अर्थ

नाम उपभोक्ता समितिको, काम ठेकेदारको

असार १० गते जिल्लाको महागढीमाई नगरपालिकाको सिमरा–मलाही सडक खण्डमा ग्राभेल गर्ने कामका लागि स्थानीय पारस प्रसादको अध्यक्षतामा उपभोक्ता समिति गठन गरियो। उपभोक्ता समिति मार्फत काम सञ्चालन गर्ने भन्दै समिति गठन गरेको थियो। तर उक्त काम समितिका पदाधिकारीले ठेकेदारलाई बिक्री गरे।  

समितिले ठेकेदारलाई काम बिक्री गरेपछि नगरपालिकाले उक्त काम रोक्न खोज्यो। उपभोक्ता समितिले ठेकेदारलाई काम बिक्री गरेपछि त्यसलाई नगरपालिकाले रोक्न खोज्दा उपभोक्ता समितिका पदाधिकारी र ठेकेदार कम्पनीका व्यक्तिले नगरप्रहरीलाई कुटपिट गरेका थिए।  

सहरी विकास मन्त्रालयबाट उपलब्ध भएको ६५ लाख रूपैयाँमा सडक ग्राभेलको काम सम्पन्न गर्नका लागि उपभोक्ता समिति गठन गरिएपनि समितिले नै ठेकेदारलाई काम बिक्री गरेपछि विवाद हुँदा नगरप्रहरीलाई कुटपिट गरेको नगरप्रमुख उपेन्द्र  यादवले बताए।  

कलैया उपमहानगरपालिका–२ का वडाध्यक्ष राजेश मण्डलको उपस्थितिमा लगडा–अवधापुर, आठ सय मीटर र  लगडापुल देखि पकरीसम्म पाँच सय मिटर सडकमा ग्राभेल गर्न उपभोक्त समिति बनाइयो। बारा क्षेत्र नम्बर ३ (क) बाट निर्वाचित जवाला साहको संसद् विकास कोषको २५ लाख रूपैयाँमा उक्त सडकमा ग्राभेलको कामका लागि स्थानीय अनिल प्रसादको अध्यक्षतामा अर्को उपभोक्त समिति गठन गरिएको थियो। समितिले सुरु नै नगरेर सम्पूर्ण कामको जिम्मा ठेकेदार कम्पनीलाई दिएको छ।  

यि त केही उदाहरण मात्रै हुन जिल्लाका विभिन्न ठाउँमा गठन भएका उपभोक्ता समितिले नै काम सञ्चालन नगरेर निर्माण कम्पनीलाई बिक्री गर्ने गरेका छन्। संघ, प्रदेश र स्थानीय सरकारबाट उपभोक्त समितिबाट मार्फत सञ्चालन गरिएका काममा सिमित व्यक्तिको हावी हुने गर्दा आफूहरू बेरोजगार भएको स्थानीयको भनाइ छ। जनप्रतिनिधिकै संरक्षणमा उपभोक्ता समितिका पदाधिकारीले काम बिक्री गर्ने गरेको एक स्थानीयले आरोप लगाए।  

उपभोक्ता समितिबाट भएका सबै काममा कुनै पनि मेसिनरी सामग्री प्रयोग गर्न पाइँदैन। ठेकेदारले उपभोक्ता समितिलाई केही आर्थिक उपलब्ध गराएर काम लिने गरेको प्रष्ट भएको छ। काम सञ्चालनका लागि समिति गठन भएका तर ठेकेदारलाई बिक्री गरिएको कुनै पनि काम सञ्चालन हुन नदिने महागढीमाई नगरपालिकाका प्रमुख यादवले बताए।

उपभोक्त समितिका अध्यक्ष गाउँमा नभएको र स्थानीय तहसँग कुनै समन्वय नगररे काम ठेकेदारलाई बिक्री गरेको जानकारी आएपछि सबै काम रोकिएको सघन सहरी तथा भवन निर्माण आयोजना पर्साका प्रमुख रञ्जनकुमार दासले बताए। 

प्रकाशित: १७ असार २०७७ ०२:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App