यवस्था छ। महाधिवेशनले सभापतिसहित सात पदाधिकारी र ९९ केन्द्रीय सदस्य निर्वाचित गरेको छ। बाँकी १२ पदाधिकारी र ५१ केन्द्रीय सदस्य सभापति लामिछानेले मनोनयन गर्ने छन्।
पदाधिकारीतर्फ खुला उपसभापतिमा डा. स्वर्णिम वाग्ले र सोविता गौतम निर्वाचित भएका छन्। चितवनमा शुक्रबार भएको निर्वाचनबाट वाग्ले निर्विरोध निर्वाचित भएका हुन् भने गौतम प्रतिस्पर्धाबाट निर्वाचित भएकी हुन्। गौतमले डा. तोसीमा कार्कीलाई पराजित गरिन्। गौतमले ७८९ प्राप्त गर्दा कार्कीले ५७२ पाइन्। गौतमलाई मन्त्री प्रतिभा रावल, समीक्षा बास्कोटालगायतको साथ थियो। पदाधिकारी निर्वाचनमा एक हजार २८९ मत खसेको थियो।
यस्तै महामन्त्रीमा विपीनकुमार आचार्य निर्वाचित भए। सभापति रवि लामिछानेनिकट आचार्यले ६७३ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी मनीष झाले ३४६ मत प्राप्त गरे। त्यस्तै गणेश कार्कीले १६९ र सागर ढकालले १३९ मत प्राप्त गरेको केन्द्रीय निर्वाचन आयोगले जानकारी दिएको छ। महामन्त्री पदमा मनोनयन दर्ता गराएका शिशिर खनाल, गणेश पराजुली, रञ्जु दर्शना, कवीन्द्र बुर्लाकोटी, प्रमोद न्यौपाने, जगदीश खरेललगायतले उम्मेदवारी फिर्ता गर्दै आचार्यलाई समर्थन गरेका थिए। गुटबन्दी गरेको भन्दै रास्वपाका तत्कालीन प्रवक्तासमेत रहेका झाले पार्टी नेतृत्वप्रति प्रश्नसमेत उठाएका थिए। महामन्त्रीमा एक पदका लागि १० जनाले मनोनयन गरेका थिए। पछि ६ जनाको उम्मेदवारी फिर्ता भएको थियो। रास्वपाको विधानअनुसार एक जना महामन्त्री पार्टी सभापतिले मनोनयन गर्ने व्यवस्था छ।
यस्तै सहमहामन्त्रीको खुलातर्फ दुई पदका लागि भएको निर्वाचनमा हरि ढकाल र असिम शाह निर्वाचत भएका छन्। शाहले ४७१ र ढकालले ४१० मत प्राप्त गरे। सहमहामन्त्री पुरुषका लागि शाह र ढकालसहित रमेश प्रसाईं (३०७), यज्ञमणि न्यौपाने (३००), सुलभ खरेल (२९१), अशोककुमार चौधरी (१७९), मिलन लिम्बू (१५१), पुकार बम (३३६), राजीव खत्री (१४८), विजय जैरु (११४) र हिमेश पन्त (५३) प्रतिस्पर्धी थिए।
त्यस्तै महिलातर्फका सहमहामन्त्री एक पदका लागि भएको निर्वाचनमा निशा डाँगी विजयी भएकी छन्। चार जना प्रतिस्प्रर्धीलाई पराजित गर्दै डाँगी ७३७ मतले विजयी भएकी हुन्। महिला सहमहामन्त्रीतर्फ जुली यादव (७८) विदुषी शर्मा (८२), कामिनी कुमारी चौधरी (१४६) र रिमा विश्वकर्मा (२८२) उनका प्रतिसप्रर्धि थिए। रास्वपामा झन्डै चार हजार हाराहारीमा महाधिवेशन प्रतिनिधि थिए।
अधिकांश मतदाता पहिलो चरणको मत खसालेपछि घर फर्किएका थिए। रास्वपा केन्द्रीय सदस्यको चुनावमा दुई हजार ९५९ मत खसेको थियो। केन्द्रीय सदस्यको चुनावमा एक हजार प्रतिनिधिले मत हालेनन्। निर्वाचित केन्द्रीय सदस्य तथा पदाधिकारीले शपथ लिएका छन्। निर्विरोध निर्वाचित पार्टी सभापति रवि लामिछानेले पनि निर्वाचन आयोगका प्रमुख भुवन केसीबाट शपथ लिए। बाँकी पदाधिकारी तथा सदस्यलाई लामिछानेले पद तथा गोपनियताको शपथ गराएका थिए। महाधिवेशन असार ७ देखि ९ गतेसम्म हुने भनिए पनि आन्तरिक समस्याका कारण असार १२ गतेसम्म लम्बिएको हो।
प्रकाशित: १३ असार २०८३ ०९:५७ शनिबार