धर्म/संस्कृति

आस्थाको पर्यटन धाम ‘राजदेवी मन्दिर’

पूर्वपश्चिम राजमार्गको लहान बजारबाट करिब आठ किलोमिटर उत्तर चुरेको काखमा प्रसिद्ध धार्मिक पर्यटकीय स्थल राजदेवी थान (मन्दिर) अवस्थित छ। शक्ति पीठका रूपमा परिचित राजदेवी मन्दिरमा पूजाअर्चना र भाकल गर्नेहरूको पछिल्लो समय घुइँचो लाग्ने गरेको छ। राजदेवी मन्दिर भक्तजनको विश्वास र आस्थाको केन्द्र बन्न थालेपछि विभिन्न जिल्ला र सीमावर्ती भारतबाट समेत धार्मिक पर्यटक आउने गरेका हुन्। तीन वर्षअघि मन्दिर जाने बाटो साँघुरो, जीर्ण र हिलाम्मे हुँदा यात्रीले कठिन र जोखिमपूर्ण यात्रा गर्थे।

अहिले यहाँ पुग्ने पूर्वाधारसहित सडक निर्माण भएपछि स्थानीयको दैनिकी फेरिएको छ। पर्यटकीय सम्भावना बोकेको यस मन्दिरको विकासका लागि स्थानीय तह, प्रदेश र संघीय सरकारले लगानी गरी पूर्वाधार विकासले तीव्रता पाएसँगै यस क्षेत्रमा सकारात्मक परिवर्तन आएको मन्दिर समितिका अध्यक्ष वीरेन्द्र चौधरी बताउँछन्। पक्की नालासहितका सडक स्तरोन्नति र कालोपत्र गरेपछि अहिले मन्दिर आवतजावतमा सहज हुनुका साथै धार्मिक पर्यटकको सङ्ख्या दिनानुदिन बढ्दै गएको उनले भने।

मन्दिर अवस्थित रहेको लहान नगरपालिका– १५ का अध्यक्ष तेजनारायण चौधरीका अनुसार  राजदेवी माताको मन्दिर भाकल पूरा गर्ने भगवती देवीस्थानका रूपमा परिचित छ। वैशाख पूर्णिमाको दिन बोकासहित चार प्रकारका पशुपन्छीको बलि दिइन्छ, जसमा १० हजारदेखि २० हजार बोकासम्म बलि दिने चलन छ।  उक्त मन्दिरमा बलि चढाए भाकल पूरा हुने जनविश्वास छ। स्थानीय र प्रदेश सरकारले सडक सुगम बनाउने, धर्मशाला र पार्क निर्माणसाथै मन्दिर परिसरको सौन्दर्यीकरणमा काम गरिरहेको छ।

राजदेवी मन्दिर एक बिघा पाँच कट्ठा पाँच धुर क्षेत्रफलमा जङ्गलबिच अवस्थित छ। यो मन्दिरमा मूर्ति (राजदेवीको प्रतिमा) छैन। बाराको गढीमाई मन्दिरपछि दोस्रो ठुलो सङ्ख्यामा पशुपक्षीको बली दिइने मन्दिरका रूपमा राजदेवीलाई चिनिन्छ।

वैशाख शुक्ल पूर्णिमाको दिन हजारौं पशुपक्षीको बली चढाउँदा मन्दिर परिसर र मन्दिर क्षेत्रबाहिर जताततै रक्ताम्य देखिन्छ। स्थानीयका अनुसार राजदेवी माताको शक्तिले चारैतिर रहेको रगतमा न त झिँगा बसेको देखिन्छ, न त दुर्गन्धित नै हुन्छ।

वैशाख शुक्ल पूर्णिमाको दिन नै बलि किन?

करिब एक सय २५ वर्षअघिको कुरा हो। मन्दिर रहेको ठाउँमा जागल र चरण क्षेत्र थियो। यहाँ स्थानीयवासी गाई चराउन जान्थे। मन्दिरका पुजारी शालिग्राम भट्टले चराउन लगेका गाई अचानक हराउन थालेपछि गाउँलेले स्थानीय धामी दिलाराम भट्टलाई समस्या सुनाएका थिए। दिलारामले त्यस ठाउँमा पुगेर तन्त्र साधना गरेपछि राति सपनामा उनलाई देवीले दर्शन दिएको र देवीले उनलाई शुक्ल पूर्णिमाको दिन बलि चढाए समस्या टर्ने बताएअनुसार बलि प्रथा सुरु भएको किंवदन्ती छ।

एक दशक अघिसम्म यो मन्दिर र राजदेवी माताको शक्तिबारे प्रचारप्रसार भएको थिएन। अहिले मन्दिरले चर्चा पाएपछि भाकल गर्ने, बलि चढाउने र शुक्ल पूर्णिमाको दिन लाग्ने मेलामा पूजापाठ गर्न आउनेको सङ्ख्यामा बर्सेनि वृद्धि हुँदै गएको पुजारी भट्टले भने।

उनले मन्दिर परिसरमा कालो बिरालो, नथिया लगाएको नाग सर्प देखिने गरेको बताए। ‘पछिल्लो समय राजदेवी मन्दिरमा शनिबार विभिन्न जिल्ला र सीमावर्ती भारतबाट सयौं श्रद्धालु पूजाका लागि आउन थालेका छन्,’ लहानकी सुनिता यादवले भनिन्, ‘यस मन्दिरमा भाकल पूरा हुने भएपछि श्रद्धाले व्यापकता पाउन थालेको छ।’

थारु समुदायको बाहुल्य रहेको ढोडना गाउँबिचमा यो मन्दिर अवस्थित छ। पूर्णिमाका दिन लाग्ने मेला भर्न बर्सैपिच्छे श्रद्धालुको सङ्ख्या बढ्दै गएको वडाध्यक्ष चौधरीले बताए। लहान नगरपालिकाका मेयर महेशप्रसाद चौधरीले यस मन्दिरमा श्रद्धालुको रात्रिवासका लागि पाहुना–घरलगायतका पूर्वाधार निर्माण गरी धार्मिक पर्यटकका लागि मनमोहक र आकर्षक केन्द्र बनाउने योजना छ। सडक कालोपत्र भएपछि आउजाउ सहज बनेको छ। ‘वर्षमा एक दिन लाग्ने श्रद्धालुको भिड अहिले प्रत्येक शनिबार उर्लिन्छ,’ उनले भने।

स्थानीय बुढापाकाका अनुसार मन्दिर अढाई शताब्दीदेखि अस्तित्वमा रहे पनि विशेष पूजाअर्चना र पशुपक्षीको बलि भने २०५० सालपछि मात्र सुरु भएको हो।

प्रकाशित: २८ असार २०८२ १०:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App