कला

‘साहित्यसुधा नेपाल’को वार्षिकोत्सवमा स्रष्टा पोखरेल र पौडेल सम्मानित

‘साहित्यसुधा नेपाल’ ले छैटौं वार्षिकोत्सवकाे अवसरमा कवि दिव्यलक्ष्मी पोखरेललाई ‘हरिभक्त साहित्यसुधा सम्मान-२०८१’ र पोषराज पौडेललाई ‘केवलपुरे किसान साहित्यसुधा सम्मान तथा पुरस्कार-२०८१’अर्पण गरेकाे छ।

‘साहित्यको संवर्द्धन: हाम्रो अभियान’ भन्ने लक्ष्यकाे साथ स्थापना भएकाे साहित्यसुधा नेपालले तीन वर्षदेखि लगातार रूपमा संस्थाको वार्षिकोत्सवमा स्रष्टाहरूलाई सम्मान गर्दै आएको छ।

सम्मानित स्रष्टा पोखरेलले कुनै पनि औपचारिक शिक्षाविना आफ्नो स्वाध्ययनबाट छन्दमा उत्कृष्ट कविता सिर्जना गरेर कृति प्रकाशन गरेका छन्। त्यस्तै अर्काे सम्मानित पौडेलका भने दर्जनौं कृति छन्।

कार्यक्रममा वरिष्ठ साहित्यकार प्राडा देवी नेपालले सम्मानित दुवै स्रष्टाको परिचय प्रस्तुत गरेका थिए। वरिष्ठ साहित्यकार प्राडा रामप्रसाद ज्ञवालीले शुभकामना मन्तव्य र संस्थाले गरिरहेका कार्यबाट संस्था सम्मानित भएको व्यक्त गरेका थिए।

मनिषा प्रसाईंको परिकल्पनामा स्थापना भएको साहित्यसुधा नेपाल संस्थाकी अध्यक्ष कल्पना काफ्लेकाे अध्यक्षता र डा. नवराज लम्सालकाे प्रमुख अतिथि भएकाे कार्यक्रममा विशेष अतिथि प्राडा रामप्रसाद ज्ञवाली, प्राडा देवी नेपाल, नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने, अध्यात्म चिन्तक वरिष्ठ साहित्यकार हरिभक्त सिग्देल, प्राडा गोविन्दमानसिंह कार्की, वरिष्ठ साहित्यकार डा. गीता त्रिपाठी, सामालोचक डा. अशोक थापा, लिलाध्वज साहित्य प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापा, वरिष्ठ पत्रकार लक्ष्मण वियोगी, जरा फाउन्डेसनका अध्यक्ष कृष्ण प्रसाईं, वरिष्ठ साहित्यकार राधेश्याम लेकाली, महाकाव्यकार चन्द्रप्रसाद न्यौपाने, महाकाव्यकार सीता भट्टराई, साहित्यकार ज्योति जङ्गल,चाँगुनारायण साहित्य समाजका अध्यक्ष लालबहादुर भुजेल,वरिष्ठ गजलकार सुरेश सुवेदी, कुशल कार्यक्रम संचालक सरोज घिमिरे, भरत पौडेल, मदन नेपाल, निलान्जला भारध्वज लगायतकाे सहभागिता रहेकाे थियाे।

नेपाल प्रज्ञाप्रतिष्ठान कमलादी काठमाडौँमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि डा. नवराज लम्सालले साहित्यले समाजलाई र देशलाई केही दिनसक्ने साहित्यको सिर्जना गर्न  साधनामा निरन्तर लाग्नुपर्ने बताए। जस्तो बोलिन्छ त्यस्तै जीवन बाँच्न सकियो भने सार्थक हुने बताउँदै सम्मानित व्यक्तित्वहरूलाई बधाई ज्ञापन गरे।

संस्थाका सचिव कृष्णदेव रिमालले सञ्चालन गरेको उक्त कार्यक्रममा संस्थाकी कार्यसमिति सदस्य पवित्रा दाहालले स्वागत मन्तव्य राखेकी थिइन्। संस्थाकी अध्यक्ष कल्पना काफ्लेले पुरस्कार र संस्थाबारे बोल्दै सबैलाई धन्यवाद दिएकी थिइन्।

प्रकाशित: ११ फाल्गुन २०८१ १०:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App