इन्डियन प्रिमियर लिग (आइपीएल) २०२६ अन्तर्गत मंगलबारको खेलमा चेन्नई सुपर किंग्स (सीएसके) ले कोलकाता नाइट राइडर्स (केकेआर) लाई ३२ रनले पराजित गरेको छ।
घरेलु मैदान एमए चिदम्बरम स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९२ रन बनाएको थियो।
चेन्नईले दिएको १९३ रनको लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ७ विकेट गुमाउँदै १६० रन मात्र बनाउन सक्यो। यो सीएसकेको लगातार दोस्रो जित हो भने केकेआरको लगातार पाँचौं हार हो।
चेन्नईका लागि ओपनर सन्जु सामसन ले ३२ बल खेल्दै ४ चौका र ३ छक्कासहित ४८ रन बनाए। युवा ब्याटर डेवाल्ड ब्रेभिस ले ४१ रन बनाउँदा आयुष म्हात्रे ले आक्रामक १७ बलमा ३८ रन र सरफराज खान ले २३ रन जोडे।
बलिङतर्फ कोलकाताका कार्तिक त्यागी ले २ विकेट हात पार्दा सुनिल नरेन, अनुकूल रोय र वैभव अरोरा ले समान १–१ विकेट लिए।
उता, लक्ष्य पछ्याएको कोलकाताको लागि रमनदीप सिंह ले सर्वाधिक ३५ रन बनाए भने रोभम्यान पावेल ले अविजित ३१ रन जोडे। कप्तान अजिंक्य रहाणे ले २८ र अंगकृष रघुवंशी ले २७ रन बनाए।
कोलकातालाई स्तब्ध पार्न अफगानी स्पिनर नुर अहमद ले ४ ओभरमा मात्र २१ रन खर्चेर ३ विकेट लिए। अंशुल कम्बोज ले २ विकेट तथा खलिल अहमद र अकिल होसेन ले १–१ विकेट हात पारे। नुर अहमद लाई प्लेयर अफ द म्याच घोषित गरिएको थियो।
यो जितसँगै पाँच खेलमा चार अंक जोड्दै चेन्नई सुपर किंग्स अंक तालिकामा आठौं स्थानमा छ। समान पाँच खेलमा शून्य अंक जोडेको कोलकाता नाइट राइडर्स भने तालिकाको पुछार (१०औं स्थान) मा छ।
प्रकाशित: २ वैशाख २०८३ ०७:१४ बुधबार



