खेल

चेन्नईले टस जित्यो, बेंगलुरुलाई ब्याटिङको निम्तो

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत आइतबारको दोस्रो खेलमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) र चेन्नई सुपर किंग्स (सीएसके) भिड्दै छन्।

बेंगलुरुस्थित घरेलु मैदान एम. चिन्नास्वामी स्टेडियममा हुने यस खेलमा चेन्नईका कप्तान ऋतुराज गायकवाडले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएका छन्।

साविक विजेतासमेत रहेको बेंगलुरुले यस सिजनको आफ्नो पहिलो खेलमा सनराइजर्स हैदरावादलाई पराजित गर्दै सानदार सुरुवात गरेको थियो। यता, चेन्नईको अवस्था भने यस सिजन निकै खराब देखिएको छ। टोलीले आफ्ना सुरुवाती दुवै खेल गुमाइसकेको छ।

चेन्नईका अनुभवी खेलाडी तथा पूर्वकप्तान महेन्द्र सिंह धोनी र युवा ब्याटर डेवाल्ड ब्रेभिस आजको खेलमा पनि टोलीमा समावेश छैनन्। टसको समयमा कप्तान गायकवाडले उनीहरू दुवै जना रिकभरीको चरणमा रहेको जानकारी गराएका थिए।

आजको भिडन्तका लागि दुवै टोलीले आफ्नो प्लेइङ-११ मा कुनै परिवर्तन गरेका छैनन्। अघिल्लै खेलमा उतारेका खेलाडीहरूलाई नै दुवै टोलीका कप्तानले निरन्तरता दिएका छन्।

बेंगलुरु र चेन्नईबीच हालसम्म आईपीएल इतिहासमा कुल ३६ खेल भएका छन्। जसमध्ये २२ खेलमा चेन्नईले बाजी मारेको छ भने बेंगलुरुले १३ खेलमा मात्र जित हात पारेको छ। एक खेल भने नतिजाविहीन बनेको थियो।

एम. चिन्नास्वामी स्टेडियम यी दुई टोलीबीच १२ पटक भिडन्त भएको छ। जसमा बेंगलुरुले ६ खेल जितेको छ भने चेन्नईले ५ खेलमा सफलता पाएको छ।

त्यस्तै, गत सिजनमा यी दुई टोलीबीच भएका दुवै भिडन्तमा बेंगलुरुले नै जित हासिल गरेको थियो।

दुवै टोलीको प्लेइङ-११

चेन्नई सुपर किंग्स: ऋतुराज गायकवाड (कप्तान), सञ्जु सामसन (विकेटकिपर), आयुष म्हात्रे, सरफराज खान, शिवम दुबे, प्रशान्त वीर, जेमी ओभरटन, नूर अहमद, अंशुल कम्बोज, म्याट हेनरी र खलिल अहमद।

रोयल च्यालेन्जर्स बेंगलुरु: रजत पाटीदार (कप्तान), फिल साल्ट, विराट कोहली, देवदत्त पडिक्कल, जितेश शर्मा (विकेटकिपर), टिम डेभिड, रोमारियो शेफर्ड, क्रुणाल पाण्ड्या, भुवनेश्वर कुमार, अभिनन्दन सिंह र ज्याकब डफी।

प्रकाशित: २२ चैत्र २०८२ १९:४१ आइतबार