कला/साहित्य

बक्स अफिसमा कमजोर ‘कार्की साईला’ र ‘माया बस्छ की के हो!’

असोज २ गतेदेखि एकसाथ तीन नयाँ नेपाली चलचित्र सिनेमाघरमा प्रदर्शनमा आए- ‘कार्की साईला’, ‘माया बस्छ की के हो!’ र ‘झिंगेदाउ २’।

सोमबार चलचित्र विकास बोर्ड सिनेपाले यी चलचित्रहरूको बक्स अफिस विवरण सार्वजनिक गरेको छ। यी तीन चलचित्र मध्ये जितु नेपालको मुख्य भूमिका रहेको चलचित्र ‘कार्की साईला’ र राजु अधिकारीको निर्देशन रहेको चलचित्र ‘माया बस्छ की के हो!’ बक्स अफिसमा कमजोर देखिएको छ।  

प्रेम कथामा आधारित चलचित्र ‘माया बस्छ की के हो!’ ले आइतबारसम्म २३ हजार छ सय रुपैयाँको कलेक्सन गरेको छ भने यसलाई हेर्न ९२ जना दर्शक पुगेका छन्। यसमा अध्ययन तथा रोजगारीका लागि विदेशिएका युवायुवतीको प्रेम सम्बन्ध, समर्पण र मतभेदको कथा समावेश छ। ‘माया बस्छ की के हो!’ मा सोनाल र कस्मताका साथमा नरेन्द्र थापा, उपेन्द्र थापा, बेनी ढुंगाना, सब्बु पौडेल, तारा शर्मा, हरिकृष्ण कार्की, तेजेन्द्र कँडेल, ऋचा थापा, खिन्नबहादुर भण्डारीको अभिनय रहेको छ।

अर्को तर्फ राजेन्द्र बस्नेतको निर्देशनमा तयार भएको चलचित्र ‘कार्की साईला’ ले पाँच लाख ७८ हजार रुपैयाँको कलेक्सन गरेको छ। भने, एक हजार छ सय ९६ वटा टिकेट बिक्री भएको छ। भरियाको काम गर्दै आएका कार्की साँईलाको जीवनमा आइपर्ने संघर्ष, प्रेम, विवाह, सन्तान र गाउँले समाजको हेपाहा प्रवृत्तिलाई चलचित्रले आफ्नो कथावस्तु बनाएको छ।

‘झिँगेदाउ २’ ले प्रदर्शनको दशौं दिन आइतबारसम्म एक करोड माथिको कलेक्सन गरेको छ। यसले देशव्यापी १ करोड ३४ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ। सोही अवधिसम्म यो चलचित्रलाई ४३ हजार ७८६ जना दर्शकले हेरेका छन्। यसले भने आफ्नो सुखद सुरुवात गरेको संकेत दिएको छ।

प्रकाशित: १२ आश्विन २०८३ १३:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App