समाज

रोजगारीको आशामा कोठीको यात्रा

दाङकी एक युवती (पीडित ‘क’) एसइई दिएर बसेको केही महिना मात्र भएको थियो। वैदेशिक रोजगारीका निम्ति उनकी आमा कुवेत पुगेकी थिइन्। घरव्यवहार उनकै टाउकोमाथि थियो।

घरधन्दा सकेपछि अरू युवतीहरूजस्तै सामाजिक सञ्जालमा रमाउँथिन्। गत वर्ष असारमा उनलाई क्याल्भिन जेम्स नाम गरेको टिकटक आइडीबाट सिधै फोन नम्बरसहितको म्यासेज आयो।

त्यसरी टिकटकमा एक्कासी मोबाइल नम्बर पठाउने को होला? भन्दै उनी आश्चर्यमा परिन्। उनको मनमा उब्जिएको स्वाभाविक उत्सुकताले उनलाई जवाफ दिन बाध्य पार्‍यो।

‘यो कसको नम्बर हो ? मलाई किन पठाउनुभएको,’ तिनले सन्देश पठाइन्। ‘म काठमाडौंबाट बोल्दैछु,’ सन्देश पठाउने व्यक्तिले भन्यो, ‘यहाँ मेरो पार्लरमा काम गर्ने एकजना केटी चाहिएको छ। मासिक आम्दानी १० हजार रूपैयाँ हुन्छ। काम गर्दै जाँदा तलब पनि बढ्दै जान्छ।’

आफूलाई पार्लरसम्बन्धी कुनै जानकारी नभएको उनले बताइन्। आमाले कमाएको आम्दानीले घरखर्च टार्न गाह्रो भइरहेकाले उनी देशभित्रै काम पाए हुन्थ्यो भन्ने सोचिरहेकी थिइन्। केही दिनको संवादपछि क्याल्भिन जेम्सले पीडित ‘क’ सँग फेसबुक र मोबाइल नम्बर माग्छ। ‘मलाई कहींकतै काम मिलाइदिन्छन् कि भनेर सोझो हिसाबले फेसबुक र मोबाइल नम्बर दिएँ,’ उनी भन्छिन्, ‘उहाँले म्यासेन्जरमा भिडियो कल गर्नुहुन्थ्यो। तर, मैले कल रिसिभ गर्थिनथेँ। म्यासेज चाहिँ बिस्तारै कहिलेकाहीं भइरहन्थ्यो।’

क्याल्भिनले काठमाडौंमा राम्रो काम मिलाइदिने आश्वासन दिँदै आउन भनिरहेको हुन्थ्यो। ‘त्यसरी घरमा बसेर कहाँ प्रगति हुन्छ,’ उसले आफूलाई पठाएको सन्देश सम्झिँदै उनी भन्छिन्, ‘छोरी मान्छे घरभित्रै बसिरह्यो भने कहिल्यै उन्नति हुँदैन। पछि बिहे नै गर्‍यौ भने पनि तिमी आफ्नो खुट्टामा नउभिँदा सबैले हेप्छन्। खर्च छैन भने काठमाडौं आउने पैसा बरु म यहाँबाट पठाइदिन्छु।’

कहिल्यै काठमाडौंमा पाइला नटेकेकी उनलाई कलंकीसम्म लिन आउने यावत् आश्वासन टिकटकबाट चिनजान भएका ती पुरुषले दिए। ‘तिमीलाई पार्लरको काम आउँदैन भने मेरो घरमा समेत काम गर्ने मान्छे चाहिएको छ। तिमी मेरी बहिनीजस्तै हौ। डराउनु पर्दैन,’ क्याल्भिनले पीडित ‘क’ लाई भनेको थियो।

आफूले काम गरे बिदेसिएकी आमालाई घर धान्न सहयोग हुने सोचले काठमाडौंमा गएर काम गर्दै पढ्ने विचार गरिन्। बाबुआमाका दुई सन्तानमध्येकी जेठी उनले त्यो विचार उनले आफ्नी आमालाई सुनाइन्। ‘ममी काठमाडौंबाट ब्युटीपार्लरको राम्रो काम आएको छ। घरको अवस्था पनि हजुर एक्लैले कसरी र कहिलेसम्म धान्ने? घर बनाएको ऋण पनि त्यत्रो छ। अब छोरी सानी छैन। ममी, म पनि काम गर्छु,’ कुवेतमा भएकी आमालाई पीडित ‘क’ ले भनिन्। छोरीको यस्तो बुझाइ सुनेर वर्ष दिनअघि कुवेत पुगेकी आमाछोरीलाई भन्छिन्, ‘अहिले तिम्रो उमेर पनि सानै छ। पढाइ सकेर जाऊ। घरको अवस्थामा धेरै चिन्तित हुनुपर्दैन। म छु त।’

घरको अवस्थाले उनलाई गत वर्षको असोजमा काठमाडौं डोर्‍यायो। ‘काठमाडौं आउने पैसा उहाँले दुई हजार हालिदिनु भयो,’ उनले भनिन् , ‘उहाँ मलाई कलंकीमा लिन आउनुभयो। त्यहाँबाट साथीको होटलमा पुर्‍याएर खाजा खुवाएर टोखा गणेशस्थाननजिक भाडामा लिएको फ्लाटमा लिएर जानुभयो। जहाँ उहाँकी आमा र महिना दिनकी सुत्केरी पत्नी थिए।’

कलंकीबाट बाइकमा हालेर आफूलाई घर पुर्‍याएपछि टिकटक प्रयोगकर्ता क्याल्भिनले पत्नीलाई भनेको पीडित ‘क’ सम्झछिन्, ‘सुत्केरी मान्छे, तिमीलाई धेरै गाह्रो भएको छ। आमा पनि बुढी हुनुभयो। तिमीलाई केही साथसहयोग गर्न सक्नुहुन्न। घरमा काम गर्ने मान्छे ल्याएको छु। पछि यिनीलाई हाम्रो अफिसमा पनि काम लगाउन हुन्छ।’ त्यसपछि ती युवती कार्यालयमा काम गर्न पाउँछु भन्ने ठानेर नयाँ ठाउँमा काम गर्न थालिन्।

उनले काम थालेको एक साताभन्दा बढी भएको थियो। सोहीक्रममा भान्सामा काम गर्ने क्रममा क्याल्भिनले शारीरिक सम्बन्धको प्रस्ताव राख्दै संवेदनशील अंगमा छुन्छ। केटाले फकाएको क्षण सम्झिँदै उनी भन्छिन्, ‘तिमीलाई राम्रो काममा लगाइदिन्छु, डराउन पर्दैन, अब ढुक्कसँग बस्नुपर्छ। कमाइ राम्रो नै हुन्छ। केही समस्या पर्‍यो भने मलाई बताउनू। पैसाको कुनै चिन्ता गर्नु पर्दैन।’

मौका पाउनासाथ जहाँसुकै संवेदनशील अंगमा हात हाल्न थालेपछि उनी पछि हटिन्। एकान्तमा भेट्नेबित्तिकै क्याल्भिनले ती युवतीलाई सताएको र भान्साकोठामा जबरजस्ती शारीरिक सम्पर्क राखेको तितो अनुभव उनले मानव बेचबिखन अनुसन्धान ब्युरोसँग बताएकी थिइन्।

‘उहाँको जबरजस्तीमा मैले केही गर्न सकिनँ। पैसा कमाउने सोचले काठमाडौं आएको यहाँ त काम गर्दा यस्तो गर्नुपर्ने रै’छ जस्तो लाग्यो,’ पीडित ‘क’ ले भनिन्, ‘जबरजस्ती यौनक्रियापछि काम गर्न मात्रै नभएर उठ्नबस्न केही गर्न सकिनँ। भोलि बिहान औषधी ल्याएर मलाई खान दिनुभयो। मैले खान नमान्दा गाली गरी खुवाउनुभयो।’

त्यसपछि पनि त्यहाँ काम गरि नै रहेँ। कतै जाने ठाउँ थिएन। यस्तो भयो भनेर कसैलाई भन्न पनि नसकिएको अवस्था उनको रह्यो।

यौन शोषणपछि पनि क्याल्भिनकी आमा र सुत्केरी श्रीमतीलाई स्याहारसुसार गरेसँगै कपडा धुने र सरसफाइ गर्ने काम उनले छोडिनन्। गत वर्ष टोखास्थित कुमारी बैंक नजिक क्याल्भिनले सञ्चालन गरेको सनफ्लावर स्पामा आफूलाई काम दिलाउने भन्दै लिएर गएको पीडित ‘क’ ले बताइन्। उहाँको तीन तले घरको तेस्रो तलामा स्पा थियो,’ पीडित युवतीले ब्युरोसँग भनिन्, ‘त्यहाँ चारवटा कोठा थिए। एउटा कोठामा काउन्टर, भान्सा र अन्य तीन वटा कोठामा बेड राखिएको थियो। स्पामा २/३ जना युवतीहरू समेत काम गरिरहेका थिए।’

त्यहाँ कार्यरत रसिला तामाङ दिदीले स्पासम्बन्धी कामहरू सिकाउनुभएको ती युवती बताउँछिन्। दुईचारदिन स्पा सम्बन्धी काम सिकेर त्यहाँ आएका ग्राहकलाई मसाज गर्ने गरेको उनको अनुभव छ। उक्त स्पामा फुट, बडी, हार्ड मसाजहरू लगायतका विभिन्न किसिमका मसाजहरू पीडित ‘क’ ले गर्नुपर्थ्याे।

स्पामा काम गरेको केही सुरुवातपछि सँगै कार्यरत दिदीहरूले भनेको उनले सम्झिन्, ‘अब यहाँ आउने ग्राहकले भनेबमोजिम यौन सम्पर्क राख्नुपर्छ। यौन सम्पर्क राखेमा राम्रो कमाइ हुन्छ, तिम्रो तलब मासिक ३०/४० हजारभन्दा बढी हुन्छ। यहाँ बस्ने सबै केटीहरूले त्यहीं काम गर्छन्। अब तिमीले पनि स्पामा आउने व्यक्तिहरूसँग मसाजसँगै शारीरिक सम्पर्क राख्नुपर्छ।’

एकजना ग्राहकसँग शारीरिक सम्पर्क राखेको एक हजार रूपैयाँ आएसँगै ती युवतीलाई पाँच सय रूपैयाँ दिने भनेर प्रलोभनमा पारिन्थ्यो। यस्तो घिनलाग्दो काम गर्दिन भनेर उनले सिधै अस्वीकार गर्दा जहाँ राम्रो काम पाइन्छ, त्यहीं गए हुन्छ भनेर वचन लगाएका थिए।

त्यसपछि उनी बाध्य हुन्छिन् स्पामा आएका ग्राहकलाई आफ्नो कलिलो जोवन बेच्न। ‘स्पामा मसाजका लागि आउने व्यक्तिहरू प्रायः शारीरिक सम्पर्क राख्नकै लागि आउँथे। त्यहाँ आउने ३-४ जना व्यक्तिहरूसँग दैनिक शारीरिक सम्पर्क राख्नुपर्थ्याे।

त्यति मात्रै नभएर विभिन्न होटल तथा गेस्ट हाउसमा पनि जानुपर्थ्याे। रातको ४ देखि ५ हजार रूपैयाँसम्म स्पामा पैसा आउँथ्यो। तर, मलाई पाँच सय रूपैयाँ दिने गर्थे।’ दिनभरि स्पामा आएका ग्राहकसँग शारीरिक सम्पर्क राखे पनि बास भने पीडित ‘क’ क्याल्भिनको फ्ल्याटमै गएर बस्ने गरेको उनले बताइन्।

उक्त स्पामा काम गर्ने क्रममा ठमेलस्थित ए–वान स्पाकी सञ्चालिका मखमली माया स्याङ्तानसँग पीडित ‘क’ को भेट हुन्छ। मखमली मायालाई पीडित युवतीले सबै बेलिविस्तार लगाउँछिन्, ‘यहाँ कस्तो नराम्रो काम हुन्छ दिदी। घरपरिवारको चिन्ताले आर्थिक पाटो सबल हुन्छ भन्ने विश्वासले काठमाडौं काम गर्न आएको म थाकें दिदी। यहाँ दैनिक नयाँ परपुरुषसँग आफ्नो शरीर बेच्नुपर्छ।’ उनको भावविह्वल अवस्था देखेर मखमली मायाले आफ्नो स्पामा केही अनैतिक कार्य नहुने भन्दै काम गर्न लिएर गएको पीडित ‘क’ सुनाउँछिन्।

नयाँ स्पामा काम गर्न थाले पनि पहिलेको स्पाजस्तै त्यहाँ पनि पीडा दिन थालेको उनी सुनाउँछिन्। उनका लागि जुन जोगी आए पनि कानै चिरेकोझैं भयो। शारीरिक सम्पर्क राख्न नमान्दा मखमली मायाले गाली गर्दै कुटेको पीडित युवती ‘क’ बताउँछिन्।

‘काठमाडौंमा कसरी बाँच्ने, धेरै गाह्रो छ,’ उनले भनिन्, ‘महँगी त्यस्तै छ। रुम भाडा पनि तिर्नैै पर्‍यो। तिमीहरूलाई तलब दिनैपर्‍यो। यो नर्मल काम हो। सबैले गर्दै आएका छन्। त्यस्तो आत्तिनु पर्दैन।’

महिनावारीका बेला पनि गालीगलौज गर्दै शारीरिक सम्पर्क राख्न लगाएको पीडित ‘क’ को आरोप छ। यी दुःखदायी दिन उनका लागि सधैं उस्तै रहेनन्। गत जेठमा ६ गते साँझ मानव बेचबिखन अनुसन्धान ब्युरोबाट खटिएका प्रहरी टोलीले छापा मार्दा आफ्नो उद्धार भएको पीडित ‘क’ बताउँछिन्।

बेथानी भिजन नेपालको सुरक्षित आवासमा बसी परामर्श गर्ने क्रममा टिकटकर प्रयोगकर्ता क्याल्भिन जेम्स भन्ने रेशम गुरुङ, मखमली माया स्याङ्तानले विभिन्न प्रलोभनमा पारी अनजान व्यक्तिहरूसँग शारीरिक सम्पर्क राख्न लगाएको सबै कहालीलाग्दो व्यथा ब्युरोलाई खोलेसँगै उनले उजुरी पनि दिएकी छिन्।

ए–वान स्पाकी सञ्चालक मखमली मायाले जबरजस्ती वेश्यावृत्तिमा लगाएको भन्दै सिन्धुपाल्चोककी अर्की पीडित ‘ख’ ले पनि गत जेठमा ब्युरोमा उजुरी दिएकी थिइन्। गाउँमा घाँसपात गरेरै रमाइरहेकी पीडित ‘ख’लाई काठमाडौंमा राम्रो कामसँगै तलबको प्रलोभन मखमली मायाले देखाइन्।

कामको आश्वासनमा परेर गाउँबाट काठमाडौं आएकी ती युवतीलाई ड्राई मसाज, नर्मल ओइल मसाज, जडीबुटी ओएल मसाज, थाई मसाज, फुल बडी मसाज, फुट मसाजको तालिम केही समय दिइयो। मखमली मायाको बोली उद्धृत गर्दै ब्युरोसँग पीडित ‘ख’ ले भनिन्, ‘केही समय काम सिक अनि पछि तलबमा राखिदिन्छु। एकजनालाई प्रतिघण्टा मसाज गरेको चार सय दिन्छु। यदि राम्रो काम गर्दै गएमा पछि पैसा समेत बढाइदिन्छु।’

केही समय आएका ग्राहकलाई राम्रैसँग मसाज गरियो तर पछि त शारीरिक सम्पर्क गर्नुपर्ने सञ्चालकको आदेश आएको पीडित ‘ख’ सुनाउँछिन्।

धेरै गाह्रो हुँदैन। आम्दानी पनि राम्रो हुन्छ। एक जनासँग सम्पर्क राखेमा दुईतीन हजार रूपैयाँ हुन्छ। एक वर्षमा काठमाडौंमा जग्गासमेत किन्न सकिन्छ भनेर यावत् प्रलोभन देखाउन थालेको पीडित ‘ख’ बताउँछिन्। गाउँदेखि सहरमा कमाउन भनेर सपना देखेर आएकी युवतीले यस्तो काम गर्दिनँ भन्दा स्पा सञ्चालकले आधारातमै निस्किन दबाब दिइन्।

मसाजको मात्र काम गर्छु भन्दा पीडित ‘ख’ लाई मखमली मायाले गाली गर्दै भनिन्, ‘मेरो स्पामा मसाजको मात्र काम गर्‍यो भने कोठा भाडासमेत तिर्न पुग्दैन। मैले भनेझैं काम जसरी पनि गर्नुपर्छ। तिमीहरू र म दुवैलाई फाइदा। भनेको मानेनौ भने तिमीहरूले मसाज गर्दै गरेको फोटा र भिडियो फेसबुकमार्फत तिमीहरूको आफन्तलाई पठाइदिन्छु।’ यसरी डर, धाक र धम्की देखाई कुटपिट समेत गरी जबरजस्ती वेश्यावृत्तिमा लगाएको ती पीडित ‘ख’ ले बताइन्।

महिनावारीको अवस्थामा पनि स्पा सञ्चालक मखमली मायाले काम गर्न लगाएको पीडित ‘ख’ सम्झन्छिन्, ‘केही गाह्रो हुन्न। तिमीहरूले आफ्नो संवेदनशील अंग पखाली तल कपडा राखेर भए पनि काम गर्नु, आएको ग्राहकहरूलाई फिर्ता पठाउन मिल्दैन।’

यस्तो गाह्रो अवस्थामा काम गरेको पैसा माग्दासमेत मैले हिसाब राखेको छु, पछि दिन्छु भनी टार्ने गरेको पीडित युवतीहरू बताउँछन्।

गत जेठ ६ गते ए–वान स्पाबाट पीडित ‘क’ सँगै पीडित ‘ख’ को पनि ब्युरोले उद्धार गरेको थियो। ब्युरोले अनुगमन गर्ने क्रममा सोधपुछ गर्दा सञ्चालकले जबरजस्ती वेश्यावृत्तिको काममा लगाउने गरेको कुरा पीडित ‘क’ र ‘ख’ दुवैले आफ्नो वास्तविकता खोले। यसरी उनीहरू बाध्यकारी कामबाट मुक्त भएका हुन्।

ब्युरोका प्रहरी एसपी गौतम मिश्रका अनुसार जबरजस्ती वेश्यावृत्तिमा लगाउनु मानव बेचबिखन तथा ओसारपसारको अपराध भएको थाहा भएपछि उनीहरूको उद्धारसँगै जाहेरी दरखास्त लिइएको हो। एउटा सामाजिक सञ्जालले कसैको जिन्दगीमा बहार छाउँछ भने कसैको जिन्दगीलाई अन्धकारमय बनाउँछ। यसलाई बुझेर चलाउन नसक्दा गलत काममा प्रयोग हुन सक्ने खतरा रहेको छ।

प्रकाशित: १२ श्रावण २०८१ ०७:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App