नेपालका सद्भाव आचार्य १२औं नेपाल अन्तर्राष्ट्रिय एमेच्योर गल्फ च्याम्पियनसिपमा उपाधि रक्षा गर्न सफल भएका छन् ।
गोकर्ण गल्फ कोर्समा शुक्रबार सम्पन्न च्याम्पियनसिपमा सद्भावले भारतका भिभान उभायकारलाई चार स्ट्रोकले हराउँदै उपाधि रक्षा गरेका हुन् । सद्भाव नै सम्मिलित टोलीले टिमतर्फ पनि स्वर्ण जितेका थिए । सद्भाव गत संस्करणको पनि दुई स्वर्णका विजेता हुन् । यसपल्ट पनि सद्भावले समग्रमा सर्वाधिक ९ अन्डर २ सय ७ को प्रदर्शन गरे । उनले इभनपार ७२ को स्कोरसहित अन्तिम दिनको खेल पूरा गरे । सद्भावले तेस्रो, छैटौं र सातौं होलमा बर्डी प्रहार गरे । तर, उनले आठौं होलमा एक सट खेर फालेपछि फ्रन्ट नाइन दुई अन्डर ३४ मा सकियो । ब्याक नाइनमा भने उनले १०औं, ११औं र १७औं होलमा बोगी खेपे ।१५औं होलको बर्डीसँगै सद्भावले ब्याक नाइन दुई ओभर ३८ मा सकाए ।
भारतका भिभानले कुल पाँच अन्डर २ सय ११ स्कोर बटुले । अन्तिम दिन उनको प्रदर्शन दुई अन्डर ७० मा रह्यो । नेपालकै राहुल विश्वकर्मा समग्रमा तीन अन्डर २ सय १३ सहित तेस्रो भए । उनले शुक्रबार एक ओभर ७३ खेले । श्रीलंकाका के दानुसान, भारतका निखिल पाण्डे, निलोफर शिवमुर्ती, श्रीलंकाकै चनाका परेरा, डेचेन लेन्डुप, भुटान वाङ्छेन ढेन्डुप र तेन्जिङ छिरिङले क्रमशः चौथोदेखि दशौं स्थानमा रहे । महिलामा नेपालकी तारा कार्की चित्रकार च्याम्पियन भइन् । उनले समग्रमा २५ ओभर २ सय ४१ बटुल्दै सम्झना खत्रीलाई १४ स्ट्रोकले हराइन् ।ताराले १२ ओभर ८४ को कार्डसँगै खेल सकाइन् । सम्झनाले समग्रमा २ सय ५५ स्कोर जोडिन् ।
उनले शुक्रबार १२ ओभर ८४ को प्रदर्शन गरिन् । भारतकी नयोनिका कपुरले काउन्ट ब्याकमा २ सय ६० सहित कांस्य हात पारिन् । यु–१७ तर्फ भारतका भिभानसमग्रमा पाँच अन्डर २ सय ११ सहित च्याम्पियन भए । उनले भारतका निलोफर शिवमुर्तीलाई सात स्ट्रोकले हराए । निलोफर समग्रमा दुई ओभर २ सय १८ सहित दोस्रो भए । भारतका अर्का खेलाडी प्रिन्स बैंन्सला तेस्रो भए । साविक विजेता सदभाव र राहुल विश्वकर्माको जोडी(१३अन्डर २ सय ७५स्कोर) ले भारतको तरूण सरदेशाई एकेडेमीलाई १९ स्ट्रोकले हराउँदै उपाधिको जितेका थिए । श्रीलंका तेस्रो भयो ।
यस च्याम्पियनसिपमा नेपालले सर्वाधिक तीन स्वर्ण, एक रजत र एक कांस्यसहित कुल पाँच पदक जित्यो ।भारतले एक स्वर्ण, तीन रजत र दुई कांस्य प्राप्त ग¥यो । श्रीलंकाले भने एउटा मात्र कांस्य पदक जित्यो । भुटान र बंगलादेश पदकविहीन भए । विजेतालाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपाल गल्फ संघका अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटीका कोषाध्यक्ष टासी घले र नेपाल गल्फ संघका कोषाध्यक्ष किसन अग्रवालले पुरस्कृत गरे ।
प्रकाशित: १५ जेष्ठ २०८३ २०:५४ शुक्रबार