शनिबार यहाँ स्थित परराष्ट्र मन्त्रालयमा आयोजित एक बिशेष समारोहमा सो कुराको जानकारी दिइएको हो। समारोहमा जापानका परराष्ट्र राज्यमन्त्री सेइजी किहारा र जापानका लागी नेपाली कार्यवाहक राजदूत गेहेन्द्र राजभण्डारीले नेपाल-जापान कूटनीतिक सम्बन्ध स्थापनाको ६० औं बार्षिकोत्सबको लोगो संयुक्त रूपमा अनावरण गरे। जापानी डिजाईनर हीरोमीचु कोनोद्वारा तयार गरिएको सो लोगोमा विश्वको सर्वोच्च शिखर सगरमाथा र जापानको सबैभन्दा अग्लो फूजी हिमाल को साथै नेपालको राष्ट्रीय फूल लालीगुरांस र जापानको राष्ट्रीय फूल साकुरा अंकित छ। समारोहमा विश्वमै सबैभन्दा बढि उमेरमा सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका जापानी नागरिक यीउचिरो मीउरा लाई सद्भावना राजदूत घोषणा गरिएको थियो। 'नेपाल र जापानबीचको सम्बन्धलाई थप बलियो र बिस्तार गर्न सक्दो प्रयास गर्नेछु' , समारोहमा सम्बोधन गर्दै सद्भावना राजदूत मीउरा ले भने , 'दुई देश बीचको पुल बन्नेछु।' समारोहलाई सम्बोधन गर्दै जापानी परराष्ट्र राज्यमन्त्री सेईजी किहाराले दुईदेशबीचको सम्बन्धलाई अझ बलियो र प्रगाढ बनाउन यो बर्षलाई बिशेष रूपमा हेरिने बताए। नेपालको बिपत्तीको घडिमा साथ दिन जापान सधै साथ दिन तयार रहेको बताउँदै उनले भूकम्पले प्रभाबित नेपालीहरू छीट्टै कठिन परिस्थितिबाट सामान्य अवस्थामा आऊने विश्वास ब्यक्त गरे।
यसैगरि जापानका लागि नेपाली कार्यवाहक राजदूत गेहेन्द्र राजभण्डारीले सभालाई सम्वोधन गर्दै दुई देशबीचको सम्वन्धलाई मजवुत बनाउन जापान सरकार र जापानी नागरिकहरूले गरेको सहयोग प्रति आभार व्यक्त गरे।
प्रकाशित: १४ चैत्र २०७२ ०८:५० आइतबार



