खेल

स्वर्गीय कृष्णप्रसाद भट्टराई स्मृति गोल्ड कप शनिबारदेखि

पूर्व प्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईको स्मृतिमा इटहरीमा ‘तेस्रो संस्करणको अन्तर्राष्ट्रिय गोल्ड कप फुटबल’ शनिबार (फागुन ३० गते) देखि हुने भएको छ। 

आगामी चैत ७ गतेसम्म चल्ने प्रतियोगिताको उद्घाटन खेलमा केराबारी फुटबल क्लब मोरङ् र जलथल फुटबल क्लब हल्दिबारी, झापा भिड्दैछन्।  

यसअघि फागुन २ गतेदेखि हुने तय भएको फुटबल प्रतिनिधिसभा निर्वाचनका कारण सरेको आयोजक द योङ ब्रदर्श क्लबले जनाएको छ। प्रतियोगीताको विजेता टीमलाई चार लाख चार हजार रुपैयाँ नगद प्रदान गरिनेछ । यस्तै, उपविजेता टीमलाई दुई लाख दुई हजार दुई सय प्रदान गरिनेछ।  

प्रतियोगितामा केराबारी फुटबल क्लब मोरङ्, जलथल फुटबल क्लब हल्दिबारी झापा, लोहोरुङ् एफसी संखुवासभा, चुतन स्पोर्टिङ् क्लब तेह्रथुम, बसाहा क्लब उदयपुर, न्यू स्टार क्लब बराहक्षेत्र, आयोजक द योङ् ब्रदर्श क्लब र भारतको कञ्चनजङ्गा फुटबल क्लब गरि आठवटा टीम सहभागी हुनेछन्।  

इटहरी उपमहानगरपालिकाको संयोजन र कोशी प्रदेश खेलकुद विकास बोर्ड संरक्षक रहेको प्रतियोगीतामा प्रत्येक दिनको म्यान अफ दि म्याचलाई जनही सात हजार रुपैयाँ प्रदान गरिनेछ। यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई २० हजार रुपैयाँ प्रदान गरिनेछ भने उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट स्ट्राइकर र सर्वाधिक गोलकर्तालाई जनही १३/१३ हजार रुपैयाँ प्रदान गरिनेछ। खेलकुदका लागि तीस लाखभन्दा बढी खर्च हुने अनुमान गरिएको छ। 

प्रकाशित: २९ फाल्गुन २०८२ १७:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App