साहित्यकर विमल भौकाजीले सम्पादन गरेकाे राजेन्द्र वाग्लेको ‘अन्तिम छाल’ उपन्यास लोकार्पण भएको छ।
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, पूर्वन्यायाधीश ईश्वरप्रसाद खतिवडा, साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकाली, समालोचक प्रमोद प्रधान, उपन्यासकार राजेन्द्र वाग्ले, शारदा पत्रिका सम्पादक विमल भौकाजी र नायक सरोज खनालले संयुक्त रूपमा ‘अन्तिम छाल’ उपन्यास' काे लोकार्पण गरेका थिए।
लोकार्पणअघि उपन्यासभित्र रहेको उपन्यासकार वाग्लेकाे 'आगो बनेर बल्न सक्छु, तुफान बनेर चल्न सक्छु' गीतलाई प्रमुख आमन्त्रित व्यक्तित्व सुशीला कार्कीले ल्यापटपको बटन थिचेर उद्घाटन गरेपछि भिडियो गीत प्रदर्शन गरिएको थियो। उक्त गीतका गायक तथा सङ्गीतकार चर्चित कलाकार सन्तोष श्रेष्ठ हुन्।
साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा भएकाे कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तित्व पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले जनता न्यायालयबारेजान्न चाहन्छन्, न्यायाधीशहरूको दिनचर्याबारे थाहा पाउन चाहन्छन् भन्दै उनले ती कुरा उपन्यास लेखक राजेन्द्र वाग्लेका उपन्यासभित्र रहेको बताइन्। साथै उनले उपन्यासमा न्यायालयका विकृति र विसंगतिका कुराहरू पनि समेटिएकाे बताइन्।
उपन्यासको मुख्य पात्र सौरभ स्वयम् लेखक नै हुन् कि जस्तो पनि लाग्छन् भन्दै उनले उपन्यासमा प्रयोग भएको भाषा, शब्दको चयन र प्रस्तुति राम्रो भएको बताइन्।
कार्यक्रममा सर्वोच्च अदालतका पूर्वन्यायाधीश ईश्वरप्रसाद खतिवडाले आफ्नो शुभकामना मन्तव्यमा राजेन्द्र वाग्लेको उपन्यासमा जीवनको भोगाइ, उकालीओराली र दु:खसुखको कुरा छ भन्दै ६० प्रतिशत यथार्थ र ४० प्रतिशत जति काल्पनिक कुरा रहेको बताए।
समालोचकले लेखकलाई आज लेखकको प्रमाणपत्र दिएको बताउँदै उनले वाग्ले अब सिद्धहस्त लेखक बन्न सकून् भनेर शुभकामना पनि दिएका थिए।
कार्यक्रममा समालोचक प्रमोद प्रधानले लोकार्पित उपन्यास'अन्तिम छाल' माथि संक्षिप्त समीक्षात्मक टिप्पणी गरेका थिए।
न्याय सेवामा लामो समय बिताएर अवकाश प्राप्त गरेका लेखक राजेन्द्र वाग्लेको उपन्यासभित्र न्यायालयभित्रका थुप्रै कुरा उल्लेख भएको बताउँदै समालोचक प्रधानले न्यायसेवाबारेको यो उपन्यास पृथक् पहिचान भएको बताए।
अरू धेरै विधामा उपन्यास लेखिएको भए पनि न्यायालयबारे लेखिएको यस उपन्यासभित्र न्यायालयभित्रको विकृति र विसंगति रहेको छ। २०४६ पछि र २०६२-६३ को अवधिमा भएका विविध घटनाको चर्चा गरिएको छ। जुन कुराहरू बाहिर आउनुपर्छ त्यसबारे अब अरू विधामार्फत पनि लेखिनुपर्छ उनले बताए। 'परिवर्तन' शब्द बाहेक अरू सबै कुरा परिवर्तन हुँदारहेछन् भन्ने उनको तर्क थियो।
सापस अध्यक्ष राधेश्याम लेकालीले लेखकहरूले हतारमा लेखेर नछपाउन र पुरस्कारका लागि नदौडिन आग्रह गरेका थिए। उनले फुर्सदमा राम्रोसँग लेखिएको कृति यसैगरी सार्वजनिक गर्न र अनुवाद गरेर अन्तर्राष्ट्रिय बजारमा पुर्याउन सुझाएका थिए।
मन्तव्यका क्रममा उनले न्यायालयभित्र देखिएको विकृति र विसंगतिबारे बेलाबेलामा पढ्न पाइने र सुन्न पाइने विषयमाथि पनि चर्चा गरेका थिए।
कार्यक्रममा उपन्यास 'अन्तिम छालका' का सम्पादक विमल भौकाजी र कलाकार सरोज खनालले पनि शुभकामना मन्तव्य राखेका थिए।
नेपाल प्रज्ञाप्रतिष्ठानमा भएकाे कार्यक्रममा कवि ठाकुर बेल्बासेले सहजीकरण गरेका थिए। कार्यक्रम साहित्यिक पत्रकार सङ्घको आयोजना तथा भुँडीपुराण प्रकाशन र शारदा मासिक पत्रिकाकाे सहआयोजना भएकाे थियाे।
प्रकाशित: २६ श्रावण २०८२ १०:०७ सोमबार



