अन्नपूर्ण स्पाइकर किङ्ग्स एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग (एनभीएल) को फाइनलमा प्रवेश गरेको छ।
अन्नपूर्ण १२ अङ्कको स्पष्ट अग्रतासहित शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो। लिगमा शीर्ष स्थानमा रहने टोली सोझै फाइनलमा पुग्ने प्रावधान छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको खेलमा अन्नपूर्णले सगरमाथा स्म्यासर्सलाई ३–१ को सेटमा पराजित गर्यो।
पहिलो सेटमा २१–२५ अङ्कले पछि परेको अन्नपूर्णले बाँकी सेटको नतिजा लगातार आफ्नो पक्षमा पार्यो।
अन्नपूर्णले दोश्रो सेट २५–२३, तेस्रो सेट २५–१४ र चौथो सेट २५–२० अङ्कले जित्यो। अन्नपूर्णका एन्ख एर्डेन जार्गाल्ट्सगोट ‘म्यान अफ दी म्याच’ घोषित भए।
लिगमा अन्नपूर्णको यो लगातार चौथो जित हो। पहिलो खेलमा अन्नपूर्ण कर्णाली शिवराजसँग ३–१ सेटले पराजित भएको थियो।
अन्नपूर्णले दोस्रो खेलमा काठमाडौं रेड्सलाई ३–०, तेश्रोमा मधेस वारियर्सलाई ३–१ र खप्तड फाल्कन्सलाई ३–० सेटले हराएको थियो।
सगरमाथा लगातार तेस्रो हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ।
अन्नपूर्णसँग पराजित हुनुअघि सगरमाथा कर्णालीसँग ३–२ तथा काठमाडौँ रेड्ससँग ३–० सेटले पराजित भएको थियो। दुई खेल जितेको सगरमाथाले मधेसलाई ३–१ र खप्तडलाई ३–० सेटले हराएको थियो।
नेपाल भलिबल सङ्घको सहयोगमा केडिया ग्रुपद्वारा आयोजित प्रतियोगितामा छ पुरुष टोली सहभागी छन्। सहभागी टोलीले पहिला सिङ्गल राउन्ड रोविन लिगका आधारमा खेल्ने छन्।
लिगमा शीर्ष स्थानमा रहने टोली फाइनलमा प्रवेश गर्ने छन्। शीर्ष दुई र तेस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्ने छन्। विजेता टोलीले रु २० लाख नगद पुरस्कार प्राप्त गर्ने छ।
प्रकाशित: २५ भाद्र २०८३ १७:१९ बिहीबार