खेल

उरनबायरको उत्कृष्ट प्रदर्शन: अन्नपूर्ण स्पाइकरको पहिलो जित

तीन मंग‍ोलियन खेलाडीको साथ पाएको अन्नपूर्ण स्पाइकर किङ्सले नेपाल भलिबल लिग (एनभिएल) को पहिलो सिजनमा पहिलो जित निकालेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आइतबार भएको खेलमा अन्नपूर्ण किङ्सले काठमाडौं रेड्समाथि ३–० को सोझो सेटमा जित निकाल्दै पहिलो सफलता पायो। दोस्रो खेलमा अन्नपूर्ण स्पाइकरको पहिलो जित हो।

अन्नपूर्णमा तीन मंगोलियन खेलाडीका साथै घरेलु प्रतियोगिताका स्टार हिमाल सुनारी छन् तर आउटसाइट हिटर उरनबायर मन्खबायर, अपोजिट हिटर इन्ख इर्डेने र सेटर तुर्मानदेख गानखुयागले दोस्रो खेलमा प्रभाव जमाए।

 यसअघि पहिलो खेलमा अन्नपूर्ण स्पाइकरले हार बेहोरेको थियो भने काठमाडौँ रेड्सले जित निकालेको थियो। काठमाडौं रेड्सले मधेस वारियर्सलाई ३–२ को सेटमा हराउँदा अन्नपूर्ण स्पाइकरले कर्णाली शिवराजसँग हार बेहोरेको हो।

दोस्रो खेलमा भने मंगोलियन खेलाडी उरनबायरको उत्कृष्ट प्रदर्शनमा अन्नपूर्ण स्पाइकरले काठमाडौँमाथि सहज जित रचेको हो। उनी खेलका म्यान अफ दी म्याच पनि भए। काठमाडौंले तेस्रो सेटमा बाहेक चुनौती दिन सकेन। यो सेटमा पाँच अंकको अग्रता जोगाउन नसक्दा सोझो सेटमा हार बेहोर्‍यो। अन्नपूर्ण स्पाइकरले खेल २५–२३, २८–२६ र २५–२३ ले आफ्नो बनाएको हो।

पहिलो सेट २५–२३ ले अन्नपूर्ण स्पाइकर किङ्सले आफ्नो बनायो। यो सेटमा काठमाडौं रेड्सले लगातार अंक बटुल्दा अन्नपूर्ण दबाबमा पर्‍याे। अन्नपूर्ण सेटमा २४–२३ को अग्रताको स्थिति थियो तर सुरेन्द्र केसीले बलियो स्पाइक गर्दै म्याच पोइन्टसम्म पुर्‍याए। यसलाई सदुपयोग गर्दै अन्नपूर्ण स्पाइकरले खेल पनि जित्यो। दोस्र‍ो सेटमा २८–२६ ले आफ्नो बनाउँदै सेटमा २–० ले अग्रता लियो।

अन्नपूर्ण स्पाइकर १२–७ ले अगाडि थियो। यद्यपि, काठमाडौंले दबाब बनायो र खेलमा फर्कने प्रयास गर्‍यो। काठमाडौंले सेटमा १३–१२ ले अग्रता छोट्यायो। फेरि अन्नपूर्ण स्पाइकरले लय समात्यो। यो सेटमा १९–१७ ले अग्रता बनायो। काठमाडौंले २०–२० को स्थितिमा अन्नपूर्णलाई भेट्टायो। लगातार अंक बटुल्दै काठमाडौं रेड्सले अग्रता लियो।

२३–२२ ले काठमाडौं अघि बढ्दै दबाब बढायो तर अन्नपूर्णका स्पाइकरका आउटसाइट हिटर उरनबायरले अंक जोड्दै २३–२३ को बराबरीमा ल्याए। लगत्तै उनको सर्भिस बाहिरिएपछि काठमाडौं रेड्स म्याच पोइन्टमा पुग्यो तर काठमाडौंले त्यसलाई सदुपयोग गर्न सकेन। अन्नपूर्ण खेलमा फर्कियो र २२–२४ को स्थितिमा ल्यायो। म्याच पोइन्टका लागि दुवैले संघर्ष गरे पनि अन्ततः अन्नपूर्णले २८–२६ ले बाजी मार्‍यो।

तेस्रो सेटमा भने अन्नपूर्ण स्पाइकरले सुरुदेखि लय गुमायो। काठमाडौं रेड्सले सुरुबाट अग्रता लिँदै १०–५ ले अघि रह्यो। तर काठमाडौंले यसलाई जोगाउन सकेन र अन्नपूर्णले १२–१२ को स्थितिमा भेट्टायो। यहींबाट अन्नपूर्णले अग्रता पनि लियो। उसले १४–१२ को अग्रता बनायो तर काठमाडौं रेड्सले १७–१७ को स्थितिमा भेट्टायो र अग्रता लिने प्रयास पनि गर्‍यो। काठमाडौं २०–१८ ले अघि बढ्यो। तर २२–२२ को स्थितिमा रोमाञ्चक बनेको सेटमा काठमाडौंका सुनील बोहोराले लगातार दुईपल्ट बाहिर हाने। यही गल्ती नै काठमाडौंका लागि खेलमा फर्किने बाटो रोकियो। अन्ततः अन्नपूर्ण स्पाइकरले २५–२३ ले सेट आफ्नो बनायो।

आइतबारकै दोस्रो खेल कर्णाली शिवराजले खप्तड फाल्कन्सलाई ३–० को सोझो सेटमा हराउँदै लगातार दोस्रो जित निकाल्यो। कर्णालीले तीनै सेटमा खप्तडलाई २५–१९ को अन्तरमा हराएको हो। खप्तडको भने लगातार दोस्रो हार हो। केडिया ग्रुपद्वारा आयोजित एनभिएलको पहिलो सिजनमा कुल ६ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्।

लिगको विजेताले २० लाख प्राप्त गर्नेछ। सिंगल राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिताको लिग चरणमा शीर्ष स्थानमा रहने टोली सीधै फाइनलमा पुग्नेछ। दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनलका लागि प्लेअफ खेल्नेछन्। फाइनल र प्लेअफसहित प्रतियोगितामा कुल १७ खेल हुनेछन्। फाइनल भदौ २७ गते हुने तय छ।

प्रकाशित: २२ भाद्र २०८३ ०८:१९ सोमबार