खेल

विश्वकप खेल्न सन्दीप वेस्ट इन्डिजमा

आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत दक्षिण अफ्रिका र बंगलादेशविरूद्धको खेलका लागि नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछाने वेस्ट इन्डिज पुगेका छन्।

सन्दीपले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै आफू वेस्ट इन्डिज पुगेको जनाउदैँ अन्तिम दुई खेलका लागि राष्ट्रिय टोलीमा आवद्ध भएको तथा आफ्नो सपना र सबै क्रिकेट प्रेमीहरूको सपना पूरा गर्न तत्पर रहेको जनाएका छन्।

उनले फेसबुकमा लेखेका छन्,‘सर्वप्रथम म नेपाल सरकार, परराष्ट्र मन्त्रालय, खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, र नेपाल क्रिकेट संघ ९क्यान० लाई धन्यवाद दिन चाहन्छु’ उनले भनेका छन्,‘ सबै कुरालाई पन्छाएर, म अब वेस्ट इन्डिजमा अन्तिम दुई खेलका लागि राष्ट्रिय टोलीमा आबद्ध छु र मेरो सपना र सबै क्रिकेट प्रेमीहरूको सपना पूरा गर्न तत्पर छु।’  

यस्तै, उनले आफ्नो भिसा र क्यानका पदाधिकारीको नाम जोडेर भएका झूटा प्रचारको पछि नलाग्न आग्रह गरेका छन्। उनले भनेका छन्, ‘कृपया मेरो भिसा सम्बन्धी सबै झूटा प्रचारको पछि नलाग्नुहोस् जुन मानिसहरूले क्यान र नेपाल क्रिकेटको छविलाई कलंकित गर्न प्रयोग गरिरहेका छन्। हाम्रा सबै क्रिकेट फ्यानहरू र  जसले मेरो लागि प्रार्थना गरे, म सधैं तपाईंको आशीर्वादको लागि आभारी रहनेछु।’

लामिछानेले आइसीसी र सबै सम्बन्धित आधिकारिक नेटवर्कहरूसँगको समन्वयले टी–२० विश्वकपमा भाग लिन सम्भव बनाएको जनाउँदै क्यानका पदाधिकारीलाई समेत धन्यवाद समेत दिएका छन्।  

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार सन्दीप वेस्ट इन्डिज पुगेर नेपाली टोलीमा समावेश हुनेछन्।

प्रकाशित: २८ जेष्ठ २०८१ ०८:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App