खेल

कटक टी–२० मा भारतले दक्षिण अफ्रिकालाई १०१ रनले हरायो

भारत र दक्षिण अफ्रिका बीच खेलेको टी–२० सिरिजको पहिलो खेलमा भारतले १०१ रनको ठूलो जित दर्ता गरेको छ। ओडिशाको कटकमा खेलेको यस टी–२० खेलमा दक्षिण अफ्रिकाले टस जितेर बलिङ रोजेको थियो। तर भारतले दिएको १७६ रनको लक्ष्य पछ्याउन मैदान उत्रिएको दक्षिण अफ्रिका मात्र ७४ रनमै अलआउट भयो।

दक्षिण अफ्रिकी टोलीको सुरुआत निकै कमजोर रह्यो। पहिलो ओभरमै आर्शदीपको बलमा डिकक् दोस्रो स्लिपमा रहेका अभिषेक शर्मालाई क्याच थमाएर फर्किए। त्यसपछि लगातार दक्षिण अफ्रिकाका विकेट झर्दै गए।

८ ओभर भित्रै दक्षिण अफ्रिकाको आधा टोली फर्किसकेको थियो। कप्तान एडेनले १४ रन मात्रै बनाएर अक्षर पटेलको बलमा बोल्ड भए। त्यसपछि ट्रिस्टन स्टब्स, डेविड मिलर, डोनोवन फेरेरा र मार्को यान्सनले पनि केही खास गर्न सकेनन्।बुमराहले ११औँ ओभरमा ब्रेभिस र केशव महाराजलाई आउट गर्दै खेलमा भारतको पकड झन् मजबुत बनाए।

भारतको पारी

पहिलो ब्याटिङ गरेको भारतले ६ विकेटको क्षतिमा १७५ रन बनाएको थियो। भारतको सुरुआत पनि खास राम्रो थिएन। पहिलो विकेट शुभमन गिलको ४ रनमा खस्यो। त्यसपछि सूर्यकुमार यादव १२ रनमा आउट भए।

अभिषेक शर्मा १७ रनमा आउट भए र चौथो विकेट तिलक वर्माको २६ रनमा खस्यो। अक्षर पटेल २३ रनमा आउट भए। शिवम दुबे ११ रनमा आउट भए।

सबैभन्दा धेरै नटआउट ५९ रन हार्दिक पाण्ड्याले बनाए। जितेश शर्माले पनि नटआउट १० रन जोडे। दक्षिण अफ्रिका र भारत पाँच टी–२० अन्तर्राष्ट्रिय खेलहरूको सिरिज खेलिरहेका छन्। एजेन्सी

प्रकाशित: २४ मंसिर २०८२ ०६:५५ बुधबार