खेल

छनोट भएरै ओलम्पिक खेल्ने लक्ष्य

दुई वर्षअघि टेबल टेनिसकी सिक्का सुवालले पिपल्स च्वाइस अवार्डको उपाधि जित्दा उनकी शिष्या इभाना थापामगरले सो अवार्ड जित्ने सपना देखेकी थिइन्। यही भदौ २९ गते पोखरामा हुने पल्सर स्पोर्ट्स अवार्ड २०८१ मा इभानाले सो सपना साकार पार्न सक्छिन्।

राष्ट्रिय र अन्तर्राष्ट्रिय टेबल टेनिसमा लगातार सानदार प्रदर्शन गरेपछि इभाना नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्ट्स अवार्डको पिपल्स च्वाइस विधामा यस पटक मनोनयनमा परेकी छिन्। इभाना यसको हकदार पनि हुन्। नेपालमा कम उमेरमा सफलता पाउने, सबैतिर चर्चा बटुल्ने थोरै खेलाडी मात्र भेटिन्छन्। त्यस्तो खेलाडीमा टेबल टेनिस खेलाडी इभाना अगाडि पर्छिन्। इभाना अहिले टेबल टेनिस वरीयताको दोस्रो स्थानमा छन्। १७ वर्षकी उनलाई नेपाली महिला टेबल टेनिसको भावी स्टारका रूपमा हेरिएको छ। ९ पल्ट नेपाल च्याम्पियन नविता श्रेष्ठलाई तीनपल्ट हराउँदै इभानाले उदाउँदै नम्बर एक खेलाडीका रूपमा आफूलाई उभ्याएकी छन्।

यस क्रममा उनले नवितालाई स्ट्याग टेबल टेनिस सिजन–१ मा २–०, एसियन च्याम्पियनसिपको छनोटका लागि राष्ट्रिय टिम लिगमा ३–१ र दक्षिण एसियाली रिजनल राष्ट्रिय टिम छनोटमा ३–० ले हराएकी थिइन्।

अनुभवी खेलाडीमाथि इभानाको चुनौतीले उनी धेरै सम्भावना बोकेको खेलाडी देखिन्छिन्। कम उमेरमै थुप्रै राष्ट्रिय र अन्तर्राष्ट्रिय पदक सङ्ग्रह गरिसकेकी इभाना गत वर्ष ओलम्पिकका लागि दक्षिण एसियाली टेबल टेनिसको अन्तिम छनोट प्रतियोगितामा सहभागी थिइन्। नेपालबाट सहभागी पुरुष र महिला विधामा शीर्ष २/२ खेलाडीमा इभाना पनि थिइन्। नेपालका शीर्ष २० खेलाडी सहभागी भएको छनोट प्रतियोगिताको शीर्ष दुईमा रहेर उनी ओलम्पिकको अन्तिम छनोट खेल्न योग्य भएकी थिइन्।

कम उमेरमा इभानाले ओलम्पिक छनोट मात्र खेलिनन्, बंगलादेश र श्रीलंकाका खेलाडीलाई हराउँदै सेमिफाइनलसम्म पुगिन्। ओलम्पिकमा छनोट हुन नसके पनि उनी यो असफलतालाई मिठो अनुभव ठान्दै भन्छिन्, ‘मेरो अबको सपना २०२८ को लस एन्जल्स ओलम्पिक हो। छनोट भएरै खेल्छु भन्ने आत्मविश्वास छ।’

इभाना ओलम्पिक छनोट लगत्तै दक्षिण एसियाली युथ टेबल टेनिस च्याम्पियनसिपमा खेल्न श्रीलंकाको क्यान्डी पुगेकी थिइन्। त्यहाँ पनि इभानाले वियन्का राईसँग मिलेर यु–१९ डबल्समा नेपाललाई रजत पदक दिलाइन्। गत वैशाखमा नेपालमै सम्पन्न दक्षिण एसियाली युथ टेबल टेनिसमा पनि उनले गल्र्स डबल्स र गल्र्स टिममा रजत तथा एकल र मिक्स डबल्समा कांस्यसहित चार पदक जितिन्।

गत वर्ष कजाखस्तानमा सम्पन्न २७औं एसियाली टेबल टेनिस च्याम्पियनसिपमा इभानाले एक खेलमा घरेलु खेलाडीलाई हराएर आफ्नो क्षमता देखाइन्। सोही वर्ष उनले उज्बेकिस्तानमा एसियन युथ च्याम्पियनसिप र बहराइनमा आइएसएफ स्कुल ओलम्पिकको अनुभव पनि लिइन्। इभाना स्कुल स्पोर्ट्सले कसरी खेलाडी उत्पादन गर्न सक्छ भन्ने उदाहरण समेत हुन्।

 उनी स्कुल टेबल टेनिसबाट उदाएकी खेलाडीभन्दा फरक पर्दैन। आदर्श विद्या मन्दिर (एभिएम) की सान बनिरहेकी इभानाको एभिएम स्कुल घरेलु टेबल टेनिसको शीर्ष टिम बनिसकेको छ। इभानाको घर एभिएमनजिकै छ। सात वर्षअघि घर बाहिर साइक्लिङ गर्दा प्रशिक्षक पुरुषोत्तम वज्राचार्य र सिनियर सिक्का सुवालले टेबलटेनिस खेलाएको उनलाई अझै सम्झना छ। त्यसपछि उनै वज्राचार्यको छत्रछायाँमा इभानाले फल्नेफुल्ने अवसर पाइन्।

जुनियर स्तरमा इभानाले थुप्रै उपाधि जितिन्। १३ वर्षकै उमेरमा इभाना राष्ट्रिय टेबल टेनिस टिममा पनि परिन्, जुन नेपाली टेबल टेनिसका लागि कीर्तिमान हो। त्यसपछि इभानाले पछाडि फर्केर हेरेकी छैनन्। यसबिच इभानाले कतार र दक्षिण कोरियामा गरी दुई एसियन च्याम्पियनसिपका साथै होङजाउ एसियाडमा खेलेकी छन्।

एक पटक उनी तेस्रो स्थानमा सीमित हुँदा दक्षिण कोरियामा भएको टेबल टेनिसको प्रशिक्षण कार्यक्रममा सहभागी हुनबाट वञ्चित भइन्। शीर्ष दुई खेलाडीलाई मात्र सो वैदेशिक टुरमा सहभागी गराइएको थियो। जसले इभानाको चित्त दुख्यो। उनले त्यसपछि कडा मिहिनेत गर्न थालिन्। घरनजिक एभिएम टेबल टेनिस एकेडेमी थियो। कोभिड समयमा कडा अभ्यास गरिन्। कोभिडपछि उनको प्रतिभा झन् निखारियो।

आफ्नो खेल यात्रामा गुरुहरू पुरुषोत्तम, सिक्काका साथै एभिएम स्कुल र स्विट्जरल्यान्डका प्रशिक्षक पाभेल रेहोरेकलाई उनी श्रेय दिन्छिन्। एक खेलाडी भएकै नाताले एभिएमले इभानालाई छात्रवृत्ति दियो। जसले इभानाको खेलजीवन अझ सहज बन्यो। प्रशिक्षक पुरुषोत्तम इभाना अन्तर्राष्ट्रिय मञ्चमै नेपालको नाम राख्ने खेलाडी बताउँछन्। उनी भन्छन्,‘उनी प्राविधिक र मानसिक रूपमा निकै बलियो छिन्। महत्त्वपूर्ण समयमा कसरी अंक निकाल्नुपर्छ भन्ने उनलाई थाहा छ। ब्याकह्यान्ड इभानाको सबभन्दा सशक्त पक्ष हो।’

पिपल्स च्वाइसमा पर्दा खुसी र उत्साहित इभाना केही दबाबमा पनि छिन्। उनी भन्छिन्, ‘अहिलेसम्म पिपल्स च्वाइसको इतिहासमै टेबल टेनिसका चार खेलाडी नविता श्रेष्ठ, श्यान्टु श्रेष्ठ, एलिना महर्जन र सिक्का सुवाल मनोयनमा परेका छन्। सबैले उपाधि जिते। त्यसैले यस विधामा टेबल टेनिसको यो वर्चस्वलाई कायम राख्न सक्दिनँ भनेर नर्भस अवश्य छु।’

यसपालि इभानाले पिपल्स च्वाइस अवार्डमा टेबलटेनिसको अधिपत्यलाई कायम राख्न फुटबलकी रेखा पौडेल, क्रिकेटर पूजा महतो, भलिबल खेलाडी हिमाल सुनारी र उसुका विजय सिंजालीजस्ता खेलाडीलाई पार लगाउनुपर्नेछ।

प्रकाशित: १८ भाद्र २०८२ ०६:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App