मृतक बुढाथोकीले काठमाडौं गोठाटार ५ बस्ने बालकृष्ण नगरकोटीसँग लिएको ६ लाख ७४ हजार रुपैयाँको भुक्तानी हिमालय बैंकको चेकबाट गरेका थिए। नगरकोटीले उक्त चेक हिमालय बैंकमा साट्न जाँदा खातामा पैसा नभएको थाहा पाएका थिए। त्यसपछि आफू ठगिएको भन्दै मृतक बुढाथोकीविरुद्ध पौष १७ गते वडा प्रहरी कार्यालय नारायणघाटमा उजुरी दिएका थिए।
नगरकोटीले दिएको उजुरीको आधारमा वडा प्रहरी कार्यालय नारायणगढले बुढाथोकीलाई नियन्त्रणमा लिएपछि बुढाथोकीले वडा प्रहरी कार्यालयमा १५ दिनमा चेकमा लेखिएको रकम दिने सहमति समेत गराएको कुरा मकवानपुर प्रहरीले जनाएको छ।
बुढाथोकीले रकम दिने सहमति गरिसके पनि नगरकोटी सहित रहेका टोलीले बुढाथोकीलाई सँगै काठमाडौं लैजान भनेर वडा प्रहरी कार्यालय नारायणघाटबाट बुझी टाटा सुमोमा राखेका थिए। हेटौडा हुँदै भिमफेदीको बाटोबाट काठमाडौं लैजाने क्रममा १९ गते बुढाथोकीले भिमफेदी प्रहरीलाई देखेर आफू अपहरणमा परेको भन्दै कराएपछि भिमफेदी प्रहरीले गाडीलाई मकवानपुर प्रहरी कार्यालयमा बुझाएको थियो।
नगरकोटी समूहले मृतक बुढाथोकीलाई मकवानपुर प्रहरीलाई जिम्मा लगाएको केही घण्टापछि उनलाई थुनुवा कक्षको शौचालयमा अचेत अवस्थामा फेला पारिएको दाबी प्रहरीको छ। त्यस लगत्तै प्रहरीले उपचारको लागि हेटौडा अस्पतालमा पुरयाउँदा उनलाई चिकित्सकले मृत घोषित गरेका थिए ।
मृतक बुढाथोकीलाई गाडीमा लिएर काठमाडौ लैजाने बालकृष्ण नगरकोटीसँगै हेटौडा ३ बस्ने सुक्रम खडगी, किरण प्रजापति, राजेश नरसिह श्रेष्ठ र हेटौडा १ बस्ने उमेश लामालाई नियन्त्रणमा लिएर घटना बारे अनुसन्धान भइरहेको उपरिक्षक पोखरेलले बताएका छन् ।
पोखरेलले प्रहरी नियन्त्रणमा रहेकाहरुसँग सोधपुछ गर्दा मृतक बुढाथोकीलाई गाडीमा काठमाडौं लैजाने क्रममा हातपात गरेको कुरा जानकारी हुन आएको बताए।
प्रकाशित: १ माघ २०७१ ०४:१५ बिहीबार



