खेल

लोहोरुङ एफसी संखुवासभा सेमिफाइनलमा

पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप फुटबल प्रतियोगितामा लोहोरुङ एफसी सङ्खुवासभा सेमिफाइनलमा प्रवेश गरेको छ।

सोमबार इटहरी वडा नम्बर-५ स्थित जनता कलेजको खेलमैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा सङ्खुवासभाले चुत्तन स्पोर्टिङ क्लब तेह्रथुमलाई ३–२ गोल अन्तरले पराजित गर्दै अन्तिम चारको यात्रा सुरक्षित गरेको हो।

सङ्खुवासभालाई जित दिलाउन अमित गजमेर, मिलन लिम्बु र विनोद राईले एक–एक गोलको योगदान गरे। यता, पराजित टोली तेह्रथुमका लागि सन्तोष लिम्बुले दुवै गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका सङ्खुवासभाका विवेक राई ‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद ५ हजार ५ सय रुपैयाँ पुरस्कार प्राप्त गरे।

द योङ ब्रदर्श क्लब, इटहरीको आयोजनामा भइरहेको यस प्रतियोगिताको विजेता टोलीले नगद ४ लाख ४ हजार रुपैयाँ र उपविजेताले २ लाख २ हजार २ सय रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ।

प्रतियोगिताअन्तर्गत मङ्गलबार आयोजक योङ ब्रदर्श क्लब र कञ्चनजङ्घा फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित: २ चैत्र २०८२ २१:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App