प्रधानमन्त्री कप क्रिकेटमा मधेश प्रदेशले आफ्नो अपराजित यात्रा कायम राख्दा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई हराएको छ।
जनकपुरमा भएको खेलमा मधेशले कर्णाली प्रदेशलाई ५ विकेटले पराजित गर्यो। कर्णालीले दिएको १३० रनको सामान्य लक्ष्य मधेशले २४.५ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो। उसको जितमा निरज यादवले ३८ र अरनिको यादवले नटआउट ३२ रन बनाए।
दीपेन्द्र रावलले ३ विकेट लिएपनि हार भने टार्न सकेनन्।
यसअघि पहिला ब्याटिङ गरेको कर्णाली ३१.२ ओभरमा १२९ रनमा अलआउट भएको थियो। ओपनर रबिन्द्र शाहीले ४० रन बनाएको कर्णालीका ६ ब्याटले दोहोरो अंकको स्कोर गर्न सकेनन्।
अधेशका लागि अभिषेक बैठाले ४ विकेट लिए भने बिशाल पटेल र अरनिको थादवको नाममा समान २ विकेट रह्यो ।
सोमबार नै भएको अर्को खेलमा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई १२ रनले पराजित गर्यो। वीरगञ्जमा भएको खेलमा सुदूरले दिएको १६९ रनको मध्यम लक्ष्य पछ्याएको लुम्बिनी ४०.२ ओभरमा १५६ रनमा अलआउट भयो ।
सन्तोस यादवले ६७ रन बनाएपनि हार भने टार्न सकेनन्। ध्रुव सुनारले ३६ रन जोडे।
लुम्बिनीलाई सस्तैमा समेट्न शेर मल्ल र खडक बोहोराले समान तीन विकेट झारे ।
यसअघि पहिला ब्याटिङ गरेको सुदूर ४५.४ ओभरमा १६८ रनमा अलआउट भएको थियो। उसका लागि दीपक बोहोराले ३० र हेमन्त धामीले २९ रन बनाएका थिए भने २३ रन अतिरिक्त पाएका थिए।
लुम्बिनीका लागि अजय चौहान र सन्देश यादवले समान चार विकेट लिएपनि हार भने टार्न सकेनन्।
जितपछि मधेश ४ खेलमा ७ अंकसहित शीर्ष स्थानमा पुगेको छ। समान खेलबाट सुदूरले ६ अंक जोडेको छ। समान खेलबाट लुम्बिनी र कर्णालीको समान ३ अंक छ ।
प्रकाशित: १६ चैत्र २०८२ २०:०५ सोमबार