अपराध

लागूऔषध सहित विभिन्न स्थानबाट २७ जना पक्राउ

अवैध लागूऔषध सहित प्रहरीले विभिन्न स्थानबाट २७ जनालाई नियन्त्रणमा लिएको छ।

सिराहा, गोलबजार नगरपालिका-७ चहोर्वाबाट अवैध लागूऔषध गाँजा करिब ५ किलो ७ सय १५ ग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१० बस्ने ३६ वर्षीय रोकेन्द्र बहादुर सुनुवार र भारत पटना धनरूवा ग्राम पंचायत बस्ने ३० वर्षीय रोहित कुमार रहेका छन्।

इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले धर्मपुरबाट चहोर्वातर्फ आउँदै गरेको नम्बर प्लेट नभएको अटोमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो।

थप अनुसन्धानको क्रमममा गोलबजार नगरपालिका-१० बस्ने ६० वर्षीय छक बहादुर सुनुवारको घरमा गाँजा लुकाई छिपाई राखेको भन्ने खुल्न आएपश्चात प्रहरीले उनको घर तलासी गर्दा २२ किलोग्राम गाँजा फेला पारी उनलाई समेत पक्राउ गरेको छ।

रूकुम पश्चिम, त्रिबेणी गाउँपालिका-२ सिम्रुत बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ३० मिलिग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-२ बस्ने २९ वर्षीय कमल पुन र २० वर्षीय राजन पुन रहेका छन्। जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमबाट खटिएको प्रहरीले बिमैचाबाट सिम्रुत बजारतर्फ आउँदै गरेको भे.१२ प ५०३१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

सुनसरी, बराहक्षेत्र नगरपालिका-१ बगुवा बस्ने ४५ वर्षीय योगेश न्यौपानेलाई नियन्त्रित लागूऔषध स्पास्मो २ सय ९० ट्याब्लेट सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो।

यसैगरी, सुनसरी, धरान उपमहानगरपालिका-८ गणेश लक्ष्मीमार्गबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम २ सय १० मिलिग्राम सहित सोही उपमहानगरपालिका-७ बस्ने ३३ वर्षीय बिक्रम उदासलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

यसैगरी सुनसरी, कोशी गाउँपालिका-१ लौकहीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्रम ६० मिलिग्राम र नियन्त्रित लागूऔषध नाइट्राजेपाम १२ ट्याबलेट सहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा  सप्तरी कञ्चनरूप नगरपालिका-९ बस्ने २१ वर्षीय शिवनारायण महत्तो र २४ वर्षीय प्रदिप यादव रहेका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-२ पिपल चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय मिलिग्राम सहित ५ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा इटहरी उपमहानगरपालिका-२ बस्ने २८ वर्षीय सरोज तामाङ, ३४ वर्षीय मोहन परियार, सोही उपमहानगरपालिका-५ बस्ने ३४ वर्षीय सुमन पासवान, सोही उपमहानगरपालिका-१ बस्ने २९ वर्षीय दिपेश राना मगर र २२ वर्षीय सक्षम केसी रहेका छन्। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

मोरङ, धनपालथान गाउँपालिका-४ कर्सियाबाट अवैध लागऔषध गाँजा करिब ८ सय ग्राम सहित सोही ठाउँ बस्ने ४० वर्षीय गोपाल सहनीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी कर्सियाबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो।

यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१५ स्थित एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ७ सय ७० मिलिग्राम सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा कटहरी गाउँपालिका-३ बस्ने ३१ वर्षीय कमल कुमार राम, पथरी शनिश्चरे नगरपालिका-८ बस्ने २५ वर्षीय शंकर माझी र सुनसरी दुहबी नगरपालिका-८ बस्ने २५ वर्षीय संदिप कार्की रहेका छन्।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

झापा, शिवसताक्षी नगरपालिका-३ भोटे पुल बस्ने २७ वर्षीय बीरगंज आङदम्बेलाई नियन्त्रित लागूऔषध स्पारेष्ट ९६ ट्याब्लेट र ट्रामाडोल ९५ ट्याब्लेट सहित सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी धरमपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

यसैगरी झापा, बिर्तामोड नगरपालिका-३ सैनिकमोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय मिलिगग्राम सहित सोही नगरपालिका-४ डेरा गरी बस्ने सोही नगरपालिका-३ घर भएका ३९ वर्षीय गणेश प्रसाद ओलीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले प्र.१-०१-००३ ह ०४०८ नम्बरको सिटि सफारीलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी चालक गणेशलाई पक्राउ गरेको हो।  

यसैगरी झापा, भद्रपुर नगरपालिका-४ डाँगीबारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ९० मिलिग्राम सहित दमक नगरपालिका-३ बस्ने २७ वर्षीय बिकास भुजेल समेत २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ।

वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे. ४ प ५७०१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

नवलपरासी पूर्व, हुप्सेकोट गाउँपालिका-३ गिरूबारीबाट नियन्त्रित लागूऔषध नोर्फिन १० एम्पुल, डाईजेपाम १० एम्पुल, फेनारगन १० एम्पुल र नगद २३ हजार ९ सय ७८ रूपैयाँ सहित मध्यबिन्दु नगरपालिका-९ बसन्तपुर बस्ने २५ वर्षीय आशिस मल्ल ठकुरीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ।

उक्त स्थानमा खटिएको प्रहरीले कावासोताबाट बसन्तपुरतर्फ जाँदै गरेको लु.३८ प ५६०४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।

सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम ८ सय ८० मिलिग्राम सहित झापा कनकाई नगरपालिका-९ बस्ने ३७ वर्षीय फुर्साङग पाख्रिन तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय भिमान समेतबाट खटिएको प्रहरीले झापाबाट काठमाडौंतर्फ जाँदै गरेको बा.४ ख ६६७२ नम्बरको हायसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

कञ्चनपुर, कृष्णपुर नगरपालिका-५ गुलरियाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ५ सय २० मिलिग्राम, १ लाख ४३ हजार नेपाली रूपैयाँ, ९ हजार भारतीय रूपैयाँ र डिजिटल तराजु १ थान सहित कृष्णपुर नगरपालिका-५ बस्ने २३ वर्षीय राजेश राना समेत ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय गुलरिया र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नगद तथा लागूऔषध सहित पक्राउ गरेको हो।

प्रकाशित: २ असार २०८३ १४:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App