१५ देखि २७ सेप्टेम्बरसम्म उज्बेकिस्तानमा आयोजना हुने चेस ओलम्पियाडमा नेपालको सहभागिताको विषयमा विवाद बढेको छ ।
ओलम्पियाडमा छनोट भएका खेलाडीले विवादमा रहेका दुई सङ्घलाई बेवास्ता गर्दै आफूहरूलाई भिसा प्रक्रियामा सहयोग गर्न भिन्न निवेदन दिए पछि विवाद बढेको हो ।
गत वर्ष नै राष्ट्रिय खेलकुद परिषद्मा हेराकाजी महर्जन नेतृत्वको सङ्घले गलत गरेको भन्दै छानबिनका लागि रिपोर्ट गरेका चार मध्यका तीन खेलाडी आसन्न ओलम्पियाडमा छनोट भएका छन् ।
महर्जन नेतृत्वको बुद्धिचाल महासङ्घले आर्थिक अनियमितता गरेको तथा मनोमानी गरेको आरोपमा १० जेठमा काठमाडौंमा भएको विशेष साधारण सभाले महर्जन नेतृत्वको महासङ्घलाई बर्खास्त गर्दै दिपेन राईलाई अध्यक्षमा चयन गरेको थियो ।
सोही मितिमा हेटौडामा भएको साधारण सभामा बहुमत नपुगेपछि एक ढिलो भएको साधारण सभाले बहुमत नपुगे पनि महर्जन नेतृत्वलाई निरन्तरता दिने निर्णय गरेको थियो । तथापि राष्ट्रिय खेलकुद परिषद्ले दुवै सङ्घलाई मान्यता दिएको छैन ।
बुद्धिचाल महासङ्घमा चार खेलाडीले दिएको निवेदनमा लगाइएको आरोप बारे छानबिन कमिटी गठन भए पनि यसको रिपोर्ट सार्वजनिक भएको छैन । मनोमानीको सीमा पार गर्दै फिडेमा गलत रिपोर्ट पठाउने सम्मका काम भएको खेलाडीको आरोप छ । यस क्रममा महर्जनका अलावा सचिवालयमा रहेका धरमबहादुर लामा, बालाराम पुन र निरञ्जन प्रजापतिको भूमिका रहेको राई पक्षीयको दाबी छ ।
अहिले राई नेतृत्वमा रहेको कमिटीले १० खेलाडीलाई मात्र भिसा दिन परिषद्मा निवेदन दिएको थियो ।
महर्जन नेतृत्वको समितिले खेलाडीसहित पदाधिकारीको रूपमा धेरै जनाको सिफारिस लिन पहल गरे पछि यसलाई परिषद्ले अस्वीकार गरेको जनाइएको छ ।
सरकारको सिफारिस बिना खेलाडी बाहेक अन्य पदाधिकारी सहभागी भए यसले नेपाली चेसलाई थप अप्ठेरो बाटोमा लैजान सक्छ ।
प्रकाशित: २५ भाद्र २०८३ २२:०० बिहीबार