अर्थ

अन्तरप्रदेश उडानमा सधैंको रटान, सुरु भएका उडान टिकाउने प्रयास हुँदैन

यात्रु नभएपछि उडान बन्द भएका हुन्ः वायुसेवा कम्पनि

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका आन्तरिक हवाई कम्पनिका जहाज। फाइल तस्बिरः नागरिक

अन्तरप्रदेश उडान सुरु हुँदै गर्दा पोखराबाट कुनैबेला मुलुकका विभिन्न आठवटा विमानस्थलमा नियमित हवाई उडान हुन्थ्यो। अहिले ती गन्तव्यको संख्या कटौती हुँदैजाँदा चारवटामा झरेको छ। यात्रु अभावमा अरु चारवटा गन्तव्यका उडानले निरन्तरता पाउन सकेनन्।  

हवाई कम्पनिले उडान थालेपनि हवाई यात्रु नभएपछि बीचमै उडान रोकिएका थिए। केहीदिन चलेर रोकिएका ती उडान अब कहिले सुरु हुन्छन भन्ने यकिन कसैलाई छैन। सुरु भएका उडानलाई निरन्तरता दिने प्रयास कतैबाट नभएपछि उडान रोकिएको वायुसेवा कम्पनिले बताउँदै आएका छन्। तर, पोखराले भने बारम्बार अन्तरप्रदेश हवाई उडानको निरन्तरतालाई जोडबलका साथ उठाउने गरेको छ।  

गण्डकी प्रदेश सरकारले समेत अन्तरप्रदेश हवाई उडान नियमित गर्नुपर्ने बताउँदै आएको छ। त्यत्तिमात्र नभई केहीदिन अघि पोखरामा भएको छलफलमा समेत आन्तरिक गन्तव्यका ठूला सहरसम्म पोखराबाट सिधा हवाई उडान संचालन गर्न हवाई कम्पनिलाई सरोकारवालाले अनुरोध समेत गरेका थिए। पर्यटन क्षेत्रको छलफलदेखि प्रर्वद्धनात्मक गतिविधिमा समेत यो मुद्धाले सधैं प्राथमिकता पाउने गरेको छ।  

हवाई कम्पनि भने पोखराबाट अन्तरप्रदेश उडान सुरु गरेपनि यात्रु अभाव भएपछि रोकेको बताउँछन्। ‘पोखराबाट अन्तरप्रदेश हवाई उडान गर्नुपर्छ भनेर सबैले आवाज उठाउँछन। तर, सुरु भएका उडानलाई निरन्तरता दिनका लागि यात्रु जुटाउने चाँसो कसैले देखाउँदैनन,’ एक हवाई कम्पनिका पोखरास्थित स्टेशन म्यानेजरले भने, ‘अन्तरप्रदेश उडानको रटानले मात्र पुग्दैन। निरन्तरताका लागि पहल पनि गर्नुपर्छ। यात्रु बिना उडान निरन्तर हुँदैनन।’  

पर्यटन व्यावसायीले आन्तरिक गन्तव्यका ठूला सहरमा पोखराबाट हवाई सेवा नियमित गर्न सके पर्यटक आउजाउमा सहज हुने बताएपनि त्यसका लागि उचित प्रचारप्रसारमा नजुटेको उनको भनाई छ। पोखराबाट अन्तरप्रदेश उडानका क्रममा केही समय अघिसम्म देशका आठवटा गन्तव्यसम्म सिधा हवाई उडान संचालन भएका थिए। पोखराबाट काठमाडौं, भरतपुर, भैरहवा, नेपालगञ्ज, धनगढी, जनकपुर, सिमरा र भद्रपुर उडान संचालन भएपनि यात्रु अभाव भएपछि ती मध्ये केही सहरका उडान रोकिएका थिए।  

अहिले पोखराबाट काठमाडौं, भरतपुर, भैरहवा र नेपालगञ्जसम्म मात्र उडान भईरहेका छन। अरु सहरका उडान यात्रु अभाव भएपछि रोकिएका थिए। अहिले बुद्धले पोखराबाट काठमाडौं, भरतपुर, भैरहवा र नेपालगञ्जमा मात्र उडान गरिरहेको छ। धनगढी, जनकपुर, सिमरा र भद्रपुरका उडान रोकिएका छन्। ‘कुनैबेला पोखराबाट आठवटा गन्तव्यमा उडान हुन्थ्यो। तर, अहिले जम्मा चारवटा गन्तव्यमा मात्र उडान भईरहेको छ,’ बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्ण भन्छन, ‘उडान सुरु नभएको होईन, नियमितता मात्र नपाएको हो।’

 ‘पोखराबाट अन्तरप्रदेश हवाई उडान गर्नुपर्छ भनेर सबैले आवाज उठाउँछन। तर, सुरु भएका उडानलाई निरन्तरता दिनका लागि यात्रु जुटाउने चाँसो कसैले देखाउँदैनन,’ एक हवाई कम्पनिका पोखरास्थित स्टेशन म्यानेजरले भने, ‘अन्तरप्रदेश उडानको रटानले मात्र पुग्दैन। निरन्तरताका लागि पहल पनि गर्नुपर्छ। यात्रु बिना उडान निरन्तर हुँदैनन।’  

अहिले बुद्धले मात्र पोखराबाट काठमाडौका लागि दैनिक १७, भरतपुर र भैरहवाका दैनिक एक–एक वटा उडान गरिरहेको छ। त्यस्तै पोखराबाट नेपालगञ्ज सातामा तीनदिन मात्र उडान भईरहेको छ। ‘पोखराबाट आठवटा सहरका लागि उडानको प्रयास भएको हो। उडान थालनी भएपनि निरन्तरता नपाएको हो, चारवटामा अहिले पनि चलिरहेका छन,’ उनले भने, ‘अरु विमानस्थलका लागि यात्रु अभाव भएपछि रोकिएको हो।’

उनका अनुसार पोखराबाट उडान थालिएका गन्तव्यमध्ये धनगढी, जनकपुर, सिमरा र भद्रपुरका उडानले निरन्तरता पाउन नसकेका हुन। केहीदिन चलेका उडान त्यसपछि रोकिएका थिए। ‘हवाई उडानका लागि यात्रुसंख्या जति हुनुपर्ने हो, त्यो नभएपछि उडानले निरन्तरता पाउन सकेन,’ कर्णले भने, ‘अकुपेन्सी जे जति हुनुपर्ने हो, त्यो भएन। त्यसैले उडान नियमित भएनन। अब कहिलेदेखि उडान सुरु हुन्छ भन्ने पनि यकिन भन्न सकिन्न।’स्थलमार्ग सुधारका कारणले आउजाउ सहज हुँदै जाँदा आगामि दिनमा हवाई यात्रु संख्या अझ कम हुनसक्ने उनले बताए। 

‘पोखराबाट नेपालका ठूला सहरका विमानस्थलमा सिधा र नियमित उडानका लागि हवाई कम्पनिले प्रयास नगरेका होइनन। तर,जे जति मात्रामा यात्रुको भार हुनुपर्ने हो, त्यो नभएपछि रोकिएको हो,’ उनले भने, ‘उडान नियमित हुन कि त यात्रु पर्याप्त हुनुपर्छ, कि राज्यले कुनै फरक खालको राहत दिनुपर्छ।’ दोहोरो लोड नभएसम्म हवाई उडान सम्भव नहुने बुद्धका सूचना अधिकारी कर्णले बताए। ‘जहाज ठुला छन। आधा संख्यामा सिट खालि राखेर उडान गर्न सकिने अवस्था रहन्न,’ उनले भने।  

पोखरामा हालै भएको छलफलमा पनि पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटकीय राजधानी पोखराको अन्तर्राष्ट्रिय विमानस्थलबाट सम्भाव्य आन्तरिक गन्तव्यमा नियमित उडान सञ्चालन गर्न सेवा प्रदायकलाई अनुरोध गरेका थिए। सरकारको तर्फबाट आवश्यक नीतिगत सहयोग गर्ने प्रतिवद्धता जनाउँदै उनले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको व्यस्त रहेकोले पनि सेवा विकेन्द्रीत गर्नुपर्ने उनले बताएका थिए। पोखराबाट काठमाडौंका नियमित बाहेक अन्य नयाँ गन्तव्यमा पनि उडान सञ्चालन गर्न सके पर्यटकीय गतिविधि चलायमान हुने उनले बताए।  

त्यस्तै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पनि पोखरा सबै हिसाबले तयार रहेकाले तत्काल मुलुकका सातवटै प्रदेशमा सञ्चालनमा रहेका विमानस्थलमा हवाई सेवा सञ्चालनको व्यवस्थापन गर्न निजी वायुसेवा प्रदायकलाई आग्रह गरेका थिए। पर्यटकीय राजधानी पोखराबाट मुलुकको कुनै पनि कुनामा हवाई यात्रा मार्फत पुग्न सकिने सुनिश्चितता गर्न महानगर आवश्यक सहजीकरणको लागि तयार रहेको प्रमुख आचार्यले बताएका थिए।

सबैभन्दा सुरक्षित मानिएको हवाई सेवाले पोखरालाई देशभर जोड्न सकिए मात्र पर्यटन लगायत अन्य क्षेत्रको विकासमा असन्तुलनको अवस्था अन्त्य हुने पनि उनको भनाई थियो। तर, सरकारी पदाधिकारीले बाहिर भनेजस्तो हवाई उडान निरन्तर चलाउन समस्या रहेको हवाई कम्पनिको भनाई छ। यात्रुसंख्या नभएकैले अन्तरप्रदेश उडान रोकिएको हवाई कम्पनिले बताउँदै आएका छन्। बुद्धले बाहेक अरु हवाई कम्पनिले पनि पोखराबाट क्षेत्रीय सहरमा उडान थालेका थिए। तर, ती उडानले पनि निरन्तरता पाउन सकेनन्।  

पर्यटन व्यावसायीहरु भने योजनाबिनाको उडान थालनी गर्दा सार्थकता नपाएको बताउँछन्। पोखरा पर्यटन परिषद् (पिटिसी)का निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठ भन्छन, ‘पोखराबाट आन्तरिक गन्तव्यतर्फका ठूला सहरमा उडान सुरु भएकै हो। तर, यात्रु अभावमा उडान रोकिएका हुन। तिनै सहरमा अब भने योजनाबद्ध तरिकाले उडान थाल्नुपर्छ, त्यसो हुँदा रोकिनु पर्दैन।’ उनका अनुसार यसअघिका उडान प्रयासले सार्थकता नपाउनुमा यात्रु अभाव भएर हो। यात्रु अभाव हुनुमा नेपाल–भारतको सीमा क्षेत्र र आन्तरिक सहरमा प्रवद्र्धन नगरेकोले यो अवस्था आएको उनले बताए।  

‘एकसाताको प्रयासले मात्र हुँदैन। अब कम्तिमा एकमहिना राखेर सीमा क्षेत्र र आन्तरिक सहरमा प्रर्वद्धन गर्ने हो भने पोखरा आउने हवाई यात्रु हुनेछन,’ उनले भने, ‘यात्रु पर्याप्त हुनासाथ उडान निरन्तर चल्छन्। अहिलेसम्मको प्रयासमा प्रर्वद्धन बिनाको उडान थाल्दा यस्तो अवस्था आएको हो। कम्तिमा एकमहिना समय राखेर प्रर्वद्धन गर्ने र उडान थाल्ने हो भने यात्रु अभाव हुनेछैन। त्यसो हुँदा उडानले निरन्तरता पाउनेछन।’  

प्रकाशित: १ जेष्ठ २०८२ १८:१६ बिहीबार

अन्तरप्रदेश उडान पोखरा