खासमा वृद्ध मानिसमा पक्षघात हुन्छ भन्ने चिकित्सकीय मान्यता हो। तर पछिल्लो समय गलत जीवनशैलीको कारण नेपालमा युवा उमेरमै मस्तिष्कघात हुनेको सङ्ख्या बढ्दै गएको विज्ञ चिकित्सकहरूले जानकारी दिएका छन्। टिचिङ अस्पताल न्युरोलोजी विभागका न्युरोइन्ट्रोभेन्सन रेडियोलोजिष्ट डा. सुभाष फुयाँलको अनुभवमा पछिल्लो समय तीसदेखि पैँतिस वर्षका युवाहरूमा पनि पक्षघात देखिएको छ ।
यो उमेरमा पक्षघात देखिनेमा रक्सी,चुरोट तथा लागूपदार्थ सेवन गरेका युवाहरू र केही मुटुरोग हुनेहरू छन् । यो उमेर समूह बाहेक बढी ४० देखि ५० वर्ष उमेर समूहमा बढी मात्रामा पक्षघात हुने गरेको छ । डा. फुयाँलको अनुसार उनले केही वर्षभित्रै उपचार गरेका तीन सय बिरामी मध्येमा ८ देखि १०) प्रतिशत युवा उमेर समूहका छन् । यो अस्पतालमा प्रति वर्ष औसत दुई सय ५० जना मस्तिष्कघातका बिरामी आउँछन् ।
वीर अस्पताल न्युरोलोजी विभागका प्रमुख डा. सुनिल कोइरालाका अनुसार यो अस्पतालमा उपचार गर्न आएका बिरामी मध्येमा १० प्रतिशत २० देखि ४० वर्षभित्रका छन् । यो उमेर समूह युवा उमेर समूहमा पर्छ । यो अस्पतालमा वार्षिक औसत ५ सय जना पक्षघातका बिरामी उपचार गर्न आउँछन्।
चालिस वर्षबाहेक ४० देखि ६० वर्षभित्रमा पक्षघात हुने उमेर समूह पनि उत्तिकै रहेको उनीहरूले औँल्याएका छन्। नेपालमा विभाजित उमेर समूहमा बढ्दो पक्षघातको कारण बर्सेनि जीवनभर अपाङ्गता हुने र अल्पायुमै मृत्यु हुनेको सख्ं्या पनि बढ्दै गएको डा. फुयाँल बताउँछन् । सन् २०१०÷०११ मा नेपालमा रक्तनलीजन्य रोगबाट मृत्यु तथा अपाङ्गता हुनेमा पक्षघात पाँचौँ नम्बरमा थियो भने सन् २०२०÷२०२२ मा तेस्रो नम्बरमा पुगेको छ । तथ्याकं अनुसार नेपालमा प्रति वर्ष २० देखि ३० हजार जनामा पक्षघातको समस्या हुने गरेको छ । ती मध्येमा ८ प्रतिशतको पक्षघातकै कारणले मृत्यु हुन्छ । अन्तर्राष्ट्रिय तथ्याकं अनुसार प्रति चार जना व्यक्ति मध्येमा एक जनामा कुनै न कुनै प्रकारको पक्षघात हुने सम्भावना हुन्छ।
के हो पक्षघातको अवस्था ?
हाम्रो शरीरमा मुटु तथा मस्तिष्कमा पुग्ने रगतका ठुलो तथा साना नलीहरू हुन्छन् । मुटुमा पुग्ने नलीमा अवरोध भएमा हृदयाघात हुन्छ भने मस्तिष्कमा रगत प्रवाह गर्ने नलीमा अवरोध आएमा या फुटेमा मस्तिष्कघात(पक्षघात) हुन्छ। मस्तिष्कमा रहेका विभिन्न कोषका केन्द्रहरूले शरीरका विभिन्न अङ्गलाई निर्देशन दिने काम गर्छन् । जसको लागि अङ्ग अनुसार छुट्टा–छुट्टै केन्द्रहरू हुन्छन्। जस्तो कि हातलाई निर्देशन दिने, खुट्टालाई निर्देशन दिने, आँखा,मुखलाई चलायमान बनाउने केन्द्र हुन्छन् । ती केन्द्र सक्रिय हुनको लागि पोषकतत्व चाहिन्छ। त्यो पोषकतत्व भनेको मस्तिष्कमा आवश्यकता अनुसार हुने रक्तसञ्चार हो। रक्तनलीमा अवरोध आएमा रक्तसञ्चार रोकिन्छ।
रक्तसञ्चार रोकिएपछि मस्तिष्कका केन्द्रहरूको कोषको मृत्यु हुन्छ र आफ्नो काम गर्न सक्दैनन्। जस्तो कि आँखाको मस्तिष्क केन्द्रको कोष नष्ट भएमा आँखामा पक्षघात हुन्छ। मुख सञ्चालन गर्ने केन्द्रको कोष नष्ट नभएमा मुख बाङ्गो हुने या बोली लरबराउने जस्ता लक्षण देखिन्छ। मुख्य नलीमा अवरोध भएमा सोही अनुसारको धेरै असर गर्छ । अर्थात् पक्षघात भएमा बोली लरवरिने, मुख बाङ्गो हुने,एउटा हात या खुट्टाले काम नगर्ने जस्ता लक्षण देखिन्छन् ।यी मध्येमा कुनै पनि लक्षण देखिएमा सक्दो छिटो न्युरोसेवा भएका अस्पतालमा उपचारको लागि लैजानु पर्छ। त्यो नभएमा नजिकको अस्पताल लैजानु पर्छ।
साढे चार घण्टाभित्र उपचारमा पु¥याउने अवधिलाई चिकत्सिकहरुले सुनौलो समय भनिन्छ। यो अवधिभित्र पु¥याएमा बिरामीलाई अवरोध भएको रगत पगाल्ने औषधी दिएर अवरोध खोल्न सकिन्छ। यो उपचारलाई थम्वोलाइसिस उपचार भनिन्छ।
मस्तिष्कमा जाने मुख्य नलीमा अवरोध छ भने चौबिस घण्टाभित्र रगतको नलीमा तार छिराएर अवरोध खोलिन्छ। यस्तो उपचार रगतको मुख्य नली बन्द भएको अवस्थामा गरिन्छ । चौबिस घण्टाभित्र तार छिराएर नली खोलेमा उपचारपछि पक्षघात भएका अङ्गहरू सामान्य बन्न सक्छन् । तर औषधी पगाल्ने औषधीले कतिपय अवस्थामा सामान्य अवस्थामा फर्किन सक्दैनन् । तर यो उपचारको लागि २४ घण्टाभित्र उपचारमा पुगिसक्नु पर्छ । पक्षघातको उपचार गर्ने समय अवधिलाई सबै भन्दा ध्यान दिएमा पक्षाघातले हुने शारीरिक असर र मृत्युबाट बच्न सकिने चिकित्सक बताउँछन्। ‘ साढे चार घण्टाको गोल्डेन आवरलाई ध्यानमा राखौँ,बच्न सकिन्छ’डा. कोइरालाले भने।
नेपालमा ढिलो उपचारमा पुग्दा धेरै क्षति
चिकित्सकका अनुसार पक्षघातको लक्षण र उपचारको बारेमा नेपालमा अहिले पनि जनचेतना नभएकोले ढिला उपचारमा पुग्ने गरेका छन् । वीर अस्पतालमा उपचारमा पुगेका पक्षघातका बिरामी मध्येमा १० प्रतिशत मात्र सुनौलो समयभित्र पुग्ने छन् भने बाँकी ९० प्रतिशत ढिलो उपचारमा पुग्ने गरेको पाइएको छ ।
टिचिङ अस्पतालमा मस्तिष्कघातको उपचार गराएका मध्येमा ७० प्रतिशत ढिला उपचारमा पुग्ने गरेको डा. फुयाँल बताउँछन् । ‘चौबिस घण्टा कटेपछि बिरामी पुगेका हुन्छन्, बिरामीका आफन्तले जसरी पनि उपचार गर्नु भन्छन्, त्यतिबेला हामी केही गर्न सक्दैनौ’ उनले भने । ढिला उपचारमा पुग्दा उपचार गरे पनि मस्तिष्कको कोष नष्ट भइसकेको हुनाले उपचार अर्थहीन हुने उनको भनाइ छ । यस्तै अनुभव वीर अस्पतालका न्युरोलोजिष्ट डा. कोइरालाको छ । उनको अनुसार उपचारमा पुगेका मध्येमा एक प्रतिशत भन्दा कम मात्र सुनौलो समयभित्र पुग्ने बिरामी छन् । त्यसै गरी चौबिस घण्टाभित्र आउने ४ देखि ५ प्रतिशत छन् । पक्षघात भएका व्यक्ति र परिवारका सदस्यहरूमा समेत पक्षघातको बारेमा जनचेतनाको कमीले ढिला उपचारमा पुग्ने गरेको चिकित्सक बताउँछन् । पक्षघातको उपचारमा चिकित्सकले प्रयोग गर्ने ‘बी फास्ट’ सूत्र बिरामी तथा आफन्तले लागू गरेमा पक्षघातको लक्षण थाहा पाई समयमै उपचारमा पुग्न सक्छन् । सन्तुलन, आँखा, हात, बोली, मुखको सन्तुलन बिग्रेको अवस्था पक्षघात हो र यस्तो लक्षण देखेमा सक्दो छिटो अस्पताल जाऊ भन्ने अर्थ लाग्छ ।
पक्षघात बढ्नुको कारण
वीर अस्पतालका न्युरोलोजिष्ट डा. कोइरालाको अनुसार पक्षघात हुने दुई कारण छन् ।एउटा परिवर्तन गर्न नसकिने अर्को परिवर्तन गर्न सकिने। एउटा बुृद्ध उमेर, वंशाणुगत रूपमा पक्षघातको जोखिममा रहेका, पुरुष र एसियाली मूलुककमा नागरिक उमेरपुगेपछि पक्षघातको जोखिम हुन्छन्। यी जोखिम कारणहरू परिवर्तन गर्न नसकिने पक्ष हुन।
तर नेपालमा पछिल्लो समय परिवर्तन गर्न सकिने कारणले बढी मात्रामा पक्षघात भएको देखिन्छ । त्यो हो युवा उमेरमै हुने पक्षघातरु । पछिल्लो समय युवाहरू तनावयुक्त जीवनशैली, प्रतिस्पर्धी जीवन,हिँडडुलेको कमी,अस्वस्थ खानपान,कम निन्द्रा, धुमपान, मद्यपान र अस्वस्थकर खानपानको कारण युवा उमेरमै कारक शरीरमा रक्तनलीजन्य रोग लाग्ने र ती रोगको कारण पक्षघात हुने गरेको चिकित्सकहरूले औँल्याएका छन्। गलत जीवनशैलीको कारण युवाहरूमा कम उमेरमै उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्ट्रोल बढ्ने समस्याले पक्षघात भएको चिकित्सकहरू औल्याउँछन। ‘युवाहरूमा निन्द्रा अपुग छ, तनाव उत्तिकै छ’ डा. फुयाँलले भने।
उपचार तथा नियन्त्रणका उपाय
नेपालमा पछिल्लो समय पक्षघातको उपचारमा आधुनिक प्रविधि र औषधीको सहजता थपिँदै गएको छ । सकेसम्म पक्षघातवाट बच्न स्वास्थ्यकर जीवनशैली अपनाउन चिकित्सक सुझाउँछन्। यसको लागि सन्तुलित खानपान, धुमपान’मद्यपान सेवन नगर्ने, नियमित व्यायाम गर्ने, तौल, मधुमेह, उच्च रक्तचाप नियन्त्रणमा राख्ने, तनावरहित जीवनशैली अपनाउने गरेमा पक्षघातको जोखिम कम हुन्छ। कुनै कारणवश पक्षघातको लक्षण देखिएमा समयमै उपचारमा पुग्न सकिन्छ । सरकारले (थम्वोलाइसिस औषधी) पक्षघातको औषधी निःशुल्क वितरण गर्न सुरु गरेको छ।
यो अस्पताल उपत्यका बाहिरका जनरल अस्पतालमा समेत उपलब्ध भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। त्यसै गरी पछिल्लो समय नेपालमा मेकानिकल थम्वोलाइसिस उपचारको पहुँचले यो उपचार थप सहज बनेको छ । पछिल्लो समय टिचिङ,काठमाडौँ मेडिकल कलेज,अन्नपूर्ण न्युरो,ग्राण्डी र न्युरो अस्पताल बाँसबारीमा समेत यो उपचार उपलब्ध छ ।पक्षघातको लक्षण देखिएमा यी अस्पतालमा चौबिस घण्टाभित्र पुगेमा उपचार हुने चिकित्सकले सुझाएका छन्।
प्रकाशित: १२ कार्तिक २०८२ ०९:१५ बुधबार



