कला/संस्कृति

जतिसुकै धेरै धनसम्पत्ति र पदप्रतिष्ठा भए पनि,आखिरमा निर्वस्त्र भई चिताग्निमा जल्नुपर्ने रहेछ!

मुक्तक

१) मुक्तक

समय र परिस्थितिको दास भई चल्नुपर्ने रहेछ,

अस्ताउन लागेको घामझैं एकदिन ढल्नुपर्ने रहेछ।

जतिसुकै धेरै धनसम्पत्ति र पदप्रतिष्ठा भए पनि,

आखिरमा निर्वस्त्र भई चिताग्निमा जल्नुपर्ने रहेछ।

२) मुक्तक

बस्नु हुन्न कदापि हामी आगो अनि पानी भएर,

सबैको नजरमा बस्नुपर्छ आँखाको नानी भएर।

जतिन्जेल बाँच्छौं आपसमा सम्मानका साथ बसौं,

सकिन्छ हामी सब‌ैक‍ो जीवनचक्र खरानी भएर।

३) मुक्तक

दिनहुँ नारीको अस्मिता लुटिएका घटना धेरै छन्,

गम्भीर घरेलु हिंसामा परी छुटिएका घटना धेरै छन्।

महिला हिंसाको विरुद्धमा बोल्ने नारीहरू नै यहाँ,

आफ्नै परिवारभित्र निर्धात कुटिएका घटना धेरै छन्।

४) मुक्तक

फर्फराउने झण्डा लालीगुराँस, डाफे, मुनाल, प्यारो लाग्छ,

छङ्छङ गर्दै झर्ने झरना, खोला नदी अनि ताल प्यारो लाग्छ।

धान, मकै, गहुँ, कोदो विभिन्न जातका अन्नहरू उत्पादन हुने,

गौरवगाथा बोकेको सगरमाथा र मेरो नेपाल प्यारो लाग्छ।

५) मुक्तक

कहिलेसम्म सुन्ने हो हामीले छोरीचेलीको गुहार,

खोजिरहेछन् न्याय सडकमा आएर बारम्बार।

न दिन्छन् न्याय यहाँ न लाउँछन् अपराधी  पत्ता,

पीडितले न्याय पाउन छिट्टै मौन नबसोस् सरकार।

६) मुक्तक 

नौ महिना गर्भमा बसी जन्म लिनु नै एक जित हुन्छ,

बढ्दो उमेर यौवन अवस्थामा कसैसँग प्रीत हुन्छ।

जिन्दगीको उतारचढाव भोग्दै शरीर जान्छ वृद्ध हुँदै,

अजम्बरी को छ र यहाँ सबैको मृत्यु निश्चित हुन्छ।

७) मुक्तक

फाडेर जङ्गल, बाँझो खेत, खोरिया आफ्नै देशमा बसौं,

लगाइ अलैंची,अम्लिसो र चिया आफ्नै देशमा बसौं

मेहनत गरे स्वदेशमै पनि भाग्य चम्किन्छ, साथी हाम्रो,

जानु पर्दैन साउदी, कतार,मलेसिया आफ्नै देशमा बसौं।

८) मुक्तक

जिन्दगीसँगै जिउन गरेका बाचा बिचमा टुट्न सक्छ,

कसलाई थाहा आजक सम्बन्धहरू भोलि छुट्न सक्छ।

समय कुनै छलकपट नगरी सधैं चलिरहन्छ एकनासले,

भित्ता राखिएको घडी बरू टुक्राटुक्रा भएर फुट्न सक्छ।

९) मुक्तक

हाँस्दाहाँस्दै बोल्दाबोल्दै एकछिनमा जिन्दगी सकिन्छ,

हुँदैन रहेछ कसैको पनि आधीनमा जिन्दगी सकिन्छ।

जतिसुकै धनसम्पत्ति अनि ठूल्ठूला महल भए पनि,

एक काँटी सलाई एक गज जमिनमा जिन्दगी सकिन्छ।

१०) मुक्तक

आधा शरीर देखिने लुगा लगाउँछन् यो संस्कृति कि विकृति,

आफ्नो धर्म छाडी अरूमा रमाउँछन् यो संस्कृति कि विकृति।

अरे बलेको दिपलाई त हामीले पूजा गर्नुपर्ने हैन र महोदय,

बलेको दिपलाई फुकेर निभाउँछन् यो संस्कृति कि विकृति।

अनिता भण्डारी  

प्रकाशित: ६ चैत्र २०८१ १४:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App