अन्तर्राष्ट्रिय

युद्धविरामबीच गाजामा इजरायली आक्रमण जारी

इजरायल र हमासबीच भएको युद्धविराम लागू भएको करिब एक महिना बितिसक्दा पनि गाजामा इजरायली हवाई तथा स्थलगत आक्रमण रोकिएको छैन।

पछिल्लो दुई दिनमा भएका आक्रमणमा प्रहरी अधिकारीसहित कम्तीमा एक दर्जन जनाको मृत्यु भएको स्थानीय स्वास्थ्य अधिकारीहरूले जनाएका छन्।

अल अक्सा अस्पतालका अनुसार बुधबार मध्य गाजामा एकै परिवारका तीन जनाको हवाई आक्रमणमा मृत्यु भएको छ।

त्यसअघि मंगलबार उत्तरी गाजाको घना बस्ती रहेको जबलिया शरणार्थी शिविरस्थित प्रहरी चौकीमा भएको इजरायली आक्रमणमा छ जना प्रहरी अधिकारी र एक महिलासहित धेरैको ज्यान गएको अस्पताल स्रोतले जनाएको छ।

दक्षिणी सहर खान युनुसको टेन्ट शिविरमा भएको अर्को बम विस्फोटमा एक जनाको मृत्यु भएको नासेर अस्पतालले जनाएको छ।

यस्तै, रफाहबाहिरको मुवासी क्षेत्रमा इजरायली सैनिकको गोली लागेर एक बालकको मृत्यु भएको अस्पताल अधिकारीहरूले बताएका छन्।

इजरायली सेनाले मध्य र दक्षिणी गाजामा भएका पछिल्ला आक्रमणबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन। जबलियाको घटनाबारे भने सेनाले मारिएका प्रहरीमध्ये चार जना हमासका लडाकू रहेको दाबी गरेको छ। तर उनीहरू सैन्य गतिविधिमा संलग्न रहेको कुनै प्रमाण सार्वजनिक गरेको छैन।

हमासद्वारा सञ्चालित गृह मन्त्रालयका अनुसार मारिनेमध्ये कर्नेल मोहम्मद मारवान सलेम जबलिया प्रहरी चौकीका प्रमुख तथा वरिष्ठ प्रहरी कमान्डर थिए।

हमासले गाजामा नागरिक प्रहरी र सुरक्षा निकाय सञ्चालन गर्दै आएको छ भने युद्ध अवधिभर इजरायलले सहायता सामग्रीको सुरक्षा गर्ने प्रहरीसहित स्थानीय सुरक्षाकर्मीलाई पटक–पटक निशाना बनाएको छ।

इजरायली सेनाले सैन्य प्रयोजनका लागि प्रयोग भएका वा सशस्त्र गतिविधिमा संलग्न व्यक्तिहरू रहेको प्रहरी चौकीलाई वैध सैन्य लक्ष्य मान्ने नीति दोहोर्याएको छ।

तर जबलियास्थित प्रहरी चौकीमा त्यस्तो गतिविधि भएको प्रमाण उसले सार्वजनिक गरेको छैन। हमासले भने उक्त प्रहरी बलले केवल कानून–व्यवस्था कायम गर्ने जिम्मेवारी निर्वाह गरिरहेको जनाएको छ।

संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार कार्यालयले पनि गाजामा प्रहरीमाथि भइरहेका इजरायली आक्रमणप्रति चिन्ता व्यक्त गरेको छ। कार्यालयका अनुसार सन् २०२६ मा मात्रै प्रहरी कर्मचारीमाथि कम्तीमा एक दर्जन आक्रमण भएका छन्।

ती आक्रमणमा ट्राफिक व्यवस्थापन र बजार क्षेत्रमा गस्ती गरिरहेका सुरक्षाकर्मीसमेत परेका छन्। प्रहरी र सशस्त्र समूहका सदस्यबीच इजरायली सेनाले पर्याप्त भिन्नता नगरेको देखिएको भन्दै कार्यालयले यसअघि नै चिन्ता व्यक्त गरेको थियो।

इजरायलको इन्स्टिच्युट फर नेसनल सेक्युरिटी स्टडिजका अनुसन्धानकर्ता ओफेर गुटेरम्यानले हमासको केही प्रहरी संरचना र सैन्य संयन्त्र एकअर्कासँग जोडिएको इजरायलको बुझाइ रहेको बताए।

उनका अनुसार केही सुरक्षा संरचना हतियार भण्डारण, रसद र सैन्य सञ्चालनमा समेत प्रयोग भएको इजरायलको दाबी छ।

गत अक्टोबरमा भएको युद्धविरामले दुई वर्षदेखि जारी युद्ध रोक्ने प्रयास गरे पनि छिटपुट हिंसा जारी छ। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार युद्धविराम लागू भएयता मात्रै कम्तीमा एक हजार १२३ जनाको मृत्यु भइसकेको छ। मन्त्रालयले अधिकांश मृतक महिला र बालबालिका रहेको जनाएको छ।

इजरायलले युद्धविरामपछि पनि हमासका लडाकूबाट आफ्ना सैनिकमाथि आक्रमण भइरहेकाले त्यसको जवाफस्वरूप कारबाही जारी राखिएको जनाएको छ। युद्धविरामपछि हालसम्म पाँच इजरायली सैनिक मारिएका छन्।

सन् २०२३ अक्टोबर ७ मा हमास नेतृत्वको आक्रमणमा दक्षिणी इजरायलमा करिब एक हजार २०० जनाको मृत्यु हुनुका साथै २५१ जनालाई बन्धक बनाएपछि युद्ध सुरु भएको थियो।

त्यसयता गाजामा इजरायली सैन्य कारबाहीमा युद्धविरामपछिका मृतकसमेत गरी ७३ हजार २६४ भन्दा बढी प्यालेस्टिनीको ज्यान गएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ।एपी

प्रकाशित: ३२ असार २०८३ १६:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App