खेल

वेस्ट इन्डिजविरुद्ध पीएनजीः प्रभाव पार्न सक्ने दुई खेलाडी

आईसीसी विश्वकप टी २० क्रिकेट प्रतियोगितामा आइतबार राति सहआयोजक वेस्ट इन्डिज र पपुवा न्युगिनी (पीएनजी)बीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार राति ८ः१५ बजे गुयनामा सुरु हुनेछ ।

घरेलु टोली वेस्ट इन्डिज पीएनजीविरुद्ध जित निकाल्दै प्रतियोगितामा विजयी सुरुवात गर्ने योजनामा हुनेछ । पीएनजी पनि टेष्ट राष्ट्रलाई हराउँदै विश्वकपमा अप्रत्यासित नतिजा निकाल्ने लक्ष्यमा मैदान उत्रनेछ ।  

वेस्ट इन्डिजले सन् २००७ को पहिलो संस्करणदेखि नै निरन्तर सहभागिता जनाउँदै आएको छ भने पीएनजीले दोस्रो पटक विश्वकप खेल्न लागेका हो । उसले यसअघि सन् २०२१ मा पहिलो पटक विश्वकप खेलेको थियो ।  

आईसीसीको टी–२० अन्तर्राष्ट्रिय वरीयतामा वेस्ट इन्डिज चौथो र पीएनजी २०औँ स्थानमा छ । 

 

निकोलस पुरन, वेस्ट इन्डिज

वेस्ट इन्डिजका निकोलस पुरनले सन् २०१६ मा पाकिस्तानविरुद्ध खेल्दै टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला राखेका हुन् । 

दुबईमा भएको उक्त खेलमा उनले मात्र ५ रन बनाए पनि सो पछि उनले क्यारेबियन टोलीका लागि टी २० मा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा आफूलाई राखेका छन् । टी २० आईको ८८ वटा खेलमा उनले ८० मा ब्याटिङ गरेका छन् । ती खेलमा उनले १ हजार ८४८ रन बनाएका छन् । 

१३४.६९ को स्ट्राइक रेट रहेका उनले ११ वटा अर्धशतक बनाएका छन् । उनी बलिङ भने गर्दैनन् । विकेटकिपरसमेत रहेका मध्यक्रममा ब्याटिङ गर्ने २९ वर्षे निकोलस अप्ठेरो अवस्थामा पनि टिकेर खेल्न सक्ने र वेस्ट इन्डिजलाई उच्च योगफलसम्म पुर्याउन सक्ने क्षमता राख्छन् ।  

 

टोनी उरा, पीएनजी  

पपुवा न्युगिनी (पीएनजी) का टोनी उराले टी २० अन्तर्राष्ट्रियको ५६ खेलमा १ हजार ६ सय १८ रन बनाएका छन् । 

१५६.०२ को स्ट्राइक रेट रहेका उनले एक शतक र १४ अर्धशतक बनाएका छन् । सन् २०१४ मा हङकङविरुद्ध खेल्दै अन्तर्राष्ट्रिय टी २०मा पाइला राखेका उनले पछिल्लो खेल २०२३ मा क्यानडासँग खेलेका थिए । 

ओपनिङ ब्याटिङ गर्ने उनी टिकेर खेल्ने क्षमता राख्छन् । हार्ड हिटरको उपमा पाएका ३५ वर्षे उरा विपक्षीका लागि टाउको दुखाइ बन्न सक्नेछन् । 

प्रकाशित: २० जेष्ठ २०८१ १४:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App