प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले कोशी प्रदेशलाई ६ विकेटले हराएको छ।
आज वीरगञ्जको नारायणी रङ्गशालामा भएको खेलमा सुरुआती ब्याटिङ गरेको कोशी प्रदेशले ४२.५ ओभरमा सबै विकेट गुमाउँदै १६२ रन जोडेको थियो। कोशी प्रदेशका सुजन थपलियाले ४८ रन र सुमन श्रेष्ठले ४३ रन जोडेका थिए। नेपाल पुलिस क्लबका दिनेश खरेलले पाँच विकेट र सागर ढकालले दुई विकेट लिएका थिए।
जवाफी ब्याटिङमा उत्रिएको नेपाल पुलिस क्लबले ३३.५ ओभरमा चार विकेटको क्षतिमा १६५ रन जोडेको थियो। नेपाल पुलिस क्लबको जितमा मोहम्मद आरिफ शेखले ८१ रन, रसिद खानको ७३ रन जोडेका थिए।
कोशी प्रदेशका विपिनकुमार महतोले दुई विकेट र दीपेश कँडेलले एक विकेट लिएका थिए। आजको खेलमा नेपाल पुलिस क्लबका दिनेश खरेल ‘म्यान अफ दी म्याद’ घोषित भएका छन्।
प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लब र सात प्रदेशका गरी १० टोलीको सहभागिता रहेको छ। प्रतियोगिताका विजेता टोलीले रु १० लाख र उपविजेताले पाँच लाख पुरस्कार प्राप्त गर्नेछन्।
प्रकाशित: १७ चैत्र २०८२ १७:२१ मंगलबार