खेल

पिएम कप: विभागीय डर्बीमा पुलिससँग एपीएफ स्तब्ध

बागमतीले गण्डकीलाई १७० रनले हरायो

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताकाे विभागीय डर्बीमा नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बल (एपीएफ)लाई १८५ रनले पराजित गरेको छ।

पुलिसले दिएको ३५६ रनको विशाल लक्ष्य पछाएको एपीएफ ४४ ओभरमा १७० रनमा अलआउट भयो। एपीएफका लागि नन्दन यादवले नटआउट ४४ र कमल ऐरीले ३५ रन बनाउनु बाहेक अन्यको प्रदर्शन सम्झनलायक रहेन।  

पुलिसका लागि ललित राजवंशीले ३ तथा करण केसी, रसिद खान र दिनेश खरेलले समान २ विकेट लिए। सागर ढकालको नाममा एक विकेट रह्यो।  

यसअघि माथिल्लो मूलपानी क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३५५  रन बनाएको थियो। पुलिसका लागि शंकर रानाले ६१, दिनेश खरलले ६०, दिल्साद अलीले नटआउट ५१ र कप्तान आरिफ शेखले अर्धशतकीय पारी खेले। रसिद खानले ४४ रन जोडे।

एपीएफको लागि कमल ऐरी र अमर राउटेलाले समान २ विकेट लिएपनि पुलिसलाई कम योगफलमा रोक्न सकेनन्।

पुलिसको यो पहिलो जित हो । पुलिस पहिलो खेलमा त्रिभुवन आर्मीसँग हारेको थियो। एपीएफले भने पहिलो खेलमा बागमती प्रदेशलाई हराएको थियो। 

बागमतीले गण्डकीलाई १७० रनले हरायो

मंगलबार नै भएको अर्को खेलमा बागमती प्रदेशले गण्डकी प्रदेशलाई १७० रनले पराजित गर्यो । बागमतीले दिएको २९५ रनको लक्ष्य पछ्याएको गण्डकी ३१.५ ओभरमा १२४ रनमा अलआउट भयो ।  

६ जना ब्याट्सम्यानले खातै खोल्न नपाएको गण्डकीको इनिङ्समा अर्जुन कुमालले ७४ रन बनाए। सुवास भण्डारीले २९ रन बनाए। बाँकी तीन जनाले पनि दोहोरो अंकको स्कोर गर्न सकेनन्।  

गण्डकीलाई सस्तैमा समेट्न रिजन ढकालले ३, सन्दीप लामिछाने र इशान पाण्डेले समान २ तथा दयानन्द मण्डल र सुवाश कार्कीले समान एक विकेट लिए।  

यसअघि पहिला ब्याटिङ गरेको बागमतीले निर्धारित ओभरमा ८ विकेट गुमाएर २९४ रनको योगफल तयार पारेको थियो। उसका लागि इशान पाण्डेले ७१, आशुतोष घिरैयाले ५९ र शुभ क्रशाकारले ४४ रन बनाए।  

बलिङमा कमल परियारले २ विकेट लिए।  

दोस्रो खेलमा बागमतीको यो पहिलो जित हो भने गण्डकी पहिलो खेलमा नै पराजित भयो।  

प्रकाशित: १० चैत्र २०८२ १६:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App