खेल

हालान्ड र चेर्की चम्किँदा सिटीको शानदार जित, आज लिभरपुल र टोटनहमको परीक्षा

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले सानदार जितसहित नयाँ सिजनको सुरुआतलाई बलियो बनाएको छ। गएराति भएको खेलमा सिटीले क्रिस्टल प्यालेसलाई ४–१ गोलले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको हो।

सिटीको जितमा एर्लिङ हालान्ड र रियान चेर्कीले दुई-दुई गोल गरे। हालान्डले १७औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए। दोस्रो हाफमा चेर्कीले ५४औँ र ५९औँ मिनेटमा लगातार दुई गोल गरेपछि सिटी बलियो अवस्थामा पुगेको थियो। हालान्डले ८४औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल थप्दै सिटीको जित पक्का गरे।

जितसँगै सिटीले दुई खेलबाट शतप्रतिशत नतिजा निकाल्दै ६ अंक जोडेको छ। नयाँ सिजनमा सिटीको आक्रामक प्रदर्शनसँगै हालान्ड र चेर्कीको लय पनि टोलीका लागि सकारात्मक संकेत बनेको छ।

आज दोस्रो चरणका अन्तर्गत थप चार खेल हुँदैछन्। लिभरपुलले घरेलु मैदानमा नटिङ्घम फरेस्टको सामना गर्दा टोटनहमले न्युक्यासल युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ। यस्तै बर्नमाउथ र एभर्टन तथा कोभेन्ट्री सिटी र हल सिटीबीच पनि खेल हुनेछ।

लिभरपुल र नटिङ्घम फरेस्टबीचको खेल नेपाली समयअनुसार साँझ पौने ६ बजे तथा टोटनहम र न्युक्यासलबीचको खेल राति पौने ११ बजे सुरु हुनेछ।

हिजो सिटीले जितसहित दबाब बढाएको अवस्थामा आज लिभरपुल र टोटनहम पनि महत्वपूर्ण तीन अंकका लागि मैदानमा उत्रनेछन्। सुरुआती चरणमै शीर्ष टोलीहरूबीचको प्रतिस्पर्धा रोचक बन्दै गएको छ।

प्रकाशित: १३ भाद्र २०८३ ०७:०६ शनिबार