आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा भारतले अमेरिकालाई जितका लागि १६२ रनको लक्ष्य प्रस्तुत गरेको छ।
मुम्बईको वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोली भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६१ रनको योगफल तयार पारेको हो।
एक समय पावर प्लेमै ४ विकेट गुमाएर ४६ रनको नाजुक अवस्थामा पुगेको भारतीय इनिङ्सलाई कप्तान सूर्यकुमार यादवले एकल प्रयासमा सम्मानजनक स्कोरसम्म पुर्याए।
घरेलु मैदानमा भारतीय ब्याटिङ लाइनअप धर्मराउँदा कप्तान सूर्यकुमार यादवले अविजित ८४ रनको शानदार पारी खेले। उनले ४९ बलको सामना गर्दै १० चौका र ४ छक्का प्रहार गरे। इनिङ्सको अन्त्यसम्म क्रिजमा डटेका यादवकै कारण भारतले १६० को आँकडा पार गर्न सफल भयो।
अन्य ब्याटरहरूमा तिलक वर्माले २५, इशान किशनले २० र अक्सर पटेलले १४ रन जोड्नु बाहेक कसैले दोहोरो अंकमा रन बनाउन सकेनन्। भारतका शिभम दुबे, अभिषेक शर्मा र वरुण चक्रवर्ती शून्यमै आउट भए भने हार्दिक पाण्ड्या ५ रन र रिंकु सिंह ६ रनमै पेभेलियन फर्किए।
अमेरिकाका बलर स्याड्ली भान स्काल्कविकले भारतको ब्याटिङ पङ्क्ति ध्वस्त पारे। उनले ४ ओभरमा २५ रन खर्चेर महत्त्वपूर्ण ४ विकेट लिए।
त्यस्तै, हरमित सिंहले २ विकेट हात पारे भने मोहम्मद मोहसिन र अली खानले १–१ विकेट लिए।
यद्यपि, अमेरिकाका बलर सौरभ नेत्रवलकर भने निकै महँगो साबित भए। उनले ४ ओभरमा कुनै विकेट नलिई ६५ रन खर्चिए।
मेरिकाले अबको केही समयमा १६२ रनको विजय लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गर्नेछ।
प्रकाशित: २४ माघ २०८२ २१:०७ शनिबार


