अर्थ

आयल निगम थानकोट डिपोको स्तरोन्नती

नेपाल आयल निगमले थानकोट डिपोको स्तरोन्नती गरेको छ। राजधानी लगायत आसपासका जिल्लामा पेट्रोलियम पदार्थ बिक्री वितरण गर्ने निगमको बागमती प्रादेशिक कार्यालय माताहतको डिपोमा भौतिक पूर्वाधार, प्राविधिकसँगै व्यवस्थापकीय सुधार गरेको हो।

निगमले करिब ६ करोड रुपैयाँ खर्चेर पुराना संरचना परिवर्तन र नयाँ संरचना निर्माण गरेको छ। डिपो परिसरमा डिजेल, पेट्रोल लोड गर्ने आधुनिक प्वाइन्टको क्षमता विस्तार गरिएको छ। अग्नि नियन्त्रण उपकरणको निर्माण तथा आधनुनिकीकरण, डिपोमा जिर्ण भएका संरचनाको निर्माण, डिपो सुरक्षाका लागि पर्खाल, ट्याङ्क तथा ट्रक पार्किङ स्थल, डिपो पुग्ने सडक लगायतका संरचना निर्माण गरिएको छ।  

री–इन्जिनीयरिङ परियोजनाको पहिलो चरणको काम सम्पन्न गरेपछि शनिबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराजले उद्घाटन गरे। मन्त्री भट्टले निगमले सकरात्मक कामको थालनी गरेको बताए। पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउन ध्यान दिनुपर्ने उनको जोड थियो।

निगमले डिपोमा आधुनिक फ्लो मिटर जडान गरेको छ। तेल भर्न घण्टौं लाइन बस्नुपर्ने ट्याङ्करका लागि सहज भएको निगमको बागमती प्रादेशिक कार्यालयका प्रमुख प्रदिप यादवले बताए। ‘डिपोको स्तरोन्नती गरेका छौं,’ प्रमुख यादवले भने, ‘सेवा छिटो छरितो दिन सजिलो भएको छ।’  

निगमको सुरक्षाका लागि फायर फाइटिङ लगायतका अत्याधुनिक उपकरण जडान गरेको उनले बताए। अव्यवस्थित पार्किङलाई व्यवस्थित गर्नका लागि साढे १९ रोपनी क्षेत्रफलमा दुई सय ट्रक तथा ट्याङ्कर पार्किङ गर्न सकिने व्यवस्थित पार्किङ स्थल निर्माण गरिएको छ। डिपोको सुरक्षाका लागि वरिपरी पर्खाल र तारबार लगाइएको छ। डिपोदेखि प्रमुख सडकसम्म आउने बाटो किालोपत्रे गरिएको छ।  

डिपोका संरचना पुराना भएकाले व्यवस्थित बनाउने प्रयास भैरहेको निगमका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलले बताए। ‘अधिकांश डिपोमा पुराना संरचना छन्,’ पौडेलले भने, ‘क्षमता विस्तारसँगै सुधारको अभियान अघि बढाएका छौं।’

उपभोक्ताको हितलाई ध्यानमा राखेर सेवा दिनुपर्ने निगम सञ्चालक समितिका अध्यक्ष एवं वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईले बताए। निगमले समय सापेक्ष रुपमा सुधार गर्दै लैजानुपर्ने पर्ने पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएशन नेपालका अध्यक्ष लिलेन्द्र प्रधानले बताए।

पेट्रोलियम पदार्थको आयात, भण्डारण तथा बिक्री वितरण गर्न थानकोट डिपो २०५८ सालमा स्थापना गरिएको हो। यहाँबाट काठमाडौं, भक्तपुर, ललितपुर लगायत आसपासका १० जिल्लाका एक सय ८० भन्दा बढी पेट्रोल पम्पमा इन्धन बिक्री, वितरण गर्दै आएको छ। यो डिपो एक सय रोपनी क्षेत्रफलमा फैलिएको छ। डिपोमा आठ हजार चार सय किलोलिटर डिजेल, ६ हजार ७० किलोलिटर पेट्रोल, सात सय ६० किलोलिटर मट्टितेल भण्डारण क्षमता छ। थानकोटबाट दैनिक करिब सात सय किलोलिटर पेट्रोल, नौ सय किलोलिटर डिजेल र आठ किलोलिटर मट्टिटेल बिक्री हुँदै आएको छ।

प्रकाशित: २३ फाल्गुन २०७७ ०२:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App