नर्वेको उत्कृष्ट विश्वकप यात्राको अन्त्य इङ्ल्यान्डसँग २–१ को क्वार्टरफाइनल हारसँगै भयो र पराजयपछि नतिजाभन्दा बढी चर्चा जुड बेलिङ्घमको बराबरी गोलले पायो।
नर्वेको दाबी उक्त गोलअघि बल स्टेडियममाथि झुन्ड्याइएको ‘स्पाइडरक्याम’ को तारमा लागेको थियो। त्यसैले गोल मान्य हुन नहुने तर्क उनीहरूले गरे। फिफाको नियमअनुसार खेलका क्रममा बल स्पाइडरक्यामको तार वा त्यससँग जोडिएको संरचनामा लागेको पुष्टि भए खेल रोकिएर ‘ड्रप बल’ बाट पुनः सुरु गरिन्छ। त्यसअघि भएको आक्रमणलाई मान्यता दिइँदैन। खेलपछि नर्वेका मिडफिल्डर सान्डर बेर्गेले निर्णयहरू विपक्षमा देखिए भन्दै निराशा व्यक्त गरे। ‘तारसँग जोडिएको त्यो घटना अविश्वसनीय थियो। खेल २–१ ले सकियो, यस्ता निर्णयले खेल परिणाममा असर गर्छ भन्ने देखाउँछ। आज ती निर्णयहरू हाम्रो पक्षमा परेनन्,’ उनले भने। नर्वेका कप्तान मार्टिन ओडेगार्डले पनि निर्णायक क्षणमा रेफ्रीको निर्णयप्रति असन्तुष्टि जनाए।
‘मैले त्यो घटना स्पष्ट देखिनँ। तर आज केही निर्णयहरूमा सानो अन्तर पनि हाम्रो पक्षमा परेन। यस्ता खेल जित्न कहिलेकाहीं त्यस्तो साथ पनि चाहिन्छ,’उनको भनाइ थियो।
नर्वे दोस्रो हाफको अर्को निर्णयबाट पनि असन्तुष्ट रह्यो। टोब्योर्न हेग्गेमले गरेको हेडर गोल भिडियो सहायक रेफ्री (भिएआर) को समीक्षा पछि रद्द भयो। कर्नर प्रहार हुँदा इर्लिङ हालान्डले इलियट एन्डरसनलाई धक्का दिएको ठहर गर्दै रेफ्रीले गोल अमान्य घोषित गरेका थिए। ‘हालान्ड शारीरिक रूपमा बलिया खेलाडी हुन्। तर कहिलेकाहीं विपक्षी खेलाडीले नै समातेको कारण पनि उनले सजाय भोग्नुपर्छ,’ बेर्गेले भने।
पहिलो हाफको थप समयमा बेलिङ्घमको गोलबाट नै इङ्ल्यान्ड बराबरीमा फर्किएको हो। त्यसअघि नर्वेका गोलकिपर ओर्जान निल्यान्डले गरेको गोलकिक स्पाइडरक्यामको तार नजिकबाट गएको रिप्लेमा देखिएको थियो।
त्यसपछि इलियट एन्डरसनले बल नियन्त्रणमा लिएर एन्थोनी गोर्डनलाई पास दिए। गोर्डनको पासमा बेलिङ्घमले फिनिस गर्दै इङ्ल्यान्डलाई १–१ को बराबरीमा ल्याए। गोलसँगै नर्वेका खेलाडीहरूले रेफ्री क्लेमेन्ट टुर्पिनलाई घेरेर बल तारमा लागे भन्दै गोल रद्द गर्न माग गरे। नर्वेका मुख्य प्रशिक्षक स्टाले सोलबाकेन पनि मध्यान्तरमा रेफ्रीसँग यही विषयमा छलफल गर्न पुगे। ‘रेफ्रीले आफूले त्यो घटना नदेखेको र कसैबाट पनि बल तारमा लागेको जानकारी नपाएको भने। फिफाले पनि बल तारमा नलागेको उल्लेख गर्यो। त्यसपछि उनले केही गर्न सक्ने अवस्था थिएन,’ सोलबाकेनले भने। तर उनले बल सीधै माथिबाट झरेजस्तो देखिएको भन्दै आफ्ना खेलाडीको दाबी दोहोर्याए।
‘बेन्चमा रहेका धेरैले तत्काल प्रतिक्रिया दिएका थिए। मैले स्पष्ट देखिनँ, तर धेरैले बल तारमा लागेको बताएका छन्,’ उनले भने।
खेलपछि फिफाले भने नर्वेको दाबी अस्वीकार गर्यो। खेलमा प्रयोग गरिएको ‘कनेक्टेड बल’ भित्र रहेको सेन्सरले कुनै असामान्य संकेत रेकर्ड नगरेको फिफाको भनाइ छ। त्यसैले बलले स्पाइडरक्यामको तार छोएको कुनै प्रमाण फेला नपरेको फिफाले उल्लेख गरेको छ। ‘चिपले कुनै संकेत नै दिएको छैन भने म थप केही भन्न सक्दिनँ। तर बल सीधै आकाशबाट खसेजस्तो देखियो। गोलकिपरदेखि बल नियन्त्रण गर्न लागेका खेलाडी सबैले त्यही महसुस गरेका थिए। मलाई अझै पनि बल तारमा लागेको जस्तो लाग्छ। यो निकै अनौठो घटना थियो,’ यसबारे सोलबाकेनले भने। विश्वकपमा प्रयोग गरिएको ‘स्निकोमिटर’ शैलीको यही प्रविधि यसअघि पनि विवादमा परेको थियो।
अन्तिम–३२ को खेलमा पोर्चुगलविरुद्ध क्रोएसियाले इन्जुरी समयमा गरेको बराबरी गोल यही प्रविधिको आधारमा अफसाइड ठहर गर्दै रद्द गरिएको थियो। बललाई इगोर माटानोभिचले सामान्य रूपमा छोएको सेन्सरले देखाएपछि जोस्को भार्डिओलको गोल अमान्य भएको थियो। इङ्ल्यान्डका मुख्य प्रशिक्षक थोमस टुचेलले भने बलभित्र रहेको चिप प्रविधिप्रति विश्वास व्यक्त गरे। ‘बलभित्रको चिपले सामान्य स्पर्शसमेत पत्ता लगाउन सक्छ। क्रोएसिया र पोर्चुगल खेलमै देखिसकेका छौं। त्यसैले यदि बलले तार छोएको भए त्यसको पुष्टि हुनुपर्ने थियो। मैले त्यो घटना प्रत्यक्ष देखिनँ,’ उनले भने।
यद्यपि टुचेलले आफ्नो टोली निर्णायक क्षणमा केही हदसम्म भाग्यमानी रहेको स्विकारे। ‘हामी जित्न मात्र भाग्यमानी थियौं भन्ने होइन तर खेलका निर्णायक क्षणहरूमा भाग्यले साथ दिएको सत्य हो,’ उनले भने।
प्रकाशित: २९ असार २०८३ ०८:३४ सोमबार



