कला/संस्कृति

कहिले छोरी कहिले बुहारी अनि आमा बनेर पनि, संसारमा अनेकौं भूमिका बनाएर जेलिन्छे नारी!

गजल

१) गजल

 नियमहरू फरकफरक जहाँ पनि खेलिन्छे नारी,

नजन्मदै र जन्मपछि समाजबाट पेलिन्छे नारी।

कहिले छोरी कहिले बुहारी अनि आमा बनेर पनि,

संसारमा अनेकौं भूमिका बनाएर जेलिन्छे नारी।

हामीहरू यहाँसम्म आइपुग्न हेर हात छ उसैको,

सधैं पर्दापछि बसेर खुशी बनेर छेलिन्छे नारी।

आफ्नो इच्छाले पनि हिंड्न पाउदिनँ रमाउँदै

यत्रतत्र भिडहरूमा दुर्जनहरूबाट ठेलिन्छे नारी

छैन फुर्सद कुनै पल घोटिन्छे मशिनभन्दा बढी,

टन्टलापुर घाम या वर्षातको भेलमा हेलिन्छे नारी।

२) गजल

बटुवाहरू फरकफरक चौतारी उही हो,

शिकारहरू फरकफरक शिकारी उही हो।

कसैले मलाई राम्रो मान्ला कसैले नमान्ला,

बुझाइ हो फरकफरक चिनारी उही हो।

पुग्छन् कोही गन्तव्यमा कोही पुग्दैनन्,

यात्रुहरू हो फरकफरक सवारी उही हो।

कोही कोपिलामा झर्छन् कोही फक्रन्छन्,

औषधि हो फरकफरक बिमारी उही हो।

अलापविलाप गर्छन् पीडा देखाउनलाई,

मगाइ हो फरकफरक भिखारी उही हो।

३) गजल

तिमीसँगै बिताएको पलको याद आउँछ,

एउटै सप्को हालेको सलको याद आउँछ।

सँगै जान्थ्यौं रनवन गाईवस्तु चराउन,

रुख चढी खाएको फलको याद आउँछ।

घण्टौसम्म एक अर्कालाई हेरिरहन्थ्यौं हामी,

आँखामा लगाएको गाजलको याद आउँछ।

कहिले घाम कहिले झरी यात्रा निरन्तर,

शीतल बर्साउने त्यो बादलको याद आउँछ।

कति मधुर तिम्रो बोली स्वर पनि उस्तै थियो,

स्वरलाई धुन भर्ने मादलको याद आउँछ।

४) गजल

जिउँदै छ कि! हेर्दैन चिता बनाउन हतारो छ उसलाई,

अरू त्यस्तै हो आफ्नै मन मनाउन हतारो छ उसलाई।

आकाशमा बिजुली चम्केजस्तै मिलिक्क हुने बानी,

आयो र गयो उपस्थिति जनाउन हतारो छ उसलाई।

भानुभक्तका सङ्घर्षका कथा देख्दैन उसले कतै,

आफ्नैछेउ घाँसी कुवा खनाउन हतारो छ उसलाई।

आफ्नै आङमा भैंसी देख्दैन अरूका जुम्रा खोज्ने,

छारो उडाउँदै शरीरको कनाउन हतारो छ उसलाई। 

प्रकाशित: २४ फाल्गुन २०८१ १२:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App