खेल

विवाद, आर्थिक अपारदर्शिता र अविश्वासको घेरामा बुद्धिचाल महासंघ

नेपाल बुद्धिचाल महासंघभित्रको विवाद अहिले सतहमै पुगेको छ।

साधारणसभा नै दुई स्थानमा आयोजना हुने अवस्थासम्म पुगेपछि महासंघभित्रको आन्तरिक असन्तुष्टि र नेतृत्वप्रतिको अविश्वास खुला रूपमा देखिएको हो। 

विशेषगरी अध्यक्ष हेराकाजी महर्जनको कार्यशैली, आर्थिक अपारदर्शिता र निर्णय प्रक्रियामाथि गम्भीर प्रश्न उठिरहेका बेला उनी पुनः नेतृत्वमा आउन खोजिरहेका छन्।

महासंघका अध्यक्ष महर्जन र महासचिव धरमबहादुर लामाविरुद्ध सदस्यहरूले अविश्वास प्रस्ताव दर्ता गरिसकेका छन्।

महासंघभित्र लामो समयदेखि आर्थिक विचलन, अपारदर्शी खर्च र संस्थागत जिम्मेवारी पूरा नगरेको आरोप लाग्दै आएको छ।

महासंघका कोषाध्यक्ष ताराबहादुर रानाभाटका अनुसार महासंघको बेरुजु रकम ५४ लाख रुपैयाँभन्दा माथि पुगेको छ।

राखेपबाट विभिन्न शीर्षकमा ल्याइने बजेटको समयमै फरफारक नगर्ने, अन्तर्राष्ट्रिय सहयोगबाट प्राप्त रकम र कार्यक्रमको स्पष्ट हिसाब नदेखाउने जस्ता समस्या संस्थाभित्र बढ्दै गएको आरोप छ।

महासंघभित्रको असन्तुष्टि केवल आर्थिक पक्षमा सीमित छैन। खेलाडी छनोट, प्रतियोगितामा सहभागिता र बजेट वितरणमा समेत पक्षपात भएको आरोप लागिरहेको छ।

महासंघ मातहतका गतिविधि पारदर्शी बनाउनुपर्नेमा नेतृत्वले आफ्नै निकट क्लब र व्यक्तिलाई प्राथमिकता दिएको आरोप सदस्यहरूले लगाएका छन्।

कतिपय कार्यक्रममा कम खर्चमै सम्पन्न हुन सक्ने काममा दोब्बर बजेटको बिल पेश गरिने, अस्वाभाविक भुक्तानी हुने र खर्च विवरण पारदर्शी नहुने अवस्थाले महासंघभित्र ‘नीतिगत भ्रष्टाचार’ मौलाएको टिप्पणी चेसकर्मीहरूबाट हुन थालेको छ।

खेलाडीको पुरस्कार तथा आम्दानीबाट पाँच प्रतिशत रकम कल्याणकारी कोषमा जम्मा गर्ने व्यवस्था भए पनि त्यो रकम बैंकमा जम्मा नभएको आरोपसमेत उठेको छ। यसले नेतृत्वप्रति थप अविश्वास सिर्जना गरेको छ।

विगतमा राष्ट्रिय खेलकुद परिषद्बाट मान्यता प्राप्त प्रतिनिधिभन्दा बढी व्यक्तिलाई ओलम्पियाडमा लैजान खोजिएको विषयले पनि महासंघ विवादमा तानिएको थियो। सोही कारण भिसा प्रक्रियामा समस्या उत्पन्न हुँदा धेरै खेलाडी र चेसकर्मी निराश बनेका थिए। अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताका स्पष्ट मापदण्ड नहुँदा सचिवालयमा रहेका केही व्यक्तिको मनोमानी बढेको आरोपसमेत लाग्दै आएको छ।

नेपालमा बुद्धिचाल खेलको आफ्नै व्यवस्थित कार्यालयसमेत नहुनु महासंघको कमजोर व्यवस्थापनको अर्को उदाहरण बनेको छ।

तीन वर्षअघि निर्वाचनसहितको साधारण सभा सम्पन्न भए पनि त्यसयता नियमित साधारण सभा हुन नसक्नुले संस्थागत गतिशीलता नै कमजोर बनेको देखिन्छ।

महासंघ सुधारका लागि अब नेतृत्व परिवर्तन अपरिहार्य भएको चेसकर्मीहरूको धारणा छ। उनीहरू पारदर्शी आर्थिक प्रणाली, नियमित लेखापरीक्षण, खेलाडी छनोटमा स्पष्ट मापदण्ड, अन्तर्राष्ट्रिय सहभागितामा निष्पक्ष प्रक्रिया र संस्थागत सुशासन लागू गर्नुपर्ने माग गरिरहेका छन्।

चेसकर्मीहरूका अनुसार महासंघलाई केही व्यक्तिको प्रभावबाट मुक्त गरी संस्थागत ढंगले सञ्चालन गर्न सके मात्र नेपाली बुद्धिचाल खेलले अन्तर्राष्ट्रिय स्तरमा विश्वसनीयता र सम्मान प्राप्त गर्न सक्नेछ।

प्रकाशित: ९ जेष्ठ २०८३ १९:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App