विचार

बाढीपछि सार्वजनिक स्वास्थ्य संकटको डर

२०८३ भदौ १० को बिहान पौने ९ मा भोटेकोसी यसपटक केवल पानीको भेल बनेर बगेन, यसले घरखेत, सडक, पुल, बजार, जीविकोपार्जन, सपना र सम्झनासँगै धेरै परिवारका प्रियजनसमेत बगाएर लग्यो। समयक्रमसँगै उद्धार र राहतका काम कम हुँदै जालान् तर बाढीले छाडेको लेदोमुनि बिस्तारै देखिने डर छ -जनस्वास्थ्यको संकट। विपद्ले तत्कालै पुर्‍याएको क्षतिका अतिरिक्त मध्यकालीन र दीर्घकालीन क्षति धेरै हुन्छन्। त्यसैमा प्रतिकार्य प्रभावकारी भएन भने मानवीय क्षतिका घटना विशेषतः स्वास्थ्यका कारण बढ्न र लम्बिन सक्छन्।

विपद्ले एउटै परिवारलाई मृत्यु, बेपत्ता र जीवित तीन वर्गमा बाँड्ने गर्छ। बाँच्न सफलहरूलाई बिछोड, गुमाइ, क्षतिबिच बाँकी जीवनलाई निरन्तरता दिनु असाध्यै कठिन काम हो, जसले मानसिक समस्या निम्त्याउने गरेको हुन्छ। बाढी तथा विपद्बाट ज्यान जोगिनु जति महत्त्वपूर्ण छ, रोगबाट जोगिनु पनि त्यति नै महत्त्वपूर्ण छ। यो पीडित, उद्धारकर्ता सबैको सवाल हो।

प्रभावित क्षेत्रमा कुनै एकमा सरुवा रोग देखिए सामूहिक बसाइँ, तनाव बढेको, निद्रा बिग्रिएको, खानपानमा अस्वस्थता, खुलास्थानको बसाइले भुसुना, लामखुट्टेजन्यसमेत महामारी फैलिनसक्ने जोखिम बढ्दो छ। सचेतनासहित पूर्वतयारी र सावधानीका कामहरू प्रभावित क्षेत्रमा त्यति भएका छैनन्। विपद्ले पहिलेदेखि स्वास्थ्य समस्या भएकालाई थप कठिन बनाउन सक्छ, नयाँ स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ।

यत्रतत्र छरिएका शव तथा त्यसबाट उत्पन्न गन्धका कारण पानीजन्य, श्वासप्रश्वासजन्य संक्रमणहरू जस्तै हैजा, झाडापखाला, स्क्रब टाइफस, रोटा भाइरस, टाइफाइड, हेपाटाइटिस ए र ई, लेप्टोस्पाइरोसिस, लामखुट्टे, सर्प, किराको बढोत्तरीले डेंगी, औलो, सरसफाइको कमीले छालाका संक्रमण, सामूहिक बसाइँ, मौसम परिवर्तनले श्वासप्रश्वाससम्बन्धी संक्रमण फैलिन सक्छ। खानपान र जीवनशैली तथा विपद्का कारण नसर्ने रोगहरू मधुमेह, उच्च रक्तचाप, पिटिएसडीलगायतका मानसिक समस्यासमेत बढ्ने गर्छ। राहत वितरण, उद्धार, सामाजिक सञ्जालमा भाइरल बन्न र हेर्न जानेको भिड बढेको बढ्यै छ। कुनै एकलाई संक्रामक रोग लागे वा सरे देशभर फैलिने जोखिम पनि उत्तिकै छ।

मानसिक चोट

कुनै घटना, विपद् वा गम्भीर संकटको बेला अरूलाई शारीरिक रूपमा जस्तै मानसिक रूपमा पनि तत्काल सहयोगको आवश्यकता पर्छ। त्यसलाई मनोवैज्ञानिक प्राथमिक उपचार अर्थात् साइकोलोजिकल फस्र्ट एड भनिन्छ। जो कसैले गर्न सक्ने मानवीय सहयोग अर्थात् सानो सहयोगले ठुलो फरक पार्ने उपचार हो।

उपचारका तीन नियम हेर्नुहोस्, सुन्नुहोस् र जोड्नुहोस् हुन्। हरेक शव आफैंमा महामारीको स्रोत हुँदैन र अनावश्यक सामाजिक त्रास सिर्जना गरिनु हुँदैन। सम्भव भएसम्म डिएनए नमुना संकलन र अभिलेखीकरण गरेर सम्मानजनक अन्त्येष्टि गर्नु प्राथमिक कार्य हो। तर सड्न थालेका शव, दूषित वातावरण र संक्रामक रोगसँग सम्बन्धित मृत्युका अवस्थामा उचित सुरक्षा, व्यक्तिगत सुरक्षा कवच र वैज्ञानिक मापदण्ड पालना र व्यवस्थापन अनिवार्य रहन्छ।

दीर्घरोगको व्यवस्थापन

छालाजन्य, आँखाजन्य, पानीजन्य, कीटजन्य, खाद्यजन्य संक्रमणहरूका अतिरिक्त त्यसैमा सामूहिक बसोवास, नसर्ने र दीर्घरोगीहरूको औषधी उपलब्धतामा पनि असर परेर समस्या आउने गर्छ। बाढीबाट चारओटा स्वास्थ्यसंस्था पूर्ण र आधा दर्जन आंशिक प्रभावित र केही स्वास्थ्यकर्मीसमेत सम्पर्कविहीन छन्। उद्धार र राहतसँगै शव व्यवस्थापन, फोहोर व्यवस्थापन, खानेपानीको स्वच्छता, सरसफाइ, रोग निगरानी र तत्काल उपचारलगायतका स्वास्थ्य सुरक्षालाई पनि प्राथमिकता दिए जोखिम कम गर्न सकिन्छ।

औषधी, कागजसँगै लिएर भाग्न पाउँदैनन्, औषधीको नाम याद रहँदैन। देखाइरहेका चिकित्सक, स्वास्थ्यकर्मीसँग विच्छेद हुन्छ, नजिकका स्वास्थ्यसंस्थामा क्षति पुगी बन्द भएका हुन्छन्।

विपद्का पहिला केही दिनको लक्ष्य दीर्घरोगको पूर्ण व्यवस्थापन होइन, औषधी नटुट्ने, गम्भीर बिरामी नछुट्ने र आवश्यक उपचारमा पहुँच नरोकिने सुनिश्चित गर्नु हो। दीर्घरोगको निरन्तरतालाई पनि विपद् तयारी र प्रतिक्रियाको आधारभूत सिद्धान्त बनाइएको छ तर कार्यान्वयनमा फितलोपना देखियो।

लामखुट्टेजन्य रोगहरू

त्यसो त महामारी देखाउने औलो, डेंगी, इन्सेफ्लाइटिस, फिलेरियालगायतका भेक्टरबोर्न संक्रमण लामखुट्टेको टोकाइबाट मात्र सर्छ। यस्ता रोग फैलिन तथा परजीवीको विकास र जीवनचक्र पूरा हुन लामखुट्टे र मानिस नभई हुँदैन। रोकथामका उपाय भन्नासाथ लामखुट्टेको विकास र जीवनचक्र नाश गर्नुपर्छ। जीवनचक्र पूरा हुन नदिन लामखुट्टेको टोकाइबाट मानिस जोगिने गर्नुपर्छ।

कुनै पनि किसिमको पानी जम्ने ठाउँ, प्राकृतिक, अप्राकृतिक भाँडाहरूलाई बग्ने बनाउने, पुर्ने, सुकाउने, गाड्ने वा जलाउने गर्नुपर्छ। लामखुट्टेको टोकाइबाट बच्न घरको झ्यालढोकामा मसिनो जालीको प्रयोग, सुत्दा कीटनाशक झुलको प्रयोग गर्नुपर्छ। जाली र झुलको व्यवस्था हुन नसक्ने ठाउँमा लामखुट्टे भगाउने धूप, झोलको प्रयोग गर्ने, घरबाहिर जाँदा शरीरको खुला भागमा लामखुट्टे धपाउने मलमको प्रयोग गर्ने, बस्दा पूरै शरीर ढाकिने गरी पूरा लामो बाहुला भएको सेतो हलुका रङको कमिज र पाइन्ट लगाउनु पर्छ।

रोकथाम

अहिले प्रभावित क्षेत्रमा पानी, खाना छ कि छैनभन्दा महत्त्वपूर्ण खानयोग्य र पिउनयोग्य सुरक्षित, स्वास्थ्यमैत्री छ कि छैन भन्ने मुख्य प्रश्न हो। बाँडिने हरेक राहत प्याकेजमा समाहित सामग्रीको ग्यारेन्टी गरिन र थप पानी शुद्धीकरण गर्ने सामग्री, व्यक्तिगत सरसफाइका सामानलाई अनिवार्य समावेश गर्नपर्छ।

जोखिम वर्ग र समूह महिला, महिनावारी, सुत्केरी, गर्भवती, नवजात शिशु, बालबालिका, अपांग, ज्येष्ठनागरिक र दीर्घरोगीहरूका लागि विशेष ध्यान दिँदै स्यानिटरी प्याड, साबुन, स्यानिटाइजर, क्लोरिन ट्याब्लेट, मास्क, ग्लोभ, डायपर, बाल वा गर्भवती, सुत्केरी पोषण, आकस्मिक र दीर्घरोगको औषधी, विशेष तथा सहायक सामग्री वितरण गर्नुपर्छ।

शिविरहरूमा पाल र खाद्यान्न मात्र दिएर पुग्दैन, हावा आउजाउ हुने ठाउँ, सफा शौचालय, हात धुने साबुन, सरसफाइ सामग्री, सामूहिक खोप र बिरामीलाई अलग राख्ने न्यूनतम व्यवस्था मिलाउनैपर्छ। संक्रमित देखिए संक्रमणको निगरानी, उपचार मात्र नगरी विस्तृत विश्लेषण पनि अनिवार्य गर्न र राख्न जरुरी छ।

पीडितहरूले अनुभूति गर्ने गरी कार्यक्रमहरू गर्ने, पूर्वतयारीलाई तीव्रता दिइएन भने बाढीले पुर्‍याएको क्षतिभन्दा पनि ठुलो क्षति महामारीका कारण हुनसक्छ। खोज तथा उद्धारका कामहरूसँगै अस्थायी संरचना, सेल्टरको उचित व्यवस्थापनमा पनि ध्यान र प्राथमिकतामा राख्नुपर्छ। रोगीको मलमूत्रलाई पानीको मुहान नजिक वा जथाभावी नफाली खाल्डोभित्र पुर्नुपर्छ। खानेकुरालाई झिंगाबाट बचाउनुपर्छ।

बजारको बरफ, आइसक्रिम तथा दुग्धजन्य पदार्थ नखानुस्। तातो खाना, तरकारी राम्ररी पकाएर मात्र खाऔं। गाजर, मुला लगायतका हरियो सलाद संक्रमणमुक्त बनाएर मात्र सेवन गर्नुपर्छ। उपलब्ध सबै तरल पदार्थहरू उमालेर मात्र प्रयोग गर्नुपर्छ। पटकपटक र कम्तीमा खाना खानुअघि र दिसापिसाबपछि संक्रमणमुक्त झोल वा साबुनले हात धुनैपर्छ।

मिचीमिची साबुनपानीले हात धुँदा झाडापखाला लाग्ने दर र मृत्युदर आधा वा ४५ प्रतिशतले कम हुनजान्छ। साबुनपानीले हात धुने बानी बसाल्दा श्वासप्रश्वासजन्य संक्रामक रोगहरू तथा त्यसबाट हुने मृत्यु ५० प्रतिशत कम हुन्छ। सुडेनीले हात धोएर प्रसव गराउँदा १९ प्रतिशत तथा सुत्केरी आमाले साबुनपानीले हात धोएर नवजात शिशुको स्याहार गर्दा ४४ प्रतिशतले नवजात शिशुको मृत्युदरमा कमी आउँछ। तसर्थ विपद् र बाढी, पहिरो र डुबानपछिका दिनहरूमा झनै हातको सरसफाइको महत्त्व छ।

सहकार्य, समन्वय र सहअस्तित्व

मन्त्रालयले संविधानमा उल्लेखित धारा, ऐन नियममा भएका दफालाई आधारित रहँदै प्रतिकार्यमा प्रभावित प्रदेश, जिल्ला र स्थानीय तहसँगको सहकार्य, समन्वयमा स्थानीय तहका द्रुत प्रतिकार्य टोली परिचालन, नियमित केस अनुसन्धान, प्रभावित स्थानमा थप सक्रिय बिरामीको खोजी, सम्पर्कमा रहेकाहरूको लक्षणको निगरानी तथा स्वास्थ्य शिक्षाका सामग्रीहरू तयार छन्, टोल फ्री हटलाइन नम्बर १११५ सञ्चालनमा छ, तर पीडितले अनुभूति गर्न नपाएको गुनासाहरू छन्।

विपद् व्यवस्थापनमा सबैले सबै काम गर्न खोज्दा अन्ततः कसैले पनि जिम्मेवारी नलिने र काम नगर्ने अवस्था आउँछ। तीन तहका सरकार, गैरसरकारी संस्था, आइएनजिओको भूमिका प्रस्ट हुनुपर्छ। स्थानीय तहले आधारभूत, प्रदेशले विशेषज्ञ र संघले विशिष्टीकृत सेवाको जिम्मेवारी लिनुपर्छ।

त्यस्तै विपद्को समयमा शरीरमा लागेको चोट त देखिन्छ तर आफन्त र सर्वस्व गुमाउँदा मनमा लागेको चोट अर्थात् मानसिक चोट देखिँदैन। अस्थायी शिविरहरूमा मनोसामाजिक परामर्शको उत्तिकै खाँचो छ। सुगर, प्रेसर, मिर्गौला लगायतका दीर्घरोगीले नियमित खाइरहेका औषधी छुट्न गएमा ज्यानकै जोखिम निम्त्याउँछ।

स्वास्थ्यसंस्थाको सुरक्षा र संरक्षणबिना बनाइने विपद् व्यवस्थापन योजना अधुरो र कागजी मात्र हुने भएकाले विपद् प्रतिरोधी बनाउन, वैकल्पिक पानी र ऊर्जा, स्याटेलाइट फोन, बिजुलीको स्रोत, आपत्कालीन औषधी र सामग्रीको भण्डारण, रेडियो सेट, सुरक्षा निकायसँग जोड्ने द्रुत रेफरल प्रणाली -हेली वा एम्बुलेन्स र वैकल्पिक उपचार क्षेत्रको पहिचान र स्वास्थ्य सेवाको निरन्तरताले पनि धेरै शरीर र मनको जटिलता र चोट कम गर्न सक्छ।

प्रकाशित: १७ भाद्र २०८३ ०६:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %