पोखरामा शुक्रबार र शनिबार गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल’ प्रतियोगिता आयोजना हुने भएको छ। कल्प मिडिया एण्ड मल्टिपर्पोज प्रालिअन्तर्गत नयाँलिपि न्यूज डटकमको आयोजनामा हुने उक्त प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको प्रालिका अध्यक्ष सुरज श्रेष्ठले जानकारी दिए।
प्रतियोगिताबाट बचत भएको रकम भोटेकोशी-त्रिशूली बाढी प्रभावितलाई सहयोग गरिने उनको भनाइ छ। पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय खेल मैदानमा सञ्चालन हुने प्रतियोगिता खेलकुद पत्रकारबीचको सम्बन्ध विस्तार र भाइचाराका दृष्टिले पनि महत्वपूर्ण रहेको उनले बताए।
सूचना विभागको परिचयपत्र भएका तथा नेपाल पत्रकार महासङ्घ वा नेपाल खेलकुद पत्रकार मञ्चमा आबद्ध जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन्।
प्रतियोगितामा सहभागी खेलाडीको खेल अवधिभर बिमासमेत गरिएको अध्यक्ष श्रेष्ठले बताए। खेल लिग प्रणालीमा सञ्चालन गरिने उनको भनाइ छ। अहिलेसम्म चार टिम दर्ता भइसेकेको आयोजकले जनाएको छ।
प्रतियोगिताको विजेता टोलीले नगद रु ५० हजार, शिल्ड, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ। दोस्रो हुने टोलीले नगद रु ३० हजार, शिल्ड, प्रमाणपत्र र मेडल प्राप्त गर्ने छन्।
व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट प्रशिक्षकलाई जनही रु पाँच हजार पुरस्कार प्रदान गरिनेछ। त्यस्तै, प्रत्येक खेलमा म्यान अफ दि म्याच पुरस्कार नगद रू एक हजार ५०० प्रदान गरिने भएको छ। रासस
प्रकाशित: १ आश्विन २०८३ ०८:५३ बिहीबार



