नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा डिसिजन रिभ्यु सिस्टम (डीआरएस) प्रविधि प्रयोगमा ल्याउने तयारी गरेको छ।
क्यानका सचिव पारस खड्काले दुईवटा कम्पनीसँग डीआरएस प्रविधिको परीक्षण भइरहेको र यसको एक्युरेसीमा निश्चितता आएपछि मात्र औपचारिक निर्णय गरिने जानकारी दिए।
एनपीएलका खेलहरू स्टार स्पोर्ट्समार्फत प्रत्यक्ष प्रसारण हुने भएकाले उक्त प्रविधि स्टार स्पोर्ट्सको मापदण्ड र गुणस्तरसँग मेल खानुपर्ने खड्काको भनाइ छ।
‘हामीले प्राविधिक पाटोबाट दुईवटा कम्पनीसँग परीक्षण गरिसकेका छौं। तर, यसको शुद्धता कति छ भन्ने कुराको अन्तिम निचोड आउन बाँकी छ,’ खड्काले भने।
उनले डीआरएस प्रयोगमा ल्याउने विषयलाई लिएर अहिले नै अन्तिम निर्णय भइनसकेको स्पष्ट पारे।
‘डीआरएस आउँछ या आउँदैन भन्ने कुरा सबैको चासोको विषय हो। तर, हामीले अहिले परीक्षण गरिरहेको प्रविधि स्टार स्पोर्ट्सको लाइभ ब्रोडकास्टमा मिल्ने खालको हुनुपर्छ। यदि यो प्रविधिको नतिजा सन्तोषजनक आयो र यसको एक्युरेसीले काम गर्यो भने हामी एनपीएलमा डीआरएस ल्याउन तयार छौं,’ उनले थपे।
खड्काका अनुसार आईसीसी विश्वकपमा प्रयोग हुने जत्तिकै उच्चस्तरको डीआरएस प्रविधि प्रयोग गर्नका लागि स्रोत-साधन पर्याप्त नभए पनि, नेपालमा पहिलोपटक यो प्रविधि भित्र्याउने प्रयास भने भइरहेको छ।
‘हामीसँग विश्वकप स्तरको प्रविधि ल्याउन स्रोतसाधनको कमी छ, तर अहिले परीक्षण भइरहेको प्रविधि मात्र पनि लागू हुन सक्यो भने त्यो नेपालका लागि एउटा ठूलो उपलब्धि हुनेछ,’ उनले भने।
यदि सबै प्राविधिक कुराहरू मिलेर परीक्षण सफल भएमा नेपाली क्रिकेटमा पहिलोपटक डीआरएस प्रविधिको प्रयोग एनपीएल सिजन ३ मार्फत हुनेछ।
प्रकाशित: ३ आश्विन २०८३ १९:२५ शनिबार