अन्तर्राष्ट्रिय

एयरबस ए३२० सिरिजका सयभन्दा कम विमान ग्राउन्डेड

एयरबसले आफ्नो ए३२० सिरिजका एक सयभन्दा कम विमानहरू अझै पनि तत्काल आवश्यक सफ्टवेयर अद्यावधिकका कारण ग्राउन्डेड रहेको पुष्टि गरेको छ। गत हप्ता छ हजार जेटहरूमा असर पर्न सक्ने चेतावनी जारी गरेपछि उठेको चिन्ताबीच कम्पनीले अधिकांश विमानमा आवश्यक परिमार्जन पूरा भइसकेको स्पष्ट गरेको हो।

एयरबसद्वारा जारी विज्ञप्तिमा ‘विशाल बहुमतका विमानहरूले आवश्यक संशोधन पाइसकेका छन्। बाँकी एक सयभन्दा कम विमानलाई पनि यथाशीघ्र सेवामा फर्काउन हामी एयरलाइन्स ग्राहकहरूसँग नजिकबाट समन्वय गर्दैछौँ’ भन्ने उल्लेख गरिएको छ।

युरोपको शीर्ष विमान निर्माताले केही दिनअगाडि नै आफ्ना ग्राहकहरूलाई सफ्टवेयर प्रतिस्थापनका लागि ‘तत्काल सावधानी अपनाउन’ आग्रह गरेको थियो। यस चेतावनीले सयौँ विमान लामो समयसम्म ग्राउन्डेड रहने आशङ्का पैदा गरे पनि अधिकांश युरोपेली एयरलाइन्सहरूले असर न्यूनतम रहेको जनाएका छन्।

तर कोलम्बियाली एयरलाइन्स अभियाङ्काले भने आफ्नो कुल फ्लीटको ७० प्रतिशत प्रभावित भएकाले आगामी १० दिनसम्म उल्लेखनीय अवरोध आउने भन्दै डिसेम्बर ८ सम्म टिकट बिक्री स्थगित गरेको छ।

एयरबसले अक्टोबरमा एउटा जेटब्लु उडानमा देखिएको प्राविधिक समस्याको समीक्षा गरेपछि यो चेतावनी जारी गरेको हो। तीव्र सौर्य विकिरणले उडान नियन्त्रण प्रणालीका लागि महत्त्वपूर्ण डेटामा असर पुर्‍याउन सक्ने सम्भावना देखिएपछि सफ्टवेयर फिक्स अनिवार्य गरिएको कम्पनीले जनाएको छ।

प्रकाशित: १५ मंसिर २०८२ १६:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App