फिलिपिन्समा २५ जेठ २०८३ मा आएको विनाशकारी भूकम्पका पराकम्पनहरू अझै पूर्णतः सेलाएका थिएनन्। समाचारका पर्दाहरूमा भत्किएका घरहरू, धुलाले ढाकिएका सडकहरू र त्रसित अनुहारहरू देखिरहँदा हाम्रो यात्रा पनि अर्को भूकम्पको स्मृतिक्षेत्रतिर उन्मुख हुँदै थियो। हामी नेपालको त्यही भूभागतर्फ जाँदै थियौँ, जहाँ एक दशकअघि पृथ्वीले आफ्नो भीषण क्रोध पोखेको थियो र हजारौँ जीवनका कथाहरू एकै क्षणमा परिवर्तन भएका थिए। भूकम्पका भौतिक पराकम्पनहरू धेरै अघिदेखि शान्त भइसकेका छन् त्यहाँ। जमिन अब पहिलेझैँ स्थिर छ, पहाडहरू पुनः हरिया भएका छन् र भत्किएका धेरै घरहरूका ठाउँमा नयाँ संरचनाहरू उभिएका छन् तर विनाशले छाडेर गएका स्मृतिका डोबहरू अझै पुरिएका छैनन्। नेपालीहरू फुर्सदका बेला त्यहाँ पुग्छन्। कसैले इतिहासलाई नजिकबाट बुझ्न, कसैले प्रकृतिको सौन्दर्य हेर्न, त कसैले विपत्तिपछि उठ्न सक्ने मानवीय दृढताको साक्षी बन्न। विदेशी पर्यटकहरूका लागि पनि ती ठाउँहरू अब नयाँ गन्तव्य बनेका छन्, जहाँ प्रकृतिको रमणीयता र विपत्तिको इतिहास एकअर्कासँग गाँसिएर उभिएका छन्।
+++
हामी २०७२ सालको महाभूकम्पले सबैभन्दा गहिरो घाउ छाडेको बारपाक र लाप्राकतिरको यात्रामा छौँ।
म, रामेश्वर भट्टराई र बोधनाथ गजुरेल – हामी तीन जना पनि त्यही स्मृतिको भूगोलतिर लागेका थियौँ। उद्देश्य प्रकृति चियाउन पनि हो, महाविपत्तिबाट उठेको साहस हेर्न पनि हो। २७ जेठ २०८३ बिहान ९ बजेर १५ मिनेटमा हामी गोरखाको बाह्र किलो पुगेका थियौँ चितवनबाट। एउटा सानो छाप्रे होटलमा रोकिएर कालो चिया पिउन मात्र के लागेका थियौँ गाडी गुड्न थाल्यो। चिया छाडेर पैसा तिर्न खोज्दा होटलवालाले हात हल्लाउँदै भने, “छोडिदिनुस्, नखाएको चियाको पैसा म लिन्न।”
होटलवालाले आत्मीय देखाए, हामी यात्राको त्यो मेसोमा उनको हार्दिक भाव देखेर नतमस्तक बन्यौँ।
बारपाक र लाप्राक कति टाढा छ हामीले खासै हिँड्नुअघि खोजखाज गरेका थिएनौँ। यसपल्ट हामी पूरै वृत्तान्त खोजेर यात्रामा निस्कनुभन्दा उत्सुकतालाई छातीमा बोकेर हिँड्न चाहन्थ्यौँ। बाटामा हिँड्दाहिँड्दै “बारपाक अनि लाप्राक कति टाढा छ?” भन्ने प्रश्नमा कसैले अठचालीस किलोमिटर त कसैले पचास किलोमिटरको दुरी बताए। यात्रामा दूरीभन्दा पनि अनुभवको हिसाब ठूलो हुने रहेछ।
छेपेटारतिर पुग्दा चैते धानका सुनौला बालाहरू हावासँग झुलिरहेका थिए। टार हरिया थिए। बजार लत्रङ्ग सुतेको थियो। पानी पर्नपर्न लागेको मौसमले वातावरणलाई शीतल बनाएको थियो। बजारमा मानिसहरू धेरै देखिएनन्। सिरानचोकको चोरकाटेमा पुग्दा भच्चेक र बारपाक जाने बाटो छुट्टियो। छ्याकटे पीचले स्वागत गरिरह्यो निरन्तर। “बरु ग्राभेल बाटो भए हुन्थ्यो। बिग्रिएका पीचहरूमा गरिने यात्रा सजिलो हुन्न।” – भन्दैथे बोधनाथ। हामी विकासका टुक्रिएका चोइटाहरू हेर्दै अघि बढिरह्यौँ।
बालुवामा खाना खाँदा भने चितवनकै जस्तो टन्टलापुर घामले स्वागत गरिरहेको थियो। पसिनाले निथ्रुक्क भिजिसकेको थियो शरीर। बालुवा नामकरण कसरी भयो होला जिज्ञासा भए पनि हामीले सोधेनौँ। त्यहाँको बलौटे माटाको जमिन हेरेर ठाउँको नाम राखिएको पनि हुन सक्छ। यो अड्कल मात्र हो। कुनै समय बालुवा यस क्षेत्रको व्यापारिक केन्द्र थियो। वरिपरिका गाउँमा खच्चडबाट रासनपानी पुर्याइन्थे। गमक्क थियो बालुवा – चहलपहलका घुइँचाहरूमा। अहिले कथा फेरिएको छ। गाउँगाउँमा सडक पुगेका छन्। साना गाडीहरूले घरदैलोमै सामान पुर्याउँछन्। समयले बाटो मात्र बनाएको छैन, जीवनशैली पनि बदलिदिएको छ।
राङरुङ खोला तरेपछि बारपाकतर्फ उकालो सुरु भयो। सडक राम्रो थियो - कतै ढलान, कतै कालोपत्रे। एकोतारको घुम्ती। उकालोमाथि उकालो थपिएकोथपियै छ। अचानक ठूलो विस्फोट जस्तो आवाज आयो। क्षणभर हामी सबै झस्कियौँ। पछाडिका चारवटामध्ये एउटा टायर पड्किएको रहेछ। ड्राइभर ओर्लिए, एकछिन हेरे, फेरि गाडी चढ्दै भने, “एउटा बाँकी छ, पुगिन्छ।”
शान्त भावका ड्राइभरको भरोसाले मात्र मन मानिरहेको थिएन। उपाय पनि त थिएन हामीसँग। कि त हिँड्नुपर्थ्याे कि त स्विकार्नुपर्थ्याे त्यो निर्मम परिस्थितिलाई। हामीले पनि बाँकी यात्राको भरोसा त्यही एउटा टायर अनि चालकलाई सुम्पियौँ। हामी १२ बजेर ३० मिनेटमा पड्किएको टायरमाथि बसको कायामा बसेर बारपाक पुग्यौँ।
महाभूकम्पको उपरिकेन्द्र (इपिसेन्टर) नजिक रहेको बारपाक त्यस महाविपत्तिको जीवित स्मारकझैं देखिएथ्यो। लगभग बारपाक र लाप्राक दुई गाउँ मटियामेट भएका थिए भूकम्पले। भूकम्प अघिका परम्परागत सबै घर यतिखेर थिएनन् त्यहाँ। हामीले त यति माथिको डाँडामा यति ठुलो कङ्क्रिटी बारपाक छ भनेर कल्पना पनि गरेका थिएनौँ। हामीले हृदयमा सजाएको बारपाकमा परम्पराहरू भत्किसकेका थिए। कङ्क्रिटको विशाल जङ्गल लमतन्न बनेर फैलिएको थियो। चिसो थियो बारपाक। केही स्थानीय पातला स्वेटर र ज्याकेट लगाएर हिँडिरहेका थिए। ठुलो बस्तीमा एकाध मान्छेहरू मात्र हिँडिरहेका थिए। जेठको प्रचण्ड चितौनिया गर्मी बोकेर उक्लिएका हामीहरूको मन भने मायालु र शीतल स्पर्शले मुग्ध बनिरहेको थियो।
दिनको एक पटक काठमाडौँबाट आएको बस जाँदो रहेछ लाप्राक। लाप्राक जाने बस आउन अझै तीन घण्टा बाँकी छ रे! स्थानीयहरूले भने, “हिँड्ने हो भने पुरानो बाटो छ। हामी त दुई अढाई घण्टामै पुग्छौँ तर तपाईंहरू सक्नु हुन्न।”
तिनले कुरै कुरामा हाम्रो लुर नापिसकेका थिए। हामीले एक अर्काको अनुहार हेर्यौँ। हेराहेरमै हाम्रो मौन कुराकानी भनिरहेथ्यो – एक घण्टा बढी लाग्ला हिँडेरै जाम। अन्ततः बस कुर्नुभन्दा हिँडेरै जाने निर्णय भयो। सुरुमा बाटो सहज लाग्यो तर केहीबेरमै उकालोले आफ्नो असली रूप देखाउन थाल्यो। लाप्राक जाने स्थानीयहरू आजकल त्यो बाटो त्यति हिँड्न चाहन्नन्। सुविधाले मान्छेलाई अल्छी बनाएको छ। मान्छे कम हिँड्ने गरेको निसानी बाटामै देखिन्थ्यो। कतैकतै घाँसले बाटो छोप्न थालेको थियो। आधुनिक सडकले पुराना पदमार्गहरू र पदयात्रीका साहस बिस्तारै चपाउन थालिसकेका थिए।
सोचेभन्दा कठिन उकालो एकोतार हाम्रो साहसमा धावा बोलिरहेको थियो। बाटामा हामीले ताना शर्माको ‘घनघश्याको उकालो काट्दा’ लाई सम्झिरह्यौँ। शर्माको नियात्रा हो यो - झर्रो भाषाको प्रयोग गरिएको एकदम रोमाञ्चक नियात्रा। नाक ठोक्ने उकालामा साहस जुटाएरै हिँडिरहेथ्यौँ हामी। आकाशले पनि साथ छोड्यो बाटामा। चिसो बतास चल्यो, पानी पर्यो। एउटा हातमा छाता, अर्को हातमा लठ्ठी। कहिले रोकिँदै, कहिले हिँड्दै, कहिले लामो सास फेर्दै, कहिले घुँडा समाउँदै, कहिले वरिपरिको दृश्य हेरेर थकान भुल्दै हामी अघि बढिरह्यौँ।
समस्या अप्रत्याशित भएर आयो। पहिलेपहिलेका यात्राहरूमा बाटामा पानीका मुहान भेटिन्थे। मानवनिर्मित धारा भेटिन्थे तर यसपटक हामीले सोचेजस्तो भएन। यहाँ भने न प्राकृतिक स्रोत भेटियो, न चलिरहेका सार्वजनिक धारा। कतैकतै मर्मतको प्रतीक्षा कुरिरहेका धाराहरू देखिन्थे। हामीसँग एउटा मात्र पानीको बोतल थियो। त्यो पनि जोगाउँदै पिउनुपरेको थियो। त्यसबेला थाहा भयो- यात्रामा पानीको एउटा थोपा पनि कति मूल्यवान् हुन्छ।
लगभग पाँच घण्टाको कठिन पैदलयात्रापछि हामी माम्चे पुगेका थियौँ। उकालोको थाप्लोमा बसेको त्यो सानो होटल स्वर्गको आँखीझ्यालझैँ लाग्यो। होटलका मालिक गोपीराम घलेले हाम्रो स्वागत गरे। उनीसँग कुरा गर्दै गर्दा वरिपरिका हिमालहरू बादलको पर्दाबाट बिस्तारै निस्कन थाले। बौद्ध हिमाल, हिमचुली र परपर गणेश हिमालले दन्तलहर देखाएर मुस्कुराएझैँ लाग्यो। “पहिला चार–पाँच फिट हिउँ पथ्र्यो,” गोपीरामले हातले हिउँ पर्ने ठाउँलाई देखाउँदै भने, “चार वर्ष भयो, एक थोपो हिउँ परेको छैन यहाँ।”
उनको आवाजमा मौसम परिवर्तनको चिन्ता मिसिएको थियो। जेठको तातो महिना तर माम्चेको चिसोले चितवनको तातो हावा सम्झाइरहेको थियो। ‘चितवन पनि माम्चे भैदिए’- हाम्रा मनमा एउटा असम्भव तर्कले सोइसालो खेलिरह्यो। अनेकन तर्क मनमा सजाउँदै साँझ ६ बजेतिर हामी लाप्राक पुग्यौँ।
माथिबाट हेर्दा लाप्राकको नयाँ बस्ती चित्रकारले कोरेको बस्तीझैँ देखिन्थ्यो। एकनासका घरहरूका व्यवस्थित पङ्क्तिहरू, हरिया डाँडाहरू। भूकम्प पछि लाप्राकबासीलाई बस्न एन.आर.एन.का तत्कालीन अध्यक्ष शेष घलेहरूको योजनामा बनेको नयाँ गाउँ तर गाउँभित्र पस्दा अर्को कथा भेटियो। शेष घले अध्यक्ष हुँदा ती घरहरूका छानाहरूमा स्थानीय हावापानी सुहाउँदो जस्तापाता राख्ने योजना थियो रे! तर जब अध्यक्षमा भुवन भट्ट आए तब जस्तापाताका सट्टा कोरियन प्रविधिका छाना हालिएछ। स्थानीय वातावरण नमिलाई हालिएका ती छानाहरूमा आज जताततै प्वाल परेका छन्। वस्तीका धेरै घरका आँगनहरू झारले ढाकिएका छन् भने झ्यालढोकाहरू उप्किएका छन्। विस्तारै खण्डहरको मेसोमा छ नयाँ वस्ती। मैले त्यो नयाँ वस्ती बाँच्ने एउटा मात्र आधार भेट्टाएको छु - पर्यटकहरूमा उल्लेख्य वृद्धि भए नयाँवस्तीको अधमरो जीवन सुध्रनेछ। अन्यथा यो वस्तीको भविष्य उतिसाह्राे सुखद् देखिँदैन।
६०३ घर रहेको गाउँमा अहिले जम्माजम्मी दुई सय जति परिवार मात्र बसिरहेका रहेछन्। गाउँलेहरूले आआफ्ना भागका घरहरू लिएका छन्। घरहरूको स्वामित्व लिए पनि धेरैजसोले पुरानो लाप्राक छोडेका छैनन्। कारण प्रष्ट छ - खेतीपाती तल पुरानो लाप्राकमै छ, सहरमा जस्तो टुपुक्क एउटा घर लिएर बस्न कहाँ पो सकिन्छ र यो हिमाली टाकुराहरूमा? भूकम्पपछि कोहीकोही मानिस सहर पसेका छन्। एकनासका घरहरू छन्, मान्छे कम छन्। एकदम मौन छ गाउँ। गाउँको मौनता कहिलेकाहीँ सुन्दरभन्दा बढी उदास र उराठ लाग्छ।
स्थानीय होमस्टे सञ्चालिका ज्योति गुरुङले पुरानो र नयाँ लाप्राकका किस्सा सुनाइन् - विसं १९९०, २०५६ र २०७२ का भूकम्पमा पनि लाप्राकको यो पुरानो बस्तीको जमिन चिरिएको थियो। पुरानो लाप्राक नयाँभन्दा तुलनात्मक रूपमा तातो छ। लाप्राकको नयाँ बस्तीमा आलु सितिमिति कुहिन्न, चामल जति समय राखे पनि बिग्रन्न। बस्न त राम्रो छ तर के गर्नु यहाँ बसेर गुजारा हुन्न। तलको लाप्राकमा केही वर्षपछि घाँस पलाएर चिरा पुरिए तर भूगर्भविद्हरूका दृष्टिमा यो रेड जोन मानिन्छ। हामी ज्योति गुरुङका यो कुरा सुनेर एकदम स्तब्ध भएका छौं, ‘जुनसुकै बेला पनि पुरानो लाप्राकले एउटा कसैले पनि सुन्न नचाहेको दुःखद् खबर ल्याउनेछ।’
रात पर्न थालेको थियो। लाप्राकको चिसो हावामा उभिएर हामीले गाउँतिर हेर्यौं। भूकम्पले भत्काएका लाप्राकका घरहरू पुनर्निर्माणले फेरि उठायो तर गाउँले गुमाएका मान्छेहरू, बसाइँ सरेका परिवार र परम्पारागत जीवनशैली कहाँ पो फर्काउन सकिन्थ्यो र! त्यो रात ज्योति गुरुङको होमस्टेमा लाप्राकको मौनताभित्र हामीले भूकम्पको सबैभन्दा गहिरो पराकम्पन सुन्यौँ - स्मृतिको पराकम्पन।
+++
बिहान लाप्राकको आकाशलाई घना बादलले ढाकेको थियो। पानी छिट्याउन लागेको थियो। रातको चिसोले ताजा राखेको लाप्राकलाई यो पानीले अझ फुर्तिलो बनाएको थियो। पहाडका काखकाखमा बादलका सेता टुक्राहरू अडेस लागेर बसेका थिए। बाटाबाट देखिने तलका बादलका थुप्रो देख्दा लाग्थ्यो – बादलु आकाशले हामीलाई मोहनी लगाइरहेछ। टाढाका डाँडाहरू स्नानागारबाट निस्किएकी नवयौवनाझैँ देखिएका थिए। गाउँलाई फेरि एकपटक नियाल्दा लाग्यो – प्रकृतिको यहाँ कुनै कञ्जुस्याइँ छैन। कञ्जुस्याइँ त अवसरले गरेको छ। त्यसैले होला, घरहरू छन् तर मानिसहरूको अचाक्ली न्यूनता छ त्यहाँ।
हाम्रा साथी बोधनाथ ट्रेकिङ हिँडिरहन्छन् तर यस किसिमको ट्रेकिङ अनुभव भने उनमा कम छ। यो ट्रेकिङले उनलाई कैँडा लागेको अनुमान गर्न सकिन्थ्यो। धेरै हिँड्दा शरीरको थकाइ र नसाको तन्काइले पिँडौला र तिघ्रामा पर्ने सुम्लो हो कैँडा। एकातिर ट्रेकिङको रहर अर्कातिर साथीको पिँडुला र तिघ्राको कैँडा। अनि त्यो रुटमा दिनको एउटा मात्र चल्ने गाडी हामी बिउँझनु अघि नै बाटो लागिसकेको थियो। अब सके पनि नसके पनि हिँडेरै बारपाक पुग्नु छ – बोधनाथले पनि कैँडा बिर्सेर मन बनाइसकेका थिए। एक घण्टा जति हिँडेपछि एउटा बारपाक झर्ने जीप भेटियो। हामी त्यसैमा झर्यौँ बारपाक। चालक थिए – दिलबहादुर घले। बाटाभरि उनले सुनाएका अतीत कथाहरूले हाम्रो यात्रामा अर्को आयाम थप्यो। “घलेहरू पहिले बारपाक र त्यस वरपरका राजा थिए” – उनले भने – “द्रव्य शाहदेखि राम शाहसम्मका शाह राजाहरूले घलेहरूको सर्वनाश गरे। त्यस सर्वनाशबाट तितरबितर भएका घलेहरू कोही गुरुङ बस्तीमा मिसिए, कोही मगर गाउँमा पुगे र कोही तामाङ बस्तीमा पसे। गुरुङ बस्तीमा पस्नेहरू गुरुङ घले, मगर बस्तीमा पस्नेहरू मगर घले अनि तामाङ बस्तीमा पस्ने तामाङ घले कहलिए।”
उनले फेरि थपे, “अहिलेचाहिँ फेरि घलेहरूले आफ्नो पहिचान सम्झन थालेका छन्। आफ्नो थरमा घले नै लेख्न थालेका छन्।” उनको स्वरमा आफ्नो इतिहासप्रतिको गर्व मिसिएको थियो।
बारपाकमा करिब सत्र सय घर रहेको दिलबहादुरले बताए। पहिले ढुङ्गाका छाना भएका घरहरू गाउँभरि फैलिएका थिए। अहिले तिनको ठाउँ कङ्कृटी घरहरूले लिएका छन्। “घर त बने, मान्छेचाहिँ छैनन् तर चाडबाडमा भने बारपारमा गुल्जार आउँछ। सबै सहरबजारतिर पसेकाहरू फर्किएपछि बारपाकमा रमाइलो भित्रिन्छ। भूकम्पपछि यहाँ लाहुरेहरूले कंक्रिटका घर बनाए। लाहुरेहरूको होडबाजीले गर्दा बारपाकमा परम्परागत घरहरू अब लगभग समाप्त भएका छन्।” दिलबहादुरका भनाइले बारपाकको समकालीन यथार्थको फ्ल्यासब्याक भएको छ।
दिउँसो बारपाक फर्किएपछि बाह्र किलो झर्ने बसको प्रतीक्षामा बस्यौँ। गाउँ ठूलो थियो, तर चहलपहल कम। युवाहरू पढ्न, जागिर खान र व्यवसाय गर्न सहर पसेका थिए। पहाडका गाउँहरू अहिले वृद्धवृद्धा र सम्झनाहरूको जिम्मामा छोडिएका जस्ता लाग्थे।
तीनवटा बस झरिसकेका थिए तल। हामी भने बाह्र किलो जाने बसमा ओर्लियौँ। बाटाभरि गीत बज्यो - “गोरखा घर काठमाडौं डेरा, मेरो माया ओइ हाँसिद्यौ एकफेरा।” गीतले गाउँको वर्तमानलाई नै बयान गरिरहेको जस्तो लाग्यो। घर गोरखामा, डेरा काठमाडौंमा – यो आज हजारौँ हजार पहाडी परिवारको नियति हो।
+++
बारपाकबाट ओर्लिँदाओलिँदै योजना बदलियो। हामी आजै बाह्रकिलो नझर्ने भयौँ। पालुङटारमा रात बिताउने योजनामा हामी मसानेठाँटीमा ओर्लियौँ। ओर्लिएपछिको हाम्रो अर्को गन्तव्य थियो पालुङटार हुँदै लिगलिगकोट। पहिलोपटक पालुङटार नाम सुन्नासाथ मेरो मन मकवानपुरको पालुङतिर पुगेको थियो। नाम एउटै भए पनि भूगोल फरक थियो। हामीसँगै पालुङटार जाने एकजना स्थानीयले भने, “पालुङटार ठूलो छ, जग्गाजमीनको भाउ पनि काठमाडौंँभन्दा कम छैन।”
बसबाट ओर्लिनासाथ ट्याक्सी लिएर हामी लिगलिगकोटतिर लाग्यौँ। चालक थिए – विनोद परियार। उनी कम बोल्थे। सोधेको कुरा मात्र उत्तर दिन्थे। चालकले सबारीसाधन चलाउँदा धेरै नबोलेकै ठिक हो तर यात्रामा कहिलेकाहीँ धेरै बोल्ने चालक वरदान साबित हुन्छन्। उनीहरूबाट बाटो, भूगोल, समाज र इतिहासका असंख्य सूचना प्राप्त हुन्छन्। विनोद भने गोप्य विभागका इमान्दार जागिरेजस्ता देखिए।
लिगलिगकोटतिर उक्लँदै जाँदा तल चेपे नदी चम्किरहेको देखिन्थ्यो। यही नदीले गोरखा र लमजुङलाई छुट्याउँछ। किंवदन्ती अनुसार एकाघरका दाजुभाइ द्रव्य शाह र नरहरि शाहबीचको सीमाविवाद अन्त्य गर्न उनीहरूकी आमाले दूधपोखरीबाट दूध बगाएर सीमा निर्धारण गरिदिएकी थिइन्। त्यसैले कतिपयले चेपेलाई आमाको दूधले कोरिएको सीमारेखा पनि भन्छन्। पौराणिक नाम चम्पावती रहेको चेपे नदी बौद्ध हिमालदेखि राइनासटारको पुछारसम्म पुगी मस्याङ्दीमा मिसिन्छ। यसले दुधपोखरीको निकाससमेत बटुल्दै पुर्याएको छ मर्स्याङ्दीमा।
लिगलिगकोटमा उभिएर चारैतिर नियाल्दा इतिहास अचानक वर्तमानमा ठिङ्ग उभिएजस्तो लाग्यो। थाप्लोमा विशाल आकारको नेपाली झन्डा लहराइरहेको थियो। यही ठाउँबाट द्रव्य शाहको राज्यारोहणको कथा सुरु भएको थियो। दौड जितेर राजा चुनिने परम्पराको ऐतिहासिक कथा हामीले पुस्तकमा पढेका थियौँ। त्यही कथाको भूगोलमा उभिँदा इतिहास कागजको अक्षर नभएर सास फेर्ने वस्तुजस्तो लाग्यो।
भोलिपल्ट हामी चेपेघाट पनि पुग्यौँ। चेपे नदी र मस्र्याङ्दीको सङ्गम हो चेपेघाट। त्यहाँ मानिसहरू पोलिन्छन्। चेपेघाट नजिकै एउटा दौडद्वार बनाइएको छ। त्यहाँ चेपेघाटको त्यही दौडद्वार हुँदै आज पनि हरेक वर्ष दसैँमा लिगलिगसम्मको दौड प्रतियोगिताको आयोजना गरिन्छ रे ! जित्नेले श्रीपेचको प्रतिकृति पहिरिन पाउँछ। यो इतिहासको संझना हो। इतिहास संझिएर वर्तमानको खाका कोर्छन् लिगलिगकोट र आसपासका मानिसहरू।
चेपेघाट पुगेर फर्कने क्रममा पालुङटार लामागाउँको चियापसलमा भेटिएका नव्बे वर्षका हर्कबहादुर तामाङले पुरानो समयको कथा सुनाए। उनी चौध दिन लगाएर नुनका भारी बोकी भच्चेक पुगेको सम्झना गर्दै थिए। आज मोटर चढेर केही घण्टामा पुगिने ठाउँमा कहिल्यै नटुंगिने जस्तो लाग्ने पैदलयात्रा गर्थे मानिसहरू। हामीले इतिहास पढेका थियौँ, हर्कबहादुरहरू हृदयभरि इतिहास सँगालेर बाँचेका थिए। डाँडाको टुप्पोमा उभिएर चारैतिर हेर्दा लाग्यो – समयले बाटोहरू छोट्याएको छ, तर मानिसहरूलाई एकअर्काबाट टाढा बनाएको छ। बारपाक र लाप्राकमा भूकम्पको स्मृति भेटिएको थियो भने लिगलिगकोट र त्यस वरपर नेपाल राज्य निर्माणको स्मृति फेला परेको थियो। एउटा भूगोलले विनाशको कथा सुनाउँथ्यो भने अर्कोले उदयको। लिगलिगकोटको हावामा इतिहासको सुगन्ध थियो।
+++
यात्राले विस्तारै मोडमाथि मोड थपिरहेथ्यो। हामी इतिहास, समाज र भूगोलका संझना र दृश्यहरू आआफ्ना हृदयमा सजाएर हिँडिरह्यौँ।
पालुङटारबाट गोरखा बजार जाने बस बिहान ८ः३० बजे हिँड्यो। त्यो छुटेको भए बेलुकी चार बजे मात्रै अर्को बस पाइने रहेछ। यो साधारण बस मात्र होइन, गाउँ–बजार जोड्ने एउटा जीवनरेखा रहेछ। यात्रुहरू कसैले गेडागुडीका ससाना पोका, कसैले पैसाहरू, कसैले एक–दुई वटा मुला, कसैले दूधका प्याकेट, ड्राइभरलाई जिम्मा लगाउँदै थिए। बाटाबाटामा सामान कुरेर बसेका मानिससम्म हातसार गर्दै पुर्याइने सामानहरू धेरै थिए। त्यहाँ गुन्द्रुक थिए, भटमास थिए। गुन्द्रुक र भटमाससँग थिए – परम्पराका स्वादिला आयामहरू। मैले ती पोकाहरूमा गाउँलेहरूका भविष्यका पुस्तासँगका आशा देखेँ, माया देखेँ र देखेँ गाउँका रसिला आत्माहरू। गोरखा बजारसम्मका सम्बन्धित मानिसले आएर बुझ्दा रहेछन् ती सामानहरू। हुन त आजकल पैसा पठाउन मोबाइल बैङ्किङ पनि छ तर ती ग्राम्य सन्सारमा एकाधका पहुँचमा भए पनि यी कुराहरूले अधिकांशमा प्रवेश नै पाएका थिएनन्। समय आधुनिक थियो तर सबै कुराहरू स्वभाविक रूपमै चलिरहेका थिए। ड्राइभर हाँस्दै भन्थे, “फ्री सर्भिस हजुर फ्री सर्भिस!” हामीले ठान्यौँ – यो बस मात्र होइन, यो त यात्रुसँगै विश्वास पनि बोकेर हिँड्ने गाउँको सामाजिक संस्था हो।
बाटामा हामी अगाडि गुडिरहेको एउटा टिपरको पछाडि लेखिएको थियो, “ड्याड ममको आशीर्वाद।” त्यो देखेर रामेश्वरले व्यङ्ग्य र आक्रोशको भाषा बोले, “तेस्का बाजे आमाबाबु भन्न छाडेर!” रामेश्वरको यो आक्रोशमा आफ्नो भाषाप्रति प्रयोगकर्ताहरूमा बढ्दै गएको चरम लापरबाही चिन्ता बनी निम्ठिएर बगिरहेको थियो।
गोरखा बजार र वरपरका वातावरण मेरा लागि पहिलो भए पनि रामेश्वर र बोधनाथका लागि बिराना थिएनन्। त्यस दिनको बिहानी खाना गोरखा दरबार सङ्ग्रहालयको आडैको थकाली होटलमा पुगेर खाइयो। नाम थकाली तर चलाएका नेवारले। हामीले होटेलबाटै देख्यौँ – गोरखा दरबार सङ्ग्रहालयको प्रवेशद्वारमा पृथ्वीनारायण शाहको भेषभूषामा सजिएका एक व्यक्ति उभिएका थिए। तिनका हातमा एउटा नेपाली झन्डा थियो। कसैले फोटो खिच्ने सङ्केत गरेपछि उनी तुरुन्त उठ्थे, झन्डा हातमा थमाइदिन्थे, पृथ्वीकै पोजमा दाहिने हातको चोरी औँलो ठड्याउँथे, फोटो खिचिएपछि फेरि झन्डा फिर्ता लिइहाल्थे। पैसा मागेको वा कसैले दिएको भने देखिएन। हामीलाई त्यो एउटा चटकभन्दा बढी केही लागेन। यसैले त्यो अवसरलाई हामीले उपयोग गरेनौँ। ती मान्छे तलबी हुन् या स्वयंसेवक ? या आफ्नै लहडका लहडी ? हामीले सोध्नुपर्ने थियो तर सोधेनौँ।
सङ्ग्रहालय व्यवस्थित नै लाग्यो। सजाएर राखिएका गोरखाली शाह राजाहरूको परिचय, तैलचित्र, पृथ्वीनारायणको लामो जन्मकुण्डली, दिव्योपदेशको पुरानो लिखित दस्तावेज, महत्वपूर्ण लालमोहर एवम् सन्धिपत्रका लिखित स्वरूपहरू, पुराना हातहतियारका नमुनाहरू, कलात्मक भाँडावर्तन, बाजागाजाहरू आदिले सङ्गहालयको शोभा बढाइरहेको थियो। जातजातिहरूका सुन्दर झाँकीहरूले नेपाल पृथ्वीनारायण एक्लैले आर्जेको नभई सबै जातजातिका साझा प्रयासले बनेको हो भन्ने भावलाई स्पष्ट किसिमले बोलिरहेका थिए। ती हाम्रा गर्विला र दर्बिला इतिहास थिए।
त्यसपछि हामी ट्याक्सीमा चढेर माथि पुग्यौँ। डाँडाको थाप्लामै रहेछ गोरखनाथ र गोरखकालीको मन्दिर। हामी पुग्दा गोरखनाथको मन्दिरमा रोट चढाउने समय परेछ। मलमास भएकाले भीड थिएन। शान्तभावमा मसिनोसँग केलाएर हेर्ने अवसर मिल्यो। डमरु बजे, घण्ट बजे र बजे शङ्खका निनाद। ती निनादी तरङ्गहरूमा हामीले सुन्यौँ – पुराना समयका प्रतिध्वनिहरू जहाँ पृथ्वीनारायण गोरखबाबाका आडैमा बसेर लिइरहेथे नेपाललाई एउटै मालामा उन्ने आशीर्वाद – त्यही दिइरहेथे गोरखनाथले मुखमा राखेर उकलेका दही पृथ्वीका अँजुलीमा, उकलेका दही खान नसकेर पोखिएथे भुइँमा ढल्पलिएर अँजुली। सधैँ चढाइने रहेछ त्यहाँ रोट, सधैँ बज्दा रहेछन् डमरु, घण्ट र शङ्खका पवित्र ध्वनिहरू। हामीले प्रसाद स्वरूप रोट र विभूति लियौँ पण्डितसँग। प्रसाद दिँदै गर्दा सबैको नालीबेली सोध्ने पण्डितको काइदामा रमायौँ। रामेश्वर भन्दैथे – यी देख्दा सामान्य साधुजस्ता देखिए पनि विद्वान् छन् तर तिनको विद्वताको कुनै नापो लिनतिर लागेनौं हामी। पढेका इतिहासलाई हेर्यौं, काली र गोरखनाथलाई हार्दिक भावले दर्शन गयौ, प्रकृति चियायौँ, भौगोलिक जादुलाई नियाल्यौँ र इतिहास र आस्थाको संगममा केहीबेर बिताएर फेरि यात्रालाई अघि बढायौँ।
+++
हिँड्दा बारपाक र लाप्राक भनेर हिँडिएका हाम्रा पाइलाहरूका कुनै योजनाबद्ध धर्को थिएन। हामी जहाँ पुग्यौँ त्यहीबाट धर्काहरू बनायौँ। बिनायोजनाको हिँडाइ पनि रमाइलै बन्दोरहेछ यात्रामा। हामीमा एकाएक रहर बुनियो आरुघाटको। आरुघाट बजार अबका केही वर्षहरूमा रहन्न – बुढीगण्डकीको आयोजनाको पानीमा डुब्दै छ रे! यसले पानीमा जलसमाधि लिनुअघि नै यसलाई हेर्ने लालसाले हामीमा आरुघाटको रहर बुनिएको थियो। अनि पशुपतिको जात्रा सिद्राको व्यापार – आरुघाटपारि सल्यानटारतिर नृसिंंहधाममा मेला पनि छ रे ! जताततैबाट ओइरिएका छन् रे मानिसहरू ! मेसो मिले पसौँला पनि। उपादेयताका पोकापुन्तुराहरू यत्ति थिए हामीसँग आरुघाट यात्राको।
दिउँसो ३ः३० बजे आरुघाटतर्फ जाने बस चढ्यौँ। गाडीमै स्थानीय वेदप्रसाद लामिछानेसँग भेट भयो। उनले बाटाभरि गाउँठाउँ चिनाउँदै र कथा सुनाउँदै गए। कुराकानीमै यात्रा छोटो लाग्यो। कालोपत्रे बाटो सर्लक्क पारेर कोरिएको युवतीको चुल्ठोजस्तो रहेछ। डाँडैडाँडा बस बगिरहेथ्यो बाटामा। गाउँका बालबालिका खेलिरहेका देखिन्थे। बाटाभरि मुसलमानी टोपी लगाएका मानिसहरू देखिए। एउटा मदरसा पनि भेटियो। लामिछानेले जानकारी दिए, “गोरखाका आहाले भञ्ज्याङ, डेरागाउँ र झिँगटे आसपास चुरौटे मुसलमान बसोबास गर्छन्। दूरदर्शी राजा पृथ्वीनारायण शाहले नेपाली महिलाका लागि चुरा बनाउन र हतियार निर्माण गर्न लखनउतिरबाट उनीहरूलाई ल्याएका भन्ने जनविश्वास छ।”
बाटामा बगुवा गाउँ आयो। बगुवा रामेश्वरको पुर्ख्याैली गाउँ। गाउँ देख्नेबित्तिकै उनको अनुहार अनि भावभङ्गीमा अनौठो चमक फैलियो। जन्मभूमिसँगको सम्बन्ध जन्मस्थलसँग मात्र हुँदैन, पुर्खाको माटोसँग पनि हुन्छ भन्ने अनुभूति त्यही क्षण भयो। उनी स्वयं भने चितवनको पदमपुरमा जन्मिएका हुन्। त्यही प्रसङ्गमा नजिकैको पोख्रेल गाउँको कुरा निस्कियो। त्यहीँ नजिकै रहेछ पोख्रेल गाउँ – उनै ख्यातिनामा प्रवाचक पण्डित नारायण पोखरेलको गाउँ। आज उनी जीवित छैनन्। कालगतिले मरेका होइनन् उनी। उनको हत्या कुन समूहले गर्यो, त्यो सबैलाई लगभग अड्कल भएकै कुरा हो। समय फेरिएको छ। बाबुले धर्म र सेवाका रूपमा गरेको पण्डित्याइँलाई छोराले व्यवसायमा रूपान्तरण गरेका छन्। पण्डित्याइँ गर्नु र त्यसलाई केवल व्यापार बनाउनु एउटै कुरा होइन।
आरुघाट बजारको बिजुली चोकमा ओर्लन वेदप्रसाद लामिछानेले पहिले नै भनेका थिए। हामी उनकै सल्लाहअनुसार त्यहीँ झर्याैं।
आरुघाट डुबान क्षेत्रमा पर्छ। बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाले यहाँका धेरै घरधनीलाई मुआब्जा दिइसकेको छ। धेरैले त्यो रकम लिएर सुविधासम्पन्न सहरतिर बसाइँ सरेका छन्। बजारका घरहरू अहिले भाडामा चलिरहेका छन् धिकिरधिकिर धिकिरधिकिर। आरुघाटको कथा अन्य ठाउँको भन्दा एकदम फरक छ। यहाँ विकासको होइन, विस्थापनको पट्यारलाग्दो पर्खाइ छ। डुब्ने निश्चित भइसकेको ठाउँमा नयाँ लगानी कसले गरोस्? अस्ताउँदै गरेको सूर्यलाई कसैले अर्घ दिँदैन। त्यसैले आरुघाटको जीवन अहिले अधमरो जस्तो लाग्छ। बजारमाथि रहेको आरुटार भने बिस्तारै भविष्यको केन्द्र बन्ने सङ्केत गर्दै छ। सम्भवतः अब कुनै दिन आरुघाटको स्थान त्यही आरुटारले लिनुपर्नेछ। आरुघाटको यो नियति देख्दा मन भारी भयो तर विडम्बना पनि कस्तो! आफैँ डुबेर पनि यही आरुघाटले उत्पादन गर्ने विद्युतले नेपालका असंख्य घर उज्यालो बनाउनेछ। एउटा ठाउँको अस्तित्व अन्त्य हुँदै गर्दा हजारौँ ठाउँको उज्यालो सुरु हुनेछ। यही दुःख र आशाको पीङमा मच्चिँदामच्चिँदै दिन ढल्कियो। त्यो रात त्यहीँ मुनिको बुढी गण्डकीको सुसेली सुनेर बितायौँ मनभरि एउटा निराशा र कौतुहलको भारी बोक्दै।
+++
आज २०८३ जेठ ३० गते यात्रा समापनको दिन। हामी फर्किँदै छौँ – आरुघाटबाट धादिङबेसी हुँदै चितवन।
सल्यानटारमा लाग्ने नरसिंहधामको मेला हेरेर जाने इच्छा थियो तर यात्रामा इच्छा र संयोग सधैँ एकै ठाउँमा भेटिँदैनन्। यसपालि पनि त्यस्तै भयो।
धादिङ मेरो जन्मजिल्ला भए पनि आजभन्दा अघि सल्यानटार पुग्ने अवसर जुरेको थिएन। धादिङबाट बसाइँ सरेर चितवन ओर्लिएको पनि तीन दशक बितिसक्यो। सल्यानटार नेपालको सबैभन्दा ठूलो टार हो भन्ने कुरा भने बाल्यकालदेखि नै सुन्दै आएको थिएँ। त्यससँग जोडिएको यो लोकगीत बाटाभरि कानमा गुञ्जिरहे – ‘पालुङटारको गोरुले सल्यानटारको बीउ खायो, कान्छी ल्याउँदा जेठी जिल्खायो।’ मेरा कर्णकुहरमा ‘गोरखामा छोरी नदिनु, सल्यानटारमा गोरु नदिनु’ भन्ने उखान पनि बजे।
बसको झ्यालबाट फैलिएको सल्यानटार हेर्दा यी लोकगीत र उखान एकाएक जीवित भएर आएका थिए मानसपटलमा। रातो माटोको विशाल फाँट। तल गहिराइमा बुढीगण्डकी आफ्नै वेगमा बगिरहेकी छिन्। पहिले सल्यानटारको परिचय पानीको अभावसँग जोडिन्थ्यो। मैले पनि त्यही कुरा गर्दा बसचालकले मेरो कुरा सच्याए, “अहिले त टारमा पानी पुगेको छ।“ उनको कुरा सही थियो तर यति विशाल टारको आफ्नै कुनै ठुलो मूलमुहान छैन, भए पनि सीमित। बाहिरबाट ल्याइएको सीमित पानीले सम्पूर्ण फाँटलाई सिञ्चित गर्न सक्ने अवस्था कहाँ छ र! तर सम्भावनाको ढोका भने खुला छ। टारको फेदीमै बुढीगण्डकी बगिरहेकी छिन्। जलाशययुक्त जलविद्युत् आयोजना सम्पन्न भएपछि यही पानीलाई योजनाबद्ध रूपमा उपयोग गर्न सकिए सल्यानटारको भविष्य अझ हराभरा बन्न सक्छ। अहिलेको रातो माटोभित्र भोलिको हरियो सपना छोपिएको जस्तो लाग्यो।
केही पर नेत्रावती आएर बुढीगण्डकीमा मिसिन्छ। धादिङको गणेश हिमालबाट उत्पत्ति भएको, पहिले आँखुखोला भनेर चिनिने नेत्रावतीसँग अनेक धार्मिक विश्वास र स्थानीय स्मृतिहरू गाँसिएका छन्। यही नदीले वारिपट्टिको त्रिपुरासुन्दरी र पारिपट्टिको टारीबेसीलाई छुट्याएको छ। दुई नदीको संगम नजिकै रहेको नरसिंहधाम पुग्ने चाहना भने यसपालि अधुरै रह्यो।
ठीक ९ः१५ बजे धादिङबेँसी पुग्यौँ। धादिङ पुगेपछि मन अनायासै नोस्टाल्जिक बन्यो। कतिपय ठाउँ यस्ता हुन्छन् जहाँ मेटेर नमेटिने स्मृतिहरू बसिरहेका हुन्छन्। धादिङ मेरो स्मृतिपटलबाट कहिल्यै मेटिने छैन।
धादिङको कालीदह धेरै प्रख्यात छ। स्थानीय जीवनशैलीका ती लाइफलाइन हुन्। होटलहरू छन् त्यहाँ। रोड खुलेपछि बसबाट आवतजावत गर्नेहरूका लागि खाजाखानाका निम्ति खुलेका हुन् होटलहरू। कालीदहमा खाना खान बस रोकियो। रामेश्वरले नाक खुम्च्याउँदै भने, “यो लाइनवाला होटलमा के खानू!“ तर हामी भित्र पस्यौँ। थपीथपी खाना खायौँ। खाना सकिँदासम्म रामेश्वरको अनुहारमै सन्तुष्टि झल्किसकेको थियो। मैले खानाअघि रामेश्वरलाई “यहाँको खाना मीठो हुन्छ” भन्न सकेको थिइनँ किनभने यो होटलमा बसेर खाना खाएको कम्तीमा पैंतीस वर्ष बितिसकेको थियो। यति लामो अन्तरालपछि पनि त्यही होटल, त्यही सञ्चालक भेटिन्छन् भन्ने मैले कल्पना समेत गरेको थिइनँ। २०३४ सालदेखि होटल चलाउँदै आएका ती वृद्धले मुस्कुराउँदै भने, “अब त सक्दिनँ जस्तो लाग्छ तर म छोड्छु भन्दा गाडीवालाहरू भन्छन्, ‘तपाईंले होटल छोड्नुभयो भने हामी कालीदहमा गाडी रोक्दैनौँ।’
मैले पुरानो सम्झना सुनाएँ, “पहिले तपाईंको होटलमा मोटामोटा सेलरोटी सजाएर राख्नुहुन्थ्यो। यात्रुहरू यहाँको सेलरोटी खानकै लागि पर्खिन्थे।“ मेरो कुरा सुन्नासाथ उनले उज्यालो अनुहार बनाएर भने, “तपाईंले अझै सम्झिनुभएको रहेछ। अब हिजोजस्तो कहाँ छ र! तपाईंहरूजस्ता पुराना मान्छेले मात्रै दही, दूध र सेलरोटी खोज्नुहुन्छ। अहिलेका युवाहरूको रोजाइ अर्कै भइसक्यो।”
यति भन्दै उनले छेउको टेबलतिर देखाए। केही युवाहरू दिनको आरम्भमा नै हातमा इनर्जी ड्रिंक समातेर गफिइरहेका थिए। त्यस क्षण लाग्यो – यात्राका बाटा उस्तै रहन्छन्, तर यात्रु बदलिन्छन्। होटल उही हुन सक्छ, स्वाद पनि उस्तै हुन सक्छ, तर समयले मानिसको रोजाइ फेरिदिन्छ। यस्तै यस्तै स्मृतिहरूलाई हृदयका कन्तुरहरूमा सजाउँदै हामी बेलुकीपख चितवन फर्कियौँ।
प्रकाशित: १७ श्रावण २०८३ ०७:३० आइतबार



