अन्तर्राष्ट्रिय

साउनमा महिलाले कपडा नलगाउने अनौठो परम्परा

साउन महिनामा भगवान शिवप्रतिको भक्तिका धेरै रूपहरू देखिन्छन्। 

भारत, हिमाचल प्रदेशको मणिकरण उपत्यकामा अवस्थित पीनी गाउँमा साउन महिनालाई लिएर एउटा अनौठो परम्परा पालना गर्ने गरिन्छ। यो परम्पराअनुसार साउनको अन्तिम पाँच दिनमा विवाहित महिलाहरूले कपडा नलगाई निर्वस्त्र बस्ने प्रचलन छ।

दैनिक भास्करका अनुसार आधुनिक समयमा यो परम्परामा केही परिवर्तन आएको छ। अब महिलाहरूले शरीर ढाक्न पातलो ऊनी कपडा (पट्टु) प्रयोग गर्छन्। यो परम्परा सदियौंदेखि चल्दै आएको छ। गाउँलेहरूले यसलाई पूर्ण श्रद्धाका साथ पालना गर्छन्।

परम्पराको कारण र विश्वास
यो परम्पराको पछाडि एउटा पौराणिक कथा जोडिएको छ। स्थानीयको विश्‍वासअनुसार धेरै वर्षअघि पीनी गाउँमा राक्षसहरूले आतंक मच्चाएका थिए। यी राक्षसहरूले सुन्दर पहिरन लगाएका महिलाहरूलाई अपहरण गर्थे। 

गाउँलाई यो संकटबाट बचाउन ‘लहुआ घोंड’ देवताले राक्षसहरूलाई परास्त गरेको विश्वास गरिन्छ। यो विजय भाद्रपद महिनाको पहिलो दिनमा भएको मानिन्छ। त्यसैले राक्षसहरूबाट सुरक्षित रहन र देवताको सम्मान गर्न यो परम्परा सुरु भएको हो।

मान्यताअनुसार यदि कुनै महिलाले यो परम्पराको पालना गरिनन् भने उनले अशुभ समाचार सुन्नुपर्ने वा अप्रिय घटना भोग्नुपर्ने डर हुन्छ। यी पाँच दिनमा पति-पत्नीले एकअर्कासँग कुराकानी गर्दैनन् र सम्पर्कमा रहँदैनन्। 

साथै, पुरुषहरूलाई पनि मासु र मदिरा सेवन गर्न कडाइका साथ निषेध गरिएको हुन्छ। यी नियमहरू पालना नगरेमा देवता रिसाउने र गाउँमा विपत्ति आउने विश्वास छ। एजेन्सी

प्रकाशित: ३ श्रावण २०८२ १२:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App