नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले उद्योग खोल्ने र व्यापार गर्ने काम नगर्ने बताएका छन्। सोमबार कांग्रेसको उद्योग तथा व्यापार विभागले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन्।
‘व्यापारीले व्यापार गर्ने हो, उद्योगपतिले उद्योग खोल्ने हो । सरकारले व्यापार र उद्योग सञ्चालन गर्ने होइन,’ सभापति देउवाले भने, ‘त्यस कारण निजी क्षेत्रले नै व्यापार सञ्चालन गर्नुपर्छ भन्ने नेपाली कांग्रेसको मान्यता रहेको छ।’
आगामी आर्थिक वर्षको कार्यक्रममा सरकारले निजी क्षेत्रले उठाएका सवाल सम्बोधन गर्ने विश्वास सभापति देउवाले व्यक्त गरे। उनले भने, ‘मलाई विश्वास छ, आर्थिक वर्ष ०८२/८३ को बजेटले निजी क्षेत्रले उठाएका सवालहरूलाई सम्बोधन गर्नेछ र आर्थिक क्षेत्रलाई थप चलायमान बनाउनेछ ।’
प्रकाशित: १५ वैशाख २०८२ १२:४२ सोमबार