दुई फरम्याटका कप्तानद्वय दीपेन्द्रसिंह ऐरी र रोहितकुमार पौडेलसँगै लेग स्पिनर सन्दीप लामिछाने राष्ट्रिय खेलाडीको वर्गीकरण (सन् २०२६ को आगामी ६ महिना लागि) मा ‘ए’ प्लस क्याटगोरीमा परेका छन्।
नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार आगामी ६ महिना लागि पुरुष र महिला राष्ट्रिय क्रिकेट खेलाडीहरूको वर्गीकरण सार्वजनिक गरेको छ।
उक्त वर्गीकरणमा पुरुषतर्फ ३८ र महिलामा २५ खेलाडीलाई विभिन्न श्रेणीमा समावेश गरिएको हो। उक्त वर्गीकरणमा टी ट्वान्टी फरम्याटका कप्तान दीपेन्द्र, एकदिवसीय फरम्याटका कप्तान रोहित र नेपालका कीर्तिमानी बलर सन्दीप लामिछाने शीर्ष श्रेणी (ए प्लस) मा परेका हुन्।
‘ए प्लस’ का क्रिकेटरले मासिक एक लाख २० हजार रुपैयाँ तलब पाउने गर्छन्। ६ महिनाका लागि वर्गीकरण भएपनि प्रदर्शनका आधारमा तीन महिनापछि श्रेणीमा परिवर्तन हुने क्यानका प्रवक्ता छुम्बि लामाले जानकारी दिए।
महिलामा भने कप्तान इन्दु वर्मा, उपकप्तान पूजा महतो, सिनियर दुई क्रिकेटरद्वय रुबिना क्षेत्री र सीता रानामगर क्याटेगोरी ‘ए’ मा परेका छन्।
‘ए’ श्रेणीका महिला खेलाडीले ५५ हजार रुपैयाँ पाउँछन्। पुरुषतर्फ आसिफ शेख, करण केसी, कुशल भुर्तेल र सोमपाल कामी क्याटेगोरी ‘ए’ मा परेका छन्।
क्याटेगोरी ‘बी’ मा आरिफ शेख, भीम सार्की, गुलशन झा, ललित राजवंशी र नन्दन यादव रहेका छन् । विकेटकिपर तथा ब्याटर अनिल साह, अर्जुन कुमाल, बसिर अहमद, विनोद भण्डारी, हेमन्त धामी, ईशान पाण्डे, कुशल मल्ल, लोकेश बम, शाहब आलम, शेर मल्ल र सन्दीप जोरालाई क्याटेगोरी ‘सी’ मा राखिएको छ।
‘ए’ श्रेणीले एक लाख, ‘बी’ श्रेणीले ७५ हजार रुपैयाँ र ‘सी’ श्रेणीले ५५ हजार रुपैयाँ पाउने क्यानले जनाएको छ।
डेभलपमेन्ट सूचीमा अर्जुन घर्ती, अर्जुन साउद, आकाश चन्द, विपिन खत्री, दीपक डुम्रे, देव खनाल, नारायण जोशी, पवन सर्राफ, राशिद खान, रिजन ढकाल, सन्तोष यादव, त्रितराज दास, युवराज खत्री, सागर ढकाल र प्रतिश जिसी छन्।
डेभलपमेन्टका खेलाडीले ३५ हजार रुपैयाँ पाउनेछन्। महिलामा कविता कुँवर, सम्झना खड्का र मनीषा उपाध्याय ‘क्याटेगोरी बी’ मा अटाए।
बिन्दु रावल, कविता जोशी, रिया शर्मा र रुबि पोदार ‘क्याटेगोरी सी’ मा समावेश भएका छन् । महिलामा ‘ए’ श्रेणीले ५५ हजार रुपैयाँ, ‘बी’ श्रेणीले ४० हजार रुपैयाँ र ‘सी’ श्रेणीले ३० हजार रुपैयाँ पाउनेछन्।
डेभलपमेन्टको सूचीमा अनु कडायत, अश्मिना कर्माचार्य, ईश्वरी बिष्ट, काजल श्रेष्ठ, लक्ष्मी साउद, ममता चौधरी, रचना चौधरी, रोमा थापा, साबित्री धामी, साना प्रविन, सीमा केसी, सोनी पाख्रिन, सुमन बिष्ट र यशोदा बिष्ट छन्।
डेभलपमेन्ट सूचीका खेलाडीले २५ हजार रुपैयाँ मासिक पारिश्रमिक दिने निर्णय गरिएको क्यानले जनाएको छ। पुरुष तथा महिला राष्ट्रिय टोलीका खेलाडीले टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलबापत पनि प्रतिखेल १० हजार रुपैयाँ र एकदिवसीय अन्तर्राष्ट्रिय खेलका लागि प्रतिखेल १५ हजार रुपैयाँ म्याच फी पाउने व्यवस्था गरिएको क्यानले जानकारी दिएको छ।


प्रकाशित: ११ जेष्ठ २०८३ १८:५३ सोमबार



