नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले पार्टीको वैचारिक र ऐतिहासिक सारलाई समेटेर पुस्तक लेख्ने तयारी गरिरहेको बताएका छन्।
बुधबार ‘नागरिक फ्रन्टलाइन’ संवाद कार्यक्रममा बोल्दै उनले सक्रिय राजनीतिको दौडधुपबाट केही फुर्सद मिलेको समयलाई अध्ययन र लेखनमा केन्द्रित गरेको सुनाए।
उनले यस पुस्तकको खाका र विषयसूची तयार गर्न आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ‘च्याटजीपीटी’ जस्ता आधुनिक प्रविधिको समेत सहयोग लिइरहेको बताए।
‘नेपाली कांग्रेसको सार’ नामक पुस्तक लेख्ने आफ्नो योजनाबारे बताउँदै उनले भने, ‘मैले लेख्न त थालिसकेको छैन, तर मेरो मनमा यो विषय छ। अहिलेको जमानामा प्रविधिको प्रयोग किन नगर्ने भनेर मैले एआईसँग पनि संवाद गरिरहेको छु।’
उनका अनुसार, च्याटजीपीटी जस्ता एआईलाई पुस्तकको सम्भावित अध्याय, उप-अध्याय र विषयवस्तुबारे सोधेर त्यसबाट आएका विचारहरूलाई समेत अध्ययन गरिरहेका छन्। ‘मैले च्याटजीपीटी, गुगलको एआई लगायतसँग संवाद गरेर पुस्तकको खाका कस्तो हुन सक्छ भनेर विभिन्न विचारहरू बटुलिरहेको छु,’ उनले सुनाए।
पछिल्लो समय महामन्त्रीको निर्वाचनमा पराजित र सांसदसमेत नरहेका डा. रिजालले यो समयलाई गुनासोमा नभई बौद्धिक तयारीमा खर्चिएको बताए।
प्रकाशित: ११ असार २०८२ १९:३८ बुधबार



