खेल

महिला बास्केटबल बुधबारदेखि

आगामी बुधबारदेखि काठमाडौंमा खुला राष्ट्रिय महिला बास्केटबल च्याम्पियनसिप हुने भएको छ।

नेपाल बास्केटबल संघको प्राविधिक सहयोगमा खुला राष्ट्रिय महिला बास्केटबल हुने भएको हो। एन्जल हार्ट नेसनल स्कुलको आयोजनामा सिनियर र जुनियर यु–१६ तर्फ समान चार टोलीको सहभागिता रहनेछ। उक्त प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ। सिनियरतर्फ जेभियर इन्टरनेसनल कलेज, साइपाल एकेडेमी, ट्रेनिङ ग्राउन्ड र ग्रान्ड स्टार्स तथा जुनियरमा बौद्ध मेरिडियन स्कुल, रिब्स, भ्याली पब्लिक स्कुल र स्वर्णिम कलेजले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्।

एन्जल्स हार्ट नेसनल स्कुलका प्रिन्सिपल टकबहादुर थापाले यसपल्ट प्रतियोगिता खेल्न प्रवेश शुल्क नराखिएको बताए। नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङले युवा खेलाडीलाई सिक्ने अवसर प्रदान गर्ने उद्देश्यका साथ पहिलोपटक महिला सिनियर र जुनियरको टिमको प्रतियोगिता गराउन लागेको बताए।

उक्त प्रतियोगिता कात्तिक २४ गतेसम्म हुनेछ। सिनियरमा हरेक टोलीले एकअर्कासँग दुई खेल खेल्नेछन्। जुनियरतर्फ हरेक टोलीबीच एक खेल हुनेछ। सिनियरतर्फ विजेताले ४० हजार रुपैयाँका साथै ट्रफी प्राप्त गर्नेछन्। उपविजेताले २० र तेस्रो हुने टोलीले १० हजार रुपैयाँ पाउनेछन्।

जुनियरमा भने पदक र प्रमाणपत्र मात्र प्रदान गरिने आयोजकले जनाएको छ। ‘हामीले पहिलोपल्ट सिनियर र जुनियर टिमको एकैपटक एउटै कोर्टमा प्रतियोगिता गराउँदै छौं। यो एउटा नयाँ प्रयोग पनि हो,’ अध्यक्ष गुरुङले भने, ‘जुनियर खेलाडीलै पछि गएर राष्ट्रिय टिममा खेल्छन्। युवा खेलाडीको मनोबल बढाउँदै खेलकुदमा कसरी आकर्षण गर्न सकिन्छ भनेर जुनियर र सिनियरको खेल एकैसाथ गर्न लागिएको हो। यसबाट जुनियर खेलाडीले सिनियरबाट अनुशासन लगायत कुराहरू सिक्ने अवसर पाउँछन्।’  

प्रकाशित: १९ कार्तिक २०८२ ०७:४६ बुधबार