निर्वाचन विशेष

बाँके-२: राईलाई टक्कर दिँदै कोइराला

प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा बाँके–२ मा चुनावी परिणामबारे नागरिक स्तरबाट अनेक अड्कलबाजी हुन थालेको छ। यो नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइराला चुनाव लड्दै आएको क्षेत्र हो।

सोही क्षेत्रबाट कोइराला २०४८, २०५६ र २०७० सालमा निर्वाचित भएका थिए भने २०५१ र २०६४ सालमा उनी पराजित भएका थिए। २०५१ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का शान्तिशमशेर राणा र २०६४ सालमा मधेसी जनअधिकार फोरम नेपालका सर्वदेव ओझा निर्वाचित भएका थिए। कांग्रेसले उक्त क्षेत्रलाई आफ्नो ‘किल्ला’ भन्दै आएको छ। यद्यपि २०७० सालपछिका २०७४ र २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा यहाँबाट कांग्रेसबाहेकका दलले जितेका छन्। २०४८ सालयता भएका निर्वाचन यस क्षेत्रका मतदाताले कुनै पनि उम्मेदवारलाई लगातार दोहो¥याएर जिताएका छैनन्। तसर्थ यहाँको निर्वाचन हरेक पटक रोचक खालको हुने गरेको छ।

आसन्न निर्वाचनका लागि कांग्रेसबाट पूर्वप्रधानमन्त्री कोइरालाका भतिज सुधान्सु कोइराला उम्मेदवार छन्। उनी कांग्रेस बाँकेका सचिव पनि हुन्। कोइरालासहित पूर्वमन्त्रीसमेत रहेका मोहम्मद इस्तियाक राई, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विवेककुमार श्रेष्ठ, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का दीपेन्द्र विष्ट, जनता समाजवादी पार्टी (जसपा) नेपालका कमरुद्दिन राई, राप्रपाका ऋषिराज देवकोटासहित २० उम्मेदवार प्रतिस्पर्धामा छन्। अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का महामन्त्री रहेका पूर्वमन्त्री राई एमालेको चुनाव चिह्न लिएर यसपटक उम्मेदवार बनेका हुन्।

यस क्षेत्रको निर्वाचन विगतका वर्षझैं यसपटक पनि रोचक हुने देखिएको छ। २०७९ सालमा भएको निर्वाचनमा यस क्षेत्रबाट राप्रपाका महामन्त्री डा. धवलशमशेर राणा निर्वाचित भएका थिए। राणाले तत्कालीन जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) का उम्मेदवार राईलाई पराजित गरेका थिए। राणाले २९ हजार ५७७ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी राईले २३ हजार पाँच सय २० मत ल्याएका थिए। कांग्रेसका सुदीपनरसिंह राणाले चार हजार ४०३ र रास्वपाका विनोदकुमार अग्रहरीले एक हजार ३३३ मत प्राप्त गरेका थिए। उक्त निर्वाचनमा कांग्रेस, तत्कालीन माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी तथा नेकपा एमाले र राप्रपाबीच गठबन्धन थियो।

त्यसअघि २०७४ को प्रतिनिधिसभा निर्वाचनमा भने तत्कालीन संघीय समाजवादी पार्टीका मोहम्मद इस्तियाक राई २१ हजार ५७५ मत प्राप्त गरेर निर्वाचित भएका थिए। राईका निकटतम प्रतिस्पर्धी एमालेका पशुपतिदयाल मिश्रले १५ हजार ९५१ र राप्रपाका ओमप्रकाश आजादले ११ हजार ६५१ मत प्राप्त गरेका थिए। उक्त निर्वाचनमा एमाले र माओवादी केन्द्र तथा कांग्रेस र राप्रपाबिच गठबन्धन थियो।

निर्वाचन आयोगका अनुसार बाँके–२ मा विगतभन्दा यसपटक मतदाता संख्या बढेको छ। जसअनुसार ५७ हजार ११७ पुरुष र ५१ हजार १६७ महिला गरी कुल एक लाख आठ हजार २९० मतदाता छन्। यहाँ बाँकेको नेपालगन्ज उपमहानगरपालिकाका कुल २३ वडामध्ये १६ र १७ बाहेकका अन्य वडा तथा डुडुवा गाउँपालिकाका ६ वटै गरी २७ वटा वडा पर्छन्।

यहाँ ४३ मतदानस्थलमा १२४ वटा मतदान केन्द्र छन्। धार्मिक, सामाजिक हिसाबले यो क्षेत्र अत्यन्तै ‘संवेदनशिल’ मानिन्छ। हरेक निर्वाचनमा राजनीतिक दल तथा उम्मेदवारले धार्मिक नारा लगाएर मतदाताबाट मत तान्ने रणनीति बनाउँछन्। कुनै पनि दलमा आबद्ध नभएका मतदाता करिब २० देखि २५ प्रतिशत रहेको बताइन्छ। जो उम्मेदवारले यी मतदाताहरूको मन बदल्न सक्छ, उसैको पक्षमा मत परिणाम आउने गरेको विगतका निर्वाचन परिणामले देखाएको छ।

स्वर्गीय कोइरालाको क्षेत्रमा लगातार दुई पटक संसद्मा प्रतिनिधित्व गर्न नपाएको कांग्रेस यसपटक जसरी पनि आफ्नो पुरानो विरासत फर्काउने रणनीतिमा छ। स्वर्गीय कोइराला प्रधानमन्त्री हुँदा बाँकेमा गरेका विकास निर्माणका काम र योगदान, जेनजी आन्दोलनपछि पार्टीले परिवर्तन गरेको नेतृत्व र नीति, नयाँ र युवा उम्मेदवार र कोइराला परिवारको तन्नेरी पुस्ताका रूपमा सुधान्सुलाई प्रस्तुत गर्दै कांग्रेस चुनाव जित्ने दाउमा देखिन्छ।

अघिल्लो निर्वाचनमा आफ्नै पार्टीका कार्यकर्ताबाट समेत मत नपाएपछि कांग्रेसका उम्मेदवार सुदीपनरसिंह राणाले धरौटी जोगाउनसमेत सकेनन्। यसपटक पनि कांग्रेस कार्यकर्ताले सोही गल्ती दोहो¥याए सुधान्सुले चुनाव जित्न कठिन हुने विश्लेषण गरिएको छ। चुनावको मुखमा आइपुग्दा कोइराला मुख्य प्रतिस्पर्धामा देखिन्छन्।

सांगठनिक हिसाबले कमजोर भए पनि विगतमा पुर्वमन्त्री राईले गरेका कामलाई देखाएर पहिलो पटक इतिहास रच्ने एमालेको रणनीति छ। राई बाँके–२ का लागि पुरानो अनुहार भए पनि एमालेका लागि उनी नयाँ हुन्। अघिल्लो निर्वाचनमा हार बेहोरेका राई यसपटक जसरी पनि जित्ने रणनीतिमा छन्। विगतमा राई चुनाव लड्दा साबिकको उनको पार्टी एकढिक्का थियो। यसपटक भने उनी साबिकको आफ्नो पार्टीबाट अलग भएका छन्।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट अलग भएर अशोक राई नेतृत्वको जसपा गठन हुँदा महामन्त्रीसमेत बनेका राई एमालेको चुनाव चिह्नबाट चुनाव लड्ने भएपछि उनी पार्टीकाट कारबाहीमा परेका छन्। उनीसँगै पार्टीमा राजनीति गरेका सहकर्मीहरु अलग–अलग पार्टीमा आबद्ध भएर राईसँगै चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।

राई साबिकको पार्टीमै नरहनु, पुराना सहकर्मीहरू प्रतिस्पर्धामा उत्रिनु र एमालेको कमजोर सांगठनिक अवस्थाका कारण बाँके–२ बाट सहजै परिणाम निकाल्न राईमाथि चुनौती रहेको विश्लेषण छ।

आफूलाई नयाँ भन्दै जनतामाझ पुगिरहेका रास्वपाले यस क्षेत्रमा अघिल्लो पटकको भन्दा मत संख्या बढाउने अनुमान गरिएको छ। उक्त पार्टी सांगठनिकभन्दा पनि व्यक्तिगत मत तानेर चुनाव जित्ने रणनीतिमा छ। २०७९ को निर्वाचनमा जमानत जोगाउन नसकेको उक्त पार्टी यसपटक प्रतिस्पर्धामा रहेको आकलन गरिएको छ।

रास्वपाका उम्मेदवार श्रेष्ठ पार्टीका क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति हुन्। पार्टीका महामन्त्री डा. राणाको ठाउँमा उम्मेदवार बनेका राप्रपाका उम्मेदवार देवकोटा पुरानो विरासत जोगाउने कसरतमा छन्। अघिल्लो निर्वाचनमा राणाले सांगठनिकभन्दा व्यक्तिगत मत ल्याएर चुनाव जितेकाले यसपटक पार्टीका केन्द्रीय सहायक महामन्त्रीसमेत रहेका उम्मेदवार देवकोटाको चुनावी परिणाम सहज रूपले आउने अवस्था भने देखिँदैन।

तत्कालीन नेकपा माओवादी केन्द्र र हालको पुनर्गठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) जेनजी आन्दोलनको भावनाअनुसार युवा उम्मेदवार दिएको भन्दै मतदाताले मत बदल्ने अपेक्षाका साथ चुनाव जित्ने दाउमा उनी छन्। यद्यपि यस क्षेत्रमा नेकपामा जोडिएर आएका साबिकका दलहरूको सांगठनिक अवस्था भने निकै कमजोर देखिन्छ। तर पनि अस्थिर मतदाताको मत तानेर चुनाव लड्ने नेकपाको रणनीति छ।

मधेसवादी दलका रूपमा रहेको उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले नेपालगन्ज उपमहानगरपालिकाको उपमेयर पदबाट राजीनामा गर्न लगाएर कमरुद्दिन राईलाई यसपटक उम्मेदवार बनाएको छ।

तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग एकीकरण भएपछि पार्टीको सांगठन थप मजबुद बनेको उक्त पार्टीको जिकिर छ। पार्टी एकीकरणपछि बनेको मजबुत संगठन र आफ्ना जनप्रतिनिधिले गरेका काम र योगदानलाई आधार बनाएर पार्टीका केन्द्रीय सचिव कमरुद्दिनको नेतृत्वमा यसपटक पुरानो विरासत फर्काउने जसपा नेपालको दाउ छ।

प्रकाशित: १६ फाल्गुन २०८२ १२:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App