अर्थ

चार अर्बको चिया, कफी निर्यात: निर्यात अनुदान दिनुपर्ने उत्पादकको माग

नेपालबाट पाँच महिनामा करिब चार अर्ब रुपैयाँको चिया, कफी निर्यात भएको छ। निर्यातबाट किसानले राम्रो आम्दानी गरिरहेको अवस्थामा सरकारले निर्यातमा दिँदै आएको अनुदान रोकेपछि किसान चिन्तित भएका छन्। उत्पादकले निर्यात अनुदान दिन माग गरेका छन्।

चालु आर्थिक वर्ष २०८२/८३ को मंसिरसम्म  चार अर्ब तीन करोडको चिया र कफी निर्यात भएको छ। चिया मात्र दुई अर्बको निर्यात भएको छ। चियाको निर्यात प्रवद्र्धनका लागि दिँदै आएको निर्यात नगद प्रोत्साहन कार्यक्रमलाई सरकारले रोकेपछि किसान चिन्तित भएका छन्।

निर्यात अनुदानले चिया उद्योगको विकास, विस्तार तथा किसान र व्यवसायीहरूको जीविकोपार्जनमा सहयोग पुगेकाले निरन्तरता दिनुपर्ने इलामको सूर्योदय अर्थोडक्स चिया उत्पादक संघ नेपालले जनाएको छ।

निर्यात नगद प्रोत्साहन नपाउँदा उत्पादन, निर्यात र राष्ट्रिय उत्पादनमा नकारात्मक असर पर्ने संघका उपाध्यक्ष ज्ञानी लिम्बुले बताए। तेस्रो मुलुकमा निर्यात हुने चियालाई लक्षित गरी आर्थिक वर्ष २०८१/८२ बाट निर्यात अनुदान कार्यक्रम पुनः सुरु गरी निरन्तरता दिन माग गरे।

‘हाल प्रस्तावित निर्यातसम्बन्धी कार्यविधि जस्ताको त्यस्तै लागु भए नेपाली चिया उद्योगका ९५–९७ प्रतिशत उद्यमी प्रत्यक्ष रूपमा प्रभावित हुन्छ,’ उनले भने, ‘यो कार्यविधि आयो भने नेपालको चिया बाहिर बिक्री हुने अवस्था झन् कमजोर हुन्छ।’

अहिले दुई प्रतिशतभन्दा पनि कम चिया तेस्रो मुलुकमा निर्यात भइरहेको अवस्थामा यस्तो नीति आउनु भनेको उद्योगमै प्रहार भएको उनको जिकिर छ। पहिले किसानले पाउँदै आएको ब्याज छुटको कृषि अनुदानले चिया खेती विस्तारमा ठूलो सहयोग पुगेको स्मरण गर्दै उनले त्यसलाई निरन्तरता दिनुपर्ने माग छ।

संघले कृषि तथा पशुपन्छी विकास मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र श्रम रोजगार तथा आपूर्ति मन्त्रालयलाई ध्यानाकर्षण गराएको छ। चिया उद्योगमा बैंकिङ प्रणाली र राज्यका सेवा सुविधाले खासै राहत दिन नसकेको उनको भनाइ छ।

नेपाली चियाको ठूलो बजार भारत हो। भारतीय पक्षले उत्पादनको मुख्य सिजनमा गैर–प्राविधिक कारण देखाएर चिया रोक्ने प्रवृत्ति देखाउँदै आएको छ। ‘सेन्ट्रल फुड ल्याब्रोटरीबाट खान योग्य भनेर प्रमाणित भइसकेपछि पनि भारतले ‘चिया खराब छ’ भनेर रोक्ने गरेको छ,’ उपाध्यक्ष लिम्बुले भने।

सरकारको नयाँ निर्यात सम्बन्धी कार्यविधिले दोस्रो मुलुकमा चिया निर्यात गर्ने उद्योगी र किसानलाई नसमेट्ने अवस्था सिर्जना भएको भन्दै चिया उत्पादक तथा व्यवसायी सुजन ढुंगेलले चिन्ता व्यक्त गरे। ‘अहिले निर्यातसँग सम्बन्धित नयाँ कार्यविधि बन्दै रहेछ तर त्यसले हामीलाई समेट्दैन भन्ने संकेत देखिएको छ’, उनले भने।

अब बन्ने कार्यविधिले दोस्रो मुलुक र तेस्रो मुलुक दुवैमा चिया निर्यात गर्ने सम्पूर्ण उद्योगीलाई समेट्नुपर्ने माग गरेका छन्।

मुलुक अधिकांश कृषिजन्य वस्तुमा परनिर्भर रहेको अवस्थामा चिया निर्यात भएको अवस्थामा प्रोत्साहन गर्नुपर्ने किसान र उद्योगीको माग छ।

भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ मा एक वर्षको अवधिमा चार अर्ब ५९ करोड रूपैयाँको एक करोड ५५ लाख ९८ हजार किलो चिया निर्यात भएको थियो। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा तीन अर्ब ६२ करोड ५० लाख रूपैयाँको चिया निर्यात भएको थियो।

नेपालका पहाडी क्षेत्रमा उत्पादन भएको चिया गुणस्तरीय भएकाले विश्व बजारमा माग रहेको छ। यहाँबाट भारतसहित अमेरिका, अस्ट्रेलिया, चीन, चेक रिपब्लिक, डेनमार्क, फ्रान्स, जर्मनी, इटाली, जापान, कोरिया, नर्वे, फिलिपिन्स, कतार, साउदी अरेबिया, सिंगापुर, स्विट्जरल्यान्ड, थाइल्यान्ड, बेलायतलगायत मुलुकमा निर्यात हुने गरेको छ।

नेपालको चिया अन्तर्राष्ट्रिय बजारमा माग उच्च रहेकाले किसान चिया खेतीमा आकर्षित भएका हुन्। अहिले यहाँ उत्पादन भएको सिटिसी र अर्थोडक्स चिया विदेशी बजारमा निर्यात हुन्छ।

नेपालमा वार्षिक एक करोड ६४ लाख किलो चिया उत्पादन हुन्छ भने २० हजार हेक्टर क्षेत्रफलमा चिया रोपण भएको छ। चिया बगान, उद्योगमा करिब ६० हजारले रोजगारी पाएका छन्। चिया खेतीमा लगानी बढाए उत्पादन बढाउन सकिने बोर्डले जनाएको छ। अक्सन सेन्टर स्थापना, प्रयोगशाला निर्माण गर्नुपर्ने आवश्यकता छ।

नेपालका चिया बगानमा उत्पादन भएको अर्गानिक चिया अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा अब्बल ठहरिएको थियो। २०७९ सालमा चीनको टी मार्केटिङ एसोसिएसनले आयोजना गरेको चियाको गुणस्तर मूल्यांकन सम्बन्धी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको चियाले ‘ग्रान्ड गोल्ड मेडल’ प्राप्त गरेको थियो। इलामको तीनजुरे किसान सहकारी संस्थाले उत्पादन गरेको चियाले ‘ग्रान्ड गोल्ड मेडल’ प्राप्त गरेको थियो।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट गुणस्तरको ठहरिएपछि विश्व बजारमा नेपाली चियाको थप प्रचार भएको थियो। नेपालमा उत्पादित अर्थोडक्स चियालाई अन्तर्राष्ट्रिय बजारमा ब्रान्डिङ गर्न ‘ट्रेडमार्क’ समेत तयार गरिएको छ। ‘नेपाल टी क्वालिटी फ्रम दी हिमालय’ ब्रान्डमा चिया निर्यात हुने गरेको छ।

पूर्वी नेपालको संखुवासभा, ताप्लेजुङ, तेह्रथुम, पाँचथर, धनकुटा, इलाम, झापालगायत जिल्लामा चियाको व्यावसायिक खेती हुन्छ। पूर्वी पहाडी जिल्ला मात्र नभएर पछिल्ला वर्ष बागमती प्रदेश, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम लगायत प्रदेशमा पनि विस्तार भएको छ।

सिटिसी चिया भारत हुँदै अन्तर्राष्ट्रिय बजारमा गए पनि अर्थोडक्स चिया नेपाली उद्योगीमार्फत सिधै विदेश निर्यात हुन्छ। पहाडी क्षेत्रमा अर्थोडक्स चिया हुन्छ। नेपालीले दुध हालेर चिया खाने प्रचलन रहेकाले सिटिसी चिया उपभोग गर्छन्।

नेपालमा विशेषतः तीन प्रजातिको चिया खेती गरिन्छ। आसामी, कम्बोडियाली प्रजातिको चिया सिटिसी चिया उत्पादनका लागि प्रयोग हुन्छ भने चिनियाँ प्रजातिको चिया मुख्यतया अर्थोडक्स चियाको उत्पादनमा प्रयोग हुन्छ। नेपाली सिटिसी चिया पनि कडकपन, चमकपन र तिखरताका लागि प्रसिद्ध छ।

प्रकाशित: १३ पुस २०८२ ०८:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App