नेपाली वाङ्गमयको श्रीवृध्दिमा २७ वर्षदेखि समर्पित संस्था एपेक नेपालले आउँदाे चैत्र २५ गते काठमाडौंमा आयोजना गरिने कार्यक्रममा अग्रज सर्जक कवि, गीतकार तथा गायक मेघराज नेपाल 'मन्जुल' लाई यस वर्षको 'विश्व ज्योति साहित्य सम्मान’ अर्पण गर्ने घोषणा गरेको छ।
उक्त सम्मानमा एक सम्मानपत्र सहित नगद राशि ५१ हजार रुपैयाँ रहने कुरा सस्थाले जनाएको छ। गत वर्षदेखि समर्पण गर्न सुरु गरिएको 'विश्व ज्योति साहित्य सम्मान’ पहिलो वर्ष कवि एवम् गीतकार उषा शेरचनलाई अर्पिएको थियो।
कविता तथा गीत लेखनमा क्रियाशील सर्जक मञ्जुलको जन्म २००३ साल फागुन महिनामा भोजपुरमा भएको हो। उहाले २०२४ सालदेखि रेडियो नेपालमा गीत लेखन र गायनबाट आफ्नो यात्रा प्रारम्भ गरेका थिए।
त्यसैताका समाजका कतिपय विसङ्गति र बेथितिप्रति असहमति जनाएर विद्रोह गर्दै उनीसहित केही साथी मिलेर राल्फा नामक एक सांस्कृतिक समुहको स्थापना गरेका थिए। जसमा मन्जुल, रामेश, रायन, अरिम आदि कलाकर्मीहरूको सक्रियता थियो।
राल्फाको स्थापनापछि नेपालका कुनाकन्दरा पुगेर परिवर्तनको बिगुल फुक्ने काममा मञ्जुलसहितका कलाकर्मीहरू सक्रिय रहे। त्यसबखत परिवर्तनकामी राल्फाका सर्जकहरू गाउँगाउँ ठाउँठाउँ पुगेर जनताका गीत गाउँथे र जागरणको बिगुल फुक्थे।
साहित्य लेखनमा सक्रिय मञ्जुलका विभिन्न पुस्तक प्रकाशित छन्। उनको कविताकृति ‘साहिँली मोरीलाई’ संस्मरणकृति ‘सम्झनाका पाइलाहरू’, उपन्यास ‘छेकु डोल्मा’, कविताकृति ‘मृत्यु कविता’, जीवनी ‘पहाडजस्तो–बाटोजस्तो म’लगायत थुप्रै कृति प्रकाशित छन्।
राष्ट्रिय प्रतिभा पुरस्कार, साझा पुरस्कार लगायतका पुरस्कारहरू प्राप्त गरिसकेका मञ्जुल यो उमेरमा पनि सिर्जनामा सक्रिय छन् र धेरैका लागि प्रेरणाका श्रोत पनि हुन्।
एपेक नेपालले यस सम्मानका साथै एक अर्को 'विश्व ज्योति युवा पाण्डुलिपि पुरस्कार' को पनि स्थापना गरेको छ। ४० वर्षमुनिका युवा सर्जकलाई प्रदान गरिने उक्त पाण्डुलिपि पुरस्कारको घोषणा एपेक नेपालले आउँदो साता गर्दैछ।
गत वर्ष यस पाण्डुलिपि पुरस्कार सुदूर पश्चिमका युवा कवि हेमन्त शिशिरको कविताकृति ‘बन्द घरको झ्याल’ लाई प्रदान गरिएको थियो। यस वर्ष पाण्डुलिपि पुरस्कार अहिलेसम्म एउटै कृति प्रकाशित नभएका कुनै एक युवा कथाकारको लघुकथालाई प्रदान गरिने भएकाे छ। सो कृति प्रकाशित गरी सोही समारोहमा लोकार्पण समेत गरिने पनि संस्थाले जनाएको छ।
प्रकाशित: ३ चैत्र २०८२ ०९:०६ मंगलबार



