गोलकिपर योगेश धिमालको उत्कृष्ट प्रदर्शनमा प्लानिङ ब्वाइज युनाइटेडले काँक्रे बिहारलाई हराउँदै राष्ट्रिय लिगमा तेस्रो जित निकालेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा प्लानिङ ब्वाइजले आइतबार काँक्रे बिहार क्लबमाथि ३–० को नतिजा निकाल्दै जारी राष्ट्रिय लिगमा तेस्रो जित आत्मसात् गरेको हो। प्लानिङ ब्वाइजको जितमा गोलकिपर योगेशले उत्कृष्ट प्रदर्शन गरे। प्लानिङलाई जित दिलाउन बबिन बोहरा, रोमन भुजेल र हेमन लिम्बूले गोल गरे। लिगमा प्लानिङको यो तेस्रो जित हो। यो नतिजासँगै पाँच खेलबाट १० अंक जोड्दै प्लानिङले दुई स्थान सुधार गर्यो। समान खेल खेलेको काँक्रे बिहारले सबै खेलमा नतिजा सुम्पिएको छ। प्लानिङ ब्वाइजले पहिलो हाफमा दुई गोल र दोस्रो हाफमा एक गोल गरेको हो। खेलको पाँचौं मिनेटमा नै प्लानिङ ब्वाइजले अग्रता लिएको थियो।
बबिनले गोल गरेका हुन्। १२औं मिनेटमा नै प्लानिङ ब्वाइजले अग्रता दोब्बर बनायो। रोमनले गोल गर्दै प्लानिङ ब्वाइजलाई २–० ले अगाडि बढाएका हुन्। त्यसपछि पहिलो हाफमा थप गोल हुन सकेन। दोस्रो हाफमा पनि प्लानिङ ब्वाइजले एक गोल थप्यो। काँक्रे बिहारले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गर्यो। खेलको इन्जुरी समयमा हेमनले गोल गर्दै प्लानिङ ब्वाइजलाई ३–० को जित दिलाए।
नवयुग श्रेष्ठको दुई गोल प्रेरणमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले राष्ट्रिय लिगमा तेस्रो जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा आर्मीले श्री भगवती क्लबलाई ३–१ गोलअन्तरले हराउँदै लिगमा चौथो जित निकालेको हो। आर्मीको जितमा नवयुगले दुई गोल र जिलेस्पीजंग कार्कीले एक गोल गरे। श्री भगवतीले अग्रता जोगाउन नसक्दा हार बेहोरेको हो। श्री भगवतीका लागि अजित लामाले एक गोल गरे।
खेलको १२औं मिनेटमा नै अजितले गोल गर्दै श्री भगवतीलाई अग्रता दिलाएका थिए। तर, आर्मीले पहिलो हाफमै खेलमा पुनरागमन गर्यो। आर्मीका जिलेस्पीजंगले ३४औं मिनेटमा बराबरी गोल गरे। पहिलो हाफमा खेल १–१ को बराबरीमा सकियो। दोस्रो हाफमा आर्मीले दुई गोल थप्दै उत्कृष्ट पुनरागमन गर्यो। दोस्रो हाफमा आर्मीले खेलमा पकड कायम राख्यो। ५८औं मिनेटमा नवयुगको गोलमार्फत आर्मीले अग्रता २–१ मा पुर्यायो। खेलको इन्जुरी समयमा आर्मीले तेस्रो गोल गर्यो। नवयुगले व्यक्तिगत दोस्रो गोल गरे।
त्यसपछि दुवै टोलीबाट थप गोल हुन सकेन र आर्मीले पुनरागमन जित निकाल्यो। खेलमा उत्कृष्ट प्रदर्शन गरेका आर्मीका कप्तान जिलेस्पीजंग कार्की प्लेयर अफ द म्याच घोषित भए। आर्मीले पाँच खेलबाट तेस्रो जित निकालेको हो। आर्मी ११ अंक जोड्दै चौथो स्थानमा उक्लिन सफल भयो। श्री भगवतीले भने तेस्रो हार सामना गरेको छ। पाँच खेलबाट चार अंक जोडेको श्री भगवती दसौं स्थानमा छ। श्री भगवतीले समान एक जित र एक बराबरीको नतिजा निकालेको छ।
प्रकाशित: १९ माघ २०८२ ०६:१२ सोमबार



